Comments Add Comment

भरतपुर विमानस्थल, तराईको लुक्ला !

बहस : विमानस्थल नै सार्ने कि घरमात्रै भत्काउने ?

२५, माघ, चितवन । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतम काठमाडौंंबाट आउँदा प्रायः ककपिटमै बसेर यात्रा गर्छन् । विमानस्थलको दक्षिणपूर्वतिरबाट अवतरण गर्दा विमानले झण्डै झण्डै नजिकका घरहरु छुन खोजेपछि हालै उनले भने, ‘घरलाई छ्यास्स छोएको भए के हुन्थ्यो ?’

विमानस्थलको कन्ट्रोलमा बसेर विमान अवतरण भएको हेर्नु उनको दैनिकीभित्रै पर्छ । त्यो हेर्दा अग्ला घर र रुखहरुबाट जोगिँदै आएको विमान रनवे भन्दा बाहिर पुग्छ कि भनेर डर लाग्ने गरेको उनी बताउँछन् । उनको यो डरले भरतपुर विमानस्थल कति जोखिममा छ भन्ने देखाउँछ ।

विमानस्थलको दक्षिणपूर्वमा घरहरु बनेका छन् भने नेपाली सेनाको घोडा फार्म रहेको पश्चिमतर्फ अग्ला रुखहरु छन् । ती अग्ला घर र रुखहरुका बीचमा विमान उडान र अवतरण गरिरहेका चालकहरुले भरतपुर विमानस्थललाई ‘तराईको लुक्ला’ भन्ने गरेका छन् ।

‘सधैं एकनासको दिन हुँदैन’, यति एयरलाइन्सका क्याप्टेन रविशंकर कंसाकारले अनलाइनखबरसँग भने, ‘दुईतिरको अवरोध हटाउन र रनवे बढाउन पटक–पटक गरेको अनुरोधको कतैबाट सुनुवाइ भएन ।’

निकुञ्ज, मेडिकल कलेज, क्यान्सर अस्पताल, कृषि तथा वनविज्ञान विश्वविद्यालय, सिटी हल, प्रदर्शनी केन्द्र आदिको कारण पनि भरतपुर विमानस्थल व्यस्त बनेको छ । त्यसमाथि थपिँदैछ अन्तरराष्ट्रिय क्रिकेट रंगशाला ।

तत्कालीन विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठ संयोजक रहेको अध्ययन समितिले ०७१ जेठमा बुझाएको प्रतिवदेनमा भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीत २५७ घर बनेको उल्लेख छ ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरीत घर बनेका भन्दै ती घरहरु तत्काल भत्काउन सुझाव दिएको थियो ।

विमानस्थलको दक्षिणपूर्वका ६ वटा घरमाथिका ट्रस र बिजुलीका तार मुख्य समस्या बनेका छन् । ०६६/०६७ सालमा विमानस्थलको दक्षिणपूर्वमा बनेका ५१३ घरमध्ये १०१ वटा विमानस्थलको ५०० मिटर नजिक रहेका प्रतिवेदनमा उल्लेख छ ।

त्यसभन्दा पहिला बनेका घरहरुलाई पनि छतमा ट्रस्ट हालेर अग्लो बनाइएका छन् । अग्ला घर र रुख मात्रै होइन, विमानस्थलको एप्रोच पथ र रनवे नजिकै तारसहितका विद्युतका पोलहरु पनि विमानका लागि धराप बनेका छन् । यी अवरोधहरु हटाउन सम्बन्धित निकाय अहिलेसम्म अनिच्छुक देखिएको विमानस्थल प्रमुख गौतम बताउँछन् ।

‘भन्न कसैलाई बाँकी छैन, तर कसैले सुनेनन्’ गौतम भन्छन्, ‘विमानस्थलको सुरक्षालाई किन महत्व नदिइएको हो, बुझेको छैन ।’

विमान कम्पनीहरुले भरतपुरमा बानी परेका अनुभवी क्याप्टेनहरुलाई मात्रै पठाएर सम्भावित दुर्घटना टारिरहेको उनको बुझाइ छ । गौतमका अनुसार, भरतपुर विमानस्थलमा विमान अवतरण गर्दा पाइलटहरुले पूरा ब्रेक लगाएर भएभरको कौशल देखाउनुपर्छ ।

यति एयरलाइन्सका क्याप्टेन कंसाकार जति नै कौशल र अनुभव देखाए पनि कुनै पनि बेला दुर्घटना हुने जोखिम उच्च रहेको बताउँछन् । उनी भन्छन्– ‘मनसुनका बेला अवतरण गर्दा विमानस्थलसँगै टाँसिएका अग्ला घरहरुमाथिबाट ‘लो एप्रोच’मा आउनुपर्छ’, कंसाकार भन्छन्, ‘सबै निकाय दुर्घटना पर्खेर बसेजस्तो देखिएका छन् ।’

कसिर ६२ बिघामा फैलिएको भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थलमा ठूला जहाज अवतरण गराउन कठिन भएकाले साना विमानहरु मात्रै चल्ने गरेका छन् । बुद्ध एअरको ४७ सिटे एटीआर विमानले बढीमा ४० यात्रु बोक्छ भने यतीको ३० सिटको जेट स्टिमले २० यात्रु ओसार्दै आएको छ ।

बुद्ध, यती र सिम्रिक एयरलाइन्सले अहिले काठमाडौँ–भरतपुर दैनिक १० उडान भरिरहेका छन् । बुद्ध एयरको थप एउटा पोखरा–भरतपुर उडान पनि छ । भरतपुर विमानस्थलबाट दैनिक ८०० यात्रु आउने–जाने गरिरहेका छन् ।

छिमेकी जिल्लाहरु मकवानपुर र नवलपरासीका जनता काठमाडौंसँग जोडिने सबैभन्दा छिटो माध्यम पनि हो भरपुर विमानस्थल ।

निकुञ्ज, मेडिकल कलेज, क्यान्सर अस्पताल, कृषि तथा वनविज्ञान विश्वविद्यालय, सिटी हल, प्रदर्शनी केन्द्र आदिको कारण पनि भरतपुर विमानस्थल व्यस्त बनेको छ । त्यसमाथि थपिँदैछ अन्तरराष्ट्रिय क्रिकेट रंगशाला ।

सानो रनवे हुँदा विमान कम्पनीलाई घाटा

रनवे सानो हुँदा ४७ सिटभन्दा बढी क्षमता भएको विमान भरतपुरमा अवतरण गर्न नसकिएको पाइलटहरु बताउँछन् ।
तर, दक्षिणपूर्व र उत्तरपश्चिमका अवरोध हटाउने हो भने धावनमार्ग बढाउन सकिने विमानस्थल प्रमुख गौतम बताउँछन् । उनी भन्छन्, ‘ठूला विमान आए भाडा दर पनि कम हुन्छ ।’

अहिले भरतपुर–काठमाडौँ उडानको भाडा तीन हजार ८ सय ५० रुपैयाँ छ । ठूला जहाजमा ३ हजारभन्दा कममा उडाउन सकिने विमान कम्पनीहरुको भनाइ छ ।

तीव्र गतिमा सहरीकरण भइरहेको विमानस्थल भरतपुरको केन्द्र भागमा छ । यसै कारण विमानस्थल नजिकै ठूल्ठूला कम्प्लेक्स र सपिङ मलहरु बनाउन नसकिएको नेता र व्यवसायीहरुको भनाइ छ ।

यसै साता भरतपुर आएका पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले यो विमानस्थलको अवरोध हटाएर रात्रिकालीन उडान गर्न सकिने बताए थिए । उनले भरतपुर विमानस्थलको सुरक्षा र विस्तारका विषयमा सरोकारवालासँग छलफलसमेत गरेका थिए ।

सो छलफलपछि भरतपुर महानगरपालिकाले विमानस्थलको अवरोध हटाउने र मन्त्रालयले विमानस्थल विस्तारको पहल गर्ने निर्णय गरेको थियो ।

यसैवीच भरतपुर विमानस्थल विस्तारबारे नागरिक उड्यन प्राधिकरणले गठन नयाँ समिति शुक्रबार भरतपुर आएर फर्किएको छ । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल नेतृत्वको ३ जनाको टोलीले आवश्यक जानकारी लिएको विमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।

गौतमका अनुसार, फर्कनुअघि टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र अन्य सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो ।

विमानस्थल सार्ने राजनीतिक दलको चुनावी नारा

राजनीतिक दलहरुले भरतपुर विमानस्थलको विकास र विस्तारमा चासो राखेको पाइँदैन । बरु निर्वाचनका बेला भोट माग्दा उनीहरुले विमानस्थल सार्ने बताउने गरेका थिए ।

निर्वाचनका बेला सबै दलका नेताले विमानस्थल सार्ने भनेका थिए । भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले पनि यही नाराबाट निर्वाचन जितेका थिए ।

त्यसो त नेकपाका दुईमध्येका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड महिनामा २÷४ पटक यही विमानस्थल भएर भरतपुर आउजाउ गर्छन् । उनले पनि विमास्थल विस्तार र सुरक्षामा चासो दिएका छैनन् ।

यसैवीच भरतपुर महानगरकी मेयर रेनु दाहालले विमानलाई अवरोध गर्ने ट्रस र बिजुलीको पोल हटाउने अनलाइनखबरसँग बताइन् ।

विमानस्थलकै विरोध

तीव्र गतिमा सहरीकरण भइरहेको विमानस्थल भरतपुरको केन्द्र भागमा छ । यसै कारण विमानस्थल नजिकै ठूल्ठूला कम्प्लेक्स र सपिङ मलहरु बनाउन नसकिएको नेता र व्यवसायीहरुको भनाइ छ । तथापि, राजमार्ग र बस्तीहरु बस्नुअघि नै भरतपुरमा विमानस्थल बनिसकेको थियो ।

वृहत चितवन गुरुयोजना निर्माण समितिका संयोजक समेत रहेका प्रदेश सभा सांसद विजय सुवेदी भरतपुरको केन्द्रमा विमानस्थल हुनुपर्छ भन्नु नै गलत भएको बताउँछन् । उनी भन्छन्, ‘विमानस्थल सार्न चितवनमा जग्गाको अभाव पनि छैन ।’

भरतपुर विमानस्थलविरुद्व संघर्ष समिति नै बनेको छ । त्यसका अध्यक्ष श्यामकुमार गिरीले महानगरपालिकाले नक्सा पास खुल्ला गरेर एक तलासम्मको बनाउन दिए छतका संरचना हटाउन आफूहरु तयार रहेको बताए ।

विमानस्थल प्रमुख पवन गौतम चितवनमा अन्तर्राष्ट्रिय रंगशाला भएपछि विमानस्थल पनि अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment