+
+
Shares

आन्दोलन गर्ने विद्यार्थीलाई कलेज प्रशासनको धम्की !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २३ गते २०:०७

२३ माघ, पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिना बिल अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् । तर, कलेज प्रशासन भने विद्यार्थीको मागलाई बेवास्ता मात्रै गरेको छैन्, उल्टै धम्की दिने काम गरेको छ ।

सरकारले तोकेकोभन्दा २ देखि ७ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क दिएको प्रमाणसहित विद्यार्थीले एक सातादेखि कलेजमा ताला लगाएर आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरु जिल्ला प्रशासन र प्रदेश सरकारसँग गुहार मागिरहेका छन् ।

तर, कलेज प्रशासनले माग सम्बोधन गर्नुको साटो आन्दोलन छोड्न धम्की दिने गरेको छ । बुधबार प्रशासन र विद्यार्थीबीच वार्ता बसेको थियो तर आफूहरुको मागलाई बंग्याउन खोजेपछि टुंगोमा नपुगेको विद्यार्थी बताउँछन् । ‘हामीलाई वार्ता बोलाएर भुलाइयो । सम्बोधनबारे कुनै पनि कुरा गरेनन्,’ वार्तामा सरिक विद्यार्थी मनिष भट्टराईले भने ।

उनले वार्तामा परस्पर विरोधी धारणा नगराउने, दुवै पक्षले वार्ता गर्न सकारात्मक र सौहार्दपूर्ण वातावरण बनाउनेबाहेक अन्य सहमति हुन नसकेको जानकारी दिए ।

कलेज अध्यक्ष खुमा अर्यालले पनि आन्दोलनले केही लछारबाटो नलगाउने प्रतिक्रिया दिएका छन् । ‘नियमन गर्ने सरकारको निकाय छ । विद्यार्थीले आन्दोलन गरेर केही हुन्न’ उनले भने, ‘उनीहरुले बुझ्न जरुरी छ सरकारले तोकेको रकममा सुविधासहित पढाउन सकिँदैन ।’

सन् २०१६ देखि यताका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए । यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायतका सहमतिमा आन्दोलन सकिएको थियो । सहमति विपरीत अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गर्ने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनु परेको विद्यार्थी रविना शर्माले बताइन् ।

कलेजले विभिन्न बहानामा तोकिएको शुल्कभन्दा बढी शुल्क लिएर मनोवैज्ञानिक दवाव दिइरहेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । विद्यार्थी परिर्वतन भाटले भने, ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन् ।’

शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीहरुको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ । ‘सरकाले तोकेभन्दा धेरै पैसा नलिनुस् भन्ने हाम्रो माग हो,’ भाटले भने,‘गण्डकी मेडिकल कलेजमा मात्र नभई देशको अन्य कलेजमा यस्तो समस्या छ ।’

कलेजले धेरै पैसा लिएको विरोधमा गत बिहीबारदेखि विद्यार्थीले कक्षाकोठामा ताला लगाएका थिए । कलेजको प्रशासनमा समेत ताला लगाएर शुक्रबार पृथ्वीचोकमा प्रदर्शनसमेत गरेका थिए । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष अर्यालले कलेजले लिन पाउने शुल्क नै लिएको बताउँछन् । ‘हामीले सरकालाई तिनुपर्ने भन्दा धेरै पैसा लिएका छैनौं, विद्यार्थीलाई कसैले उचालेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?