Comments Add Comment

पत्रकार महासंघद्वारा ५ पुरस्कारको घोषणा

५ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघले यसवर्षको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार सप्तरीका शिवहरिप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठ (काठमाडौं), ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बलराम थापा (काठमाडौं), ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ गीता कुँवर (अछाम) र ‘उमासिंह पत्रकारिता पुरस्कार’ हिरालाल चौधरी (सिरहा) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको महासंघको बैठकले ती पुरस्कारको निर्णय गरेको हो । ती पुरस्कार फागुन ९ र १० गते कास्कीको पोखरामा हुने केन्द्रीय साधारणसभामा वितरण गरिने महासंघले जनाएको छ ।

आइतबारको बैठकले अनलाइन सञ्चारमाध्यमहरुको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल नवीकरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले अनलाइन मिडिया सञ्चालन गर्न सुशासन ऐन अन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्न माग गर्दै  अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यम सरह मान्यता दिई सञ्चार कानुन अन्तर्गत सम्वोधन गर्न जोडदार माग गरेको छ ।

महासंघले सामाजिक सञ्जाल प्रयोगलाई अवरोध पुर्‍याउने गरी कुनै कानुन नल्याउन र सञ्चारसम्बन्धी कानुनहरु निर्माण गर्दा सरोकारवाला पक्षहरुसँग छलफल र सहमतिमा निर्माण गर्न महासंघ सरकारसमक्ष माग गरेको छ ।

महासंघले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह र निवर्तमान सचिव राजेन्द्रकुमार क्षेत्रीलाई ४५ दिनका लागि निलम्बन गर्दै प्राप्त उजुरी र गुनासाहरु बारे छानबिन गर्न महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव उजय जिएम र लेखासमिति सदस्य भूपेन्द्र आचार्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment