Comments Add Comment

पोखराका दुई चोकमा आकाशे पुल, साढे पाँच करोड लागत

२ फागुन, पोखरा । ट्राफिक जामले आक्रान्त पोखराका मुख्य चोकहरुमा आकाशे पुल हाल्ने योजना अगाडि बढेको छ । पृथ्वीचोक र सिर्जनाचोकमा आकाशे पुल बनाउन डिजाइन र स्टिमेट तयार पारेको पोखरा महानगरपालिकाले जनाएको छ ।

सडक पार गर्दा पैदलयात्रुले मोल्नुपर्ने जोखिम हटाउनेगरि आकाशे पुलको डिजाईन गरिएको र १५ महिनाभित्र निर्माण सक्ने गरी टेन्डर आहृवानको तयारी भएको मेयर मानबहादुर जिसीले बताए ।

महानगरपालिकाले सिर्जनाचोकमा बनाउने आकाशे पुलको डिजाइन र लागत स्टिमेट सार्वजनिक गरेको छ । पृथ्वीचोकको चाही लागत स्टिमिट भइरहेको महानगरपालिकाका इन्जिनियर सोभियत खड्काले बताए । उनका अनुसार, पुलका विभिन्न भाग तयार गरेर चोकमा फिटिङ गरिने छ । उनले भने, ‘सबै काम त्यही गर्दा निर्माण अवधिभर ट्राफिक जाम हुने भएकाले यस्तो विकल्प खोजिएको हो ।’

बढ्दो सवारी चापका कारण पोखराका सडक र चोकहरुमा पैदलयात्रुले सास्ती खेप्नु परिरहेको छ । यातायात व्यवस्था कार्यालय पोखरामा मात्र करिब २ लाख सवारी साधन दर्ता भइसकेका छन् ।

सिर्जनाचोकमा पुल बनाउन साढे २ करोड रुपैयाँको स्टिमेट गरिएको छ भने पृथ्वीचोकमा ३ करोड रुपैयाँ लाग्ने अनुमान छ । यो आर्थिक वर्षको बजेटमात्र अपुग हुने भएकोले अर्को आवको समेत रकम थपेर १५ महिनाभित्रै काम सक्ने मेयर जिसीको भनाइ छ ।

अहिले पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री रहेका प्रतिनिधिसभामा कास्की क्षेत्र नम्बर-२ का सांसद रवीन्द्र अधिकारीले सिर्जना चोकमा बन्ने अकाशे पुलका लागि संसद पूर्वाधार विकास कोषबाट ५० लाख विनियोजन गरेका छन् । पोखरा महानगरले चालु आव ०७५/७६ मा ओभरहेड पुल, सब-वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा १ करोड रुपैयाँ छुट्याएको छ ।

पोखराको ट्राफिक व्यवस्थापन गर्न महानगरले १० वटा चोकमा ट्राफिक लाइट राख्ने योजना पनि अगाडि बढाएको छ । सडक डिभिजन कार्यालयसँगको सहकार्यमा त्यसको सर्भे पनि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment