Comments Add Comment

धुम्बाराहीमा १० बजे ‘जनयुद्ध’को सम्झना, ओली सहभागी नहुने

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनाउँदै छ ।

२०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गर्ने मूल धार र त्यो युद्धको कट्टर आलोचक तत्कालीन नेकपा एमाले मिलेर बनेको नेकपाले पहिलोपटक औपचारिक रुपमै जनयुद्ध दिवस मनाउन लागेको हो । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउन लागिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी एक हुनुपूर्व तत्कालीन नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसका रुपमा फागुन १ गते विभिन्न कार्यक्रमहरु गर्ने गरेको थियो । तर, यसपटक कार्यक्रमको नाम थोरै परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ ।

१० बजेका लागि तय गरिएको कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुँदैछन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने आजको कार्यक्रममा सहभागी हुने छैनन् । प्रधानमन्त्री ओली रोजागर कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएको नेकपाले जनाएको छ ।

केन्द्रका साथै प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनहरुले पनि जनयुद्धको सम्झना गर्दैछन् । महासचिव विष्णु पौडेलले केही दिनअघि जनयुद्ध दिवस मनाउन सर्कुलर गरेपछि नेकपाका सबै संरचनाहरुले जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

तत्कालीन माओवादीले ०५२ फागुन १ बाट सुरु गरेको सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो । युद्धको दौरानमा १७ हजारले ज्यान गुमाएका थिए भने उत्तिकै संख्यामा घाइते छन् । माओवादीले सञ्चालन गरेको यही युद्ध र ०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र स्थापना भएको थियो । यद्यपि, तत्कालीन माओवादीले सञ्चालन गरेको संघर्षलाई कसरी हेर्ने भन्नेमा राजनीतिक शक्तिबीच फरक–फरक दृष्टिकोण रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment