Comments Add Comment

ब्याजदर घटाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

२४ माघ, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा ऋणको ब्याजदर बढाएकाले घटाउन माग गर्दै रुपन्देही उद्योग संघले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाउँदै गएकाले राष्ट्र बैक, संघीय र प्रदेश सरकार गम्भीर बन्नु जरुरी भएको ज्ञापनपत्रमा उल्लेख छ ।

बैंकको बढ्दो ब्याजदरले लगानी संकुचित भइ सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि र थप पाँच लाख रोजगारी वृद्धिको लक्ष्य हासिल हुन कठिन हुने सरकारलाई सचेत गराइएको छ ।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय क्षेत्रको गतिविधि उद्योग, लगानी तथा आर्थिक सम्मृद्धि मैत्री हुन नसकेको, ऋण लगानी गर्दा भएको सम्झौता विपरीत एकतर्फी रुपमा १६ प्रतिशतसम्म पुर्‍याइएको उल्लेख छ ।

बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर)को नाममा अप्रत्याशित ढंगबाट कर्जाको ब्याजदर वृद्धि गरेकाले उत्पादनमुलक उद्योगहरुको उत्पादनमा ह्रास आएको उल्लेख छ ।

बै‌कले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमुलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

तत्काल बैंकको व्याजदर नघटे उद्योगको तालाचाबी सरकारलाई बुझाएर चरणबद्ध आन्दोलनमा उत्रने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिएका संघका कार्यवाहक अध्यक्ष बाबुराम बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment