Comments Add Comment

रारा कि अप्सरा…? (फोटो फिचर)

रारा यात्राका विषयमा गरेको अध्ययन, त्यहाँ पुगेर आएका साथीहरुसँगको कुराकानी र यो अनुचित मौसममा बाटोको स्थिति बुझेपछि हामीले थाहा पाइसकेका थियौँ-रारा यात्रा मोटरसाइकलमा सहज छैन । तर, हामीले सानैदेखि सुन्दै आएका, राराका बारेमा लेखिएका, विभिन्न लेखहरुले गर्दा हामीलाई यति नै बेला रारा जाने ईच्छा जागेर आयो ।

हामीले अनुमान लगाइसकेका थियौं, यात्रा कति चुनौतिपूर्ण हुनेछ । मनमा अनेकौं साहस र उत्साह बोकेर हामी लाग्यौं राराको यात्रातर्फ ।

काठमाडौंबाट पहिलो दिन हामी बुटवल पुग्यौं । दोश्रो दिन हामीलाई सुर्खेत पुग्नु थियो । बाँके राष्ट्रिय निकुञ्जको घना जंगल छिचोल्दै पूर्वपश्चिम राजमार्गमा हुइँकिएका हामी कोहलपुर चोकबाट दायाँ मोडिएर रत्न राजमार्ग समात्यौं र भेरी नदी तर्दै सुर्खेत पुग्यौं ।

सुर्खेतमा सिद्धार्थ सनी रिसोर्टमा बास बस्यौं । बिहानको कलिलो घामको आनन्द लिँदै ‘ब्रेकफास्ट’ गरी रारा जाने बाटोतर्फ अघि बढ्यौं । त्यो दिन बल्ल हामीलाई रारा जान लागेको महसुस भयो । बाटोमा पर्ने गुराँसे जस्तो ठाउँ र त्यसको छुट्टै सुन्दरताले यात्रामा थप ऊर्जा आयो । त्यो दिन हामी दैलेखको पालताडा भन्ने सानो गाउँमा बस्यौं। यस ठाउँमा हामीले नेपालको पश्चिम भागको एक बिशेष संस्कृतिको झझल्को पायौं, जस्तै देउडा गीत ।

पालताडाबाट अघि बढेपछि कर्णाली नदीको सङ्गलो पानी वरिपरि किनारमा देखिने साना साना हरिया गाउँहरुले मनै लोभ्याउँछ । नेपालकै लामो कर्णाली नदी आफ्नै सुरमा बगिरहेको छ पर्यटकको मन पगाल्दै र यो सुमधुर सुरमा त्यहाँका मानिसहरुको मन पनि बगिरहन्छ उसैगरी ।

कर्णाली नदी छोडेर तिला नदीतर्फ लाग्दा हामीले माथि डाँडामा एउटा ठूलो शहर देख्यौं । त्यो थियो कालिकोट सदरमुकाम मान्मा । बाटोमा दमाहा बजाएर पूजा गरिरहेको दृश्यमा एकछिन हाम्रो यात्रा अडियो । घरमा नयाँ सन्तान जन्मिएको खुसियालीमा दमाहा बजाएर स्वागत गरिँदो रहेछ ।

मान्मबाट नागमा हुँदै जुम्लाको सिंजा उपत्यका पुगिन्छ । यो उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानीका रुपमा प्रचलित छ । नेपाली खस भाषा र संस्कृतिको उद्गम थलोको पनि हो सिंजा । सिंजामा पुराना संरचनाहरु थुप्रै छन् । जस्तै- पूर्व राजा वीरेन्द्रको परिवारका आकृतिले रंगिएको काठे पुल, अनि पाण्डवहरुले ध्यान गरेको भनिएको पाण्डु गुफा ।

सिंजाबाट हाम्रो कठिन यात्रा सुरु हुन्छ । चिसो मौसम भएको हुनाले बाटोमा हिउँ जमेको थियो । अझ ठाउँ-ठाउँमा सडक निर्माण कार्य जारी रहेकाले धुलो बाटोले मुस्किल बढाएको थियो । तर रारा पुग्ने
अठोटले यी सबै कठिनाइहरुलाई जित्दै हामी अघि बढ्यौं ।

सल्लेरीमा बाइक राखेर करिब अढाई घण्टा रारा राष्ट्रिय निकुन्ज भित्रको बाटो हिँडेपछि पुगियो रारा ताल । यो पाँच दिनको संघर्ष, उत्साह र कठिन परिस्थितिहरुको सामना गर्दै हामीले अन्त्यमा रारा ताल पुगेरै छाड्यौं ।

यति लामो यात्रा गरेर आएपछि हामीले रारा तालमा ३ दिन आराम गर्ने भयौं । त्यसैले वासस्थानको लागि हामी ताल छेउमा रहेको हेरिटेज होटलमा पुग्यौं । यो होटल तालको छेउँमै रहेकाले त्यहाँ बसेर ताल घुम्न धेरै सजिलो हुन्छ । दिनभरी ताल घुमेर, बेलुकी होटलमा खाना खाएपछि हामी आगो तापेर त्यहाँकै स्थानीय दाइले गाएको देउडा गीत सुन्थ्यौं । दिनभरी प्रकृतिसँगको त्यो भलाकुसारी अनि बेलुकी लोक भाकासँगको आत्मियता, रारा बस्दा हाम्रा दुःखहरु कता हराउँथे कता ।

रारा बसाइको दोस्रो दिन करिब ३ घण्टा हिँडेर हामी मुर्मा टप पुग्यौं । मुर्मा टपबाट रारा ताल पुरै देख्न सकिन्छ । १०.८ किलोमिटर छेत्रफलमा फैलिएको रारा तालसँगै मुर्म टपबाट कान्जिरोवा, सैपाल र सिस्ने हिमाल पनि देख्न पाइन्छ । मुर्मा टपमा बेलुकी हुन थालेपछि चिसो हावा चल्ने गर्छ ।

तालमा बोटिङ्ग गर्ने व्यवस्था पनि रहेछ । तेस्रो दिन हामी बोटिङ्ग गर्न गयौं । बिहान सूर्योदयसँगै डुंगा सयर गरिरहँदा घामको स्पर्श हाम्रो शरिरसम्म आइपुग्छ । त्यो चिसो मौसममा हाम्रो मन न्यानो भएर आउछ ।

करिब ३००० मिटर उचाइमा रहेको रारा तालको पानी सङ्गलो अनि चिसो छ । तालमा हाँसहरु पौडिरहन्छन् । रारा निकै सुन्दर छिन् अनि समय समयमा आफ्नो रंग फेरेर त्यहाँ आउने यात्रुहरुको रात पनि उज्यालो बनाइदिन्छिन् ।

एउटा शहरको भिड, धुलो, धुवाँबाट टाढा कतै एकान्तमा प्रकृतिको अनुपम सौन्दर्य रारा साच्चै नै स्वर्गकी अप्सरा हुन् । चञ्चल, निर्मल, कोमल राराको सङ्गलो पानीमा पर्ने वरिपरिका हरिया पहाड, बनपाखा र सेता हिमालको प्रतिविम्व देख्दा सम्झना आउँछ महेन्द्र को त्यो कविता ।

सुन्दरताको भण्डार सारा
के खन्यायौ यसै रारामा
रारा कि अप्सरा…?

अनि यो गीत पनि….

‘रारा कि अप्सरा कसरी वयान गरौं तिम्लाई ?
नेपालको सबैभन्दा ठूलो ताल रारा आँखाभरि भरिएर आउँछिन्
समुन्द्रजस्तै रारा आफ्नो छालको गीतले सबैलाई मोहित गराउँछिन्
रारा ताल जति हेर्‍यो उति हेरिरहुँ लाग्छ ।’

भिडियो तथा तस्वीरः केशव दुलाल, सौरभ लामिछाने/नेपाल एट्थ वन्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment