Comments Add Comment

प्रचण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट ! प्रचण्ड अमेरिका जालान् ?

भेनेजुएला प्रकरण सुल्झिएको नेकपा नेताको दाबी

२७ माघ, काठमाडौं । भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गरेका नेकपा अध्यक्ष प्रचण्डलाई शनिबार अमेरिकी राजदूत र्‍याण्डी बेरीले निवासमै गएर भेट गरेको नेकपाका एक नेताले खुलासा गरेका छन् । राजदूत बेरीले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिएको ती नेताको दाबी छ ।

अमेरिकी राजदूत बेरीले शनिबार खुमलटारस्थित निवासमै गएर नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेको नेकपाका केन्द्रीय नेता एवं सांसद देवेन्द्र पौडेलले बताए ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा नेता पौडेलले भने, ‘नेपालस्थित अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । अब यो समस्या (भेनेजुएला प्रकरण) हल भयो ।’

अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको नेकपा नेता पौडेलले खुलासा गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यकरुपमा उचाल्नुहुँदैन ।’

अमेरिका नरम !

राजदूत बेरीले अमेरिका भ्रमणको निम्तो दिएपछि अब प्रचण्डलाई सीताको उपचारार्थ अमेरिका जाने बाटो खुलेको छ ।

भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डको वक्तव्यपछि तीव्र प्रतिक्रिया दिइरहेको अमेरिकी दूतावास नेपालको मामिलामा केही नरमजस्तो देखिन थालेको छ ।

सरकारले आयोजना गरेको राजदूतहरुको ब्रिफिङमै नआएका अमेरिकी राजदूत बेरीले यसवीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट र कुराकानी गरिसकेका छन् ।

यसवीचमा राजदूत बेरीले प्रचण्डलाई समेत निवासमै पुगेर भेटेपछि अमेरिकी कूटनीतिज्ञहरु नेपालको मामिलामा नरमरुपमा प्रस्तुत हुन थालेको संकेत मिलेको छ ।

अब प्रचण्ड अमेरिका जालान् ?

यसैवीच नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्नुपूर्व पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको भिसासमेत लिइसकेको चर्चा थियो । तर, भेनेजुएला प्रकरण चर्किएपछि प्रचण्डको अमेरिका जाने योजना स्थगन भएको थियो ।

तर, राजदूत बेरीले अमेरिका भ्रमणको निम्तो दिएपछि अब प्रचण्डलाई सीताको उपचारार्थ अमेरिका जाने बाटो खुलेको छ ।

ओली-प्रचण्ड ३ घण्टा छलफल

यसैवीच नेकपा नेता पौडेलले शनिबार नै नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भएको बनाए । ‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ,’ पौडेलले भने, ‘अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

पौडेलका अनुसार सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र पार्टीबाट निर्णयहरु गर्दा सल्लाह गर्नेबारे दुबै अध्यक्षवीच सहमति भएको छ । त्यसैगरी पार्टी एकीकरणको कामलाई दुबै अध्यक्षले पहलकदमी लिने र पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे प्रचण्ड र ओलीवीच कुराकानी भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment