Comments Add Comment

डीपीएल क्रिकेटमा महेन्द्रनगरलाई वर्षाले डुबायो, झिनो आशा कायमै

५ फागुन, काठमाडौं । महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

लिगमा खेलेको पाँच खेलमध्ये दुई खेलमा हार, दुई खेल वर्षाको कारण रद्द र एक खेलमा जित निकाल्दै महेन्द्रनगरले यो संस्करणको डीपीएलमा चार अंक मात्रै बनाउँदै राउण्ड रोबिनको खेल सकाएको छ ।

यसअघिका दुई खेलमा झिनो अन्तरले पराजित हुँदै अभागी टिम सावित भएको महेन्द्रनगरलाई वर्षाले पनि नमज्जाले डुबाएको छ । महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनको झिनो अन्तरले पराजय भोगेको थियो ।

आफ्नो दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित हुँदा प्लेअफमा पुग्नका लागि यसपछिका तीन खेल जित्नै पर्ने दबाब थियो । तर, उसका लागि वर्षा बाधक बन्यो ।

बिहीबार महेन्द्रनगरको खेल विराटनगर किंग्ससँग थियो । विराटनगरले टस जितेर ब्याटिङ गर्दै १८.३ ओभरमा सात विकेटको क्षतिमा ८२ रन मात्रै बनाउँदा पानी परेर खेल रद्द भयो । विराटनगरमाथि हावी भएको महेन्द्रनगरले यो खेलमा अंक बाँड्न बाध्य बन्यो ।

शनिबार हुने भनिएको धनगढी स्टार्ससँगको खेल पनि वर्षाको कारण रद्द भएपछि र महेन्द्रनगरले फेरी अंक बाँड्न पुग्यो ।

तर आफ्नो अन्तिम खेलमा भने महेन्द्रनगरले जित हात पारेको छ । महेन्द्रनगरले सीवाईसी अत्तरियालाई सात विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने झिनो आशा कायमै राखेको छ ।

यो महेन्द्रनगरको लिगमा पहिलो जित पनि हो । फाप्ला क्रिकेट मैदानमा वर्षाले भिजेको मैदानको कारण ६ ओभरमा छोटाइएको खेलमा अत्तरियाले ५४ रन बनाएको थियो । ५५ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको महेन्द्रनगरले ५.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

प्ले अफमा पुग्ने महेन्द्रनगरको झिनो आशा कायम रहंदा विराटनगर काठमाडौं गोल्डेन्ससँग पराजित हुनु पर्ने हुन्छ । यदी यस्तो भएको खण्डमा महेन्द्रनगर नेट रनरेटको आधारमा विराटनगरलाई पछि पार्दै प्लेअफमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment