Comments Add Comment

 कविता- तिमी र म : समानता र भिन्नता

तिमी र म उस्तै
प्लस टु पछि तिमी पनि बिदेश उड्यौ र म पनि!
फरक यत्ति हो-
तिमी अस्ट्रेलिया तिर लाग्यौ
म खाडी मुलुक!!तिमी र म उस्तै
सपना बोकेर गाकी थियौ तिमी
र म पनि !
फरक यत्ति हो-
तिमी तिम्रो भविश्य र करियरको
म भने बुढा बा आमा र हातमुख जोड्ने
समस्या समाधानको सपना !!तिमी र म उस्तै
विदेशबाट तिमी पनि फर्क्यौ
र म पनि।
फरक यत्ति हो-
तिमी अध्ययनको अध्याय सिध्याएर
करियर खोज्दै फर्क्यौ !
फरक यत्ति हो-
म जीवनको अध्याय सिध्याएर
आफ्नै भूमि खोज्दै फर्के
रातो काठको बाकसमा बन्द भएर !
तिम्रा बाआमाले पनि अबिर लगाइदिए
माला लगाइदिए तिमीलाई,
आँसु बगाउदै !
र मलाई पनि
बाआमाले अबिर माला सबै लगाइदिए
आँसु बगाए !
फरक यत्ती हो-
तिम्रा बा आमाले स्वागत गर्न
अनि मेरा बाआमाले बिदाइ गर्न
अबिर माला लगाइदिए !
अनि तिम्रा बाआमाले हर्षार्श्रु झारे
अनि मेराले पिडाका !
अब फर्केर आउदैन भनी आशा मारे !

सुन्दैछु तिमी फेरि जाँदै छौ रे
बाआमा एक्लो पारेर
स्वदेशमा राम्रो अवसर भेटिएन भनेर
मैले पनि बाआमालाई एक्लो नै बनाए !
समानता नै भेट्टियो यसमा पनि,
तर समानता भित्र व्यापक भिन्नता लुकेको छ,
तिमी करिअरको रहर भन्दै दौड्यौ
अवसरको शहरमा पौड्यौ !
म बाध्यताको भूमरीमा !!

अ साच्ची, सुनन
स्कुल पढ्दा मैले तिमीलाई
कहिलेकाही चक्लेट अनि खाजा खुवाथिए नि !
त्यो पैसा बाको खल्तीबाट चोरेर ल्याउथें !
कहिलेकाहीँ आमाको पटुकीको टुप्पोको गाठो फुकाएर
त्यो पैसा भुसा भुसा गनाउँथ्यो !
त्यही पैसाले किनेको जेरी बसाउथ्यो,
मेरो आमाको स्नेह त्यो भन्दा धेरै बसाउँथ्यो !
तर कहिलेकाहीँ थाहा पाएर
बाको हातबाट मिठाइ पनि भेटिन्थ्यो-
त्यो चाहिँ म एक्लै खान्थे – नमीठो मानी ।
हा…के कुरा गर्‍या होला भनेर झर्को लागे होला !
सुनन तिमीले तिम्रा बाआमालाई कोसेली पठाउदा
अलिकति मेरा बाआमालाई पनि पठाउनु है !
तर सानोमा तिमीले र मैले
रामे दाइको फोटो स्टुडियोमा खिचेको
श्यामस्वेत तस्वीर मेरो बाकसको पिधमा राख्या छु
मेरो हृदयमा त अमिट छ
उनीहरूले देख्न सक्दैनन्
फुर्सर मिलाएर त्यो फोटो तिमीले निकाल्नु
राखे पनि राख्नु, फाले पनि फाल्नु
बिन्ती बाआमालाई नदेखाउनु ।
उनीहरू त्यो तस्वीर देख्दा
तिमीलाई देख्दा,
पुरानो घाउ बल्झिदा,
मलाई सम्झनेछन् ।
तिम्रो खुशी
जे गर !!!
बिन्ती मेरा बाआमा पनि,
तिम्रै जस्ता हुन्।
म र तिमीमा जस्तै,
तिनीहरूमा पनि छन्-
समानता र भिन्नता !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment