
२४ माघ, काठमाडौं । भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए । यसले अमेरिका रुष्ट भएको छ ।
पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिए । तर, भोलिपल्ट प्रचण्डले त्यसमा काउन्टर दिए ।
सचिवालयले वक्तव्य दिइसकेकाले व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डले बताएका छन् ।
चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले त तपाईंको वक्तव्य चिप्लिएकै हो भन्नु भएको छ नि भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन । तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन ।’
स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको उनले स्पष्ट पारे । परराष्ट्र मन्त्रालयबाट जारी भएको वक्तव्य पनि त्यही स्परिटको भएको उनले बताए ।
आफ्नो वक्तव्यमा अडिग हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाई फसाइयो भन्यो प्रचण्डले भन्ने जस्ता कुरा आएपछि सचिवालयले वक्तव्य जारी गरेर त्यो होइन, पार्टीको तर्फबाट जे वक्तव्य आयो, सरकारको तर्फबाट जे वक्तव्य आयो, त्यही आधिकारिक हो, त्यही नै सही हो भनेर प्रष्ट पारेको छ ।’
सचिवालयले नै वक्तव्य जारी गरेपछि व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डको दाबी छ ।
नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणले नेपाल-अमेरिका सम्बन्ध नविग्रने समेत दाबी गरे । ‘सम्बन्ध बिग्रिएकै चाहिँ होइन । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र, त्यहाँका पार्टी र नेताहरुले राजनीतिक पोजिसनबारे स्वनिर्णय गर्छन् । त्यो अधिकार यूएन चार्टरले पनि दिएको छ,’ उनले भने, ‘हामीले पनि त्यही प्रयोग गरेको मात्र हो ।’
संयुक्त वक्तव्यको विरोध
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघ, युरोपेली युनियन र सात देशले जारी गरेको संयुक्त वक्तव्यको भने विरोध गरेका छन् ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशमा नभएको बेलामा यसरी वक्तव्य आउनु कूटनीतिक मर्यादाले पनि उपयुक्त नभएको दाबी गर्दै उनले भने, ‘शान्ति प्रक्रियामा केही समस्या छैन । बाँकी कामहरु अगाडि बढाउन दलहरुबीच सहमति छ । ऐन संशोधनको तयारी छ । छिमेकी, अमेरिका, युरोपसँग पनि कुरा भएको छ ।’
हेर्नुस् भिडियो
प्रतिक्रिया 4