Comments Add Comment

धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम जुध्यो

हाम्रो रंगशालाको नाम परिवर्तन हुँदैन –सदस्य सचिव

Photo Credit : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउने घोषणा गरेको रंगशाला ।

२७ माघ, काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् ।

जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका छन् तर, रंगशालाको नाममा विवाद देखिएको छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्ययोजनामा नै यो रंगशाला समावेश गरेर बजेटसमेत विनियोजन भइसकेको छ ।

यही नाममा धुर्मुस सुन्तली फाउण्डसेनले अर्को रंगशाला बनाउँदा कानूनी र व्यवहारिक रुपमा अप्ठ्यारो देखिन्छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको उनको आरोप छ । ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ विष्टले भने ।

तर, क्रिकेट रंगशालाको विषयमा फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पटकपटक खेलकुदमन्त्री जगत विश्वकर्मा र सदस्यसचिव विष्टसँग बारम्बार छलफल गरेका थिए । फिल्ड भिजिटमा विष्ट पनि गएका थिए । तर, अहिले उनी यो नाम सरकारले पहिल्यै बुक गरेको बताउँछन् ।

विष्टले थपे, ‘खेलकुदको सर्वाेच्च निकाय भनेको राखेप र खेलकुद मन्त्रालय हो । सम्बन्धित निकायसँग समन्वय नगरिकन जाँदा यस्तै खालका समस्याहरु उत्पन्न हुन्छन् भन्ने कुरा उहाँहरुले बुझ्नुपर्थ्यो ।’

एउटै नामले चाहिँ कत्तिको अप्ठ्यारो पर्छ ? भन्ने प्रश्नमा सदस्यसचिव विष्ट भन्छन्, ‘सकेसम्म नाम नजुध्दा राम्रो ।’

सरकारको पुरानै योजना भएको कारण कुनै पनि हालतमा नाम परिवर्तन नुहुने राखेपका सदस्यसचिव विष्ट बताउँछन् । ‘उहाँहरु आधिकारिक रुपमा आउनु पर्‍यो नि । उहाँहरुले समन्वय गर्नुभयो भने एउटा विधि खोजिएला । होइन भने हामी आफ्नो नाममा अघि बढ्छौं’ उनले भने ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ पनि सरकारले बनाउन लागेको रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नै रहने बताउँछन् । भन्छन्, ‘सरकारले नाम पहिचान गरेर सैनामैना नगरपालिकामा रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको हो ।’

तर नामले मात्र खासै समस्या नआउने अध्यक्ष गुरुङ बताउँछन् । ‘नाममा भन्दा पनि काममा राम्रो हुनुपर्छ । राज्यले गर्नुपर्ने काम धुर्मुस सुन्तलीले गर्न खोज्नुभएको छ । उहाँको योगदानलाई कदर गर्नुपर्छ’ उनी थप्छन्, ‘हामीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला–रुपन्देही’ हुन्छ, उहाँहरुले बनाउने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला– चितवन’ राखे फरक पर्दैन ।’

सरकारले बनाउने रंगशाला कस्तो ?

रुपन्देहीको सैनामैना नगरपालिकामा सरकारले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बहुउद्देश्यीय हुनेछ, जहाँ बिभिन्न खेलका खेलकुद गतिविधि हुनुका साथसाथै कभर्डहल र खेल मैदानहरु हुनेछन् ।

करिब १७ विघा जमिनमा फैलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सुरुवाती समयमा करिब १३ हजार दर्शक क्षमताको हुनेछ । त्यसपछि यसको क्षमता बृद्धि गर्ने सदस्यसचिव विष्ट बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा यो रंगशाला निर्माणको लागि जम्मा ३० लाख बजेट विनियोजन गरेको छ । यो बजेट रंगशालाको डीपीआर निर्माण गर्न मात्रै छुट्याइएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बहुउद्देश्य गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको लागि बजेट विनियोजन भएको हो । डीपीआर तयार भएपछि रंगशाला निर्माणको काम अघि बढ्छ ।’

१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता हँुदा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment