Comments Add Comment

बढ्दै वैवाहिक बलात्कार, घट्दै दाम्पत्य सुख

घटना डोटीको हो । आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको भन्दै एक महिला जिल्ला प्रहरी कार्यलय डोटीमा उजुरी दिन पुगिन् । खबर अनुसार उनी डोटी, शिखर नगरपालिकामा बसोबास गर्छिन् । बिहे भएको १० बर्ष पुगेको । दुई छोराछोरी समेत भएको ।

नेपाली परिवेशमा यो घटना दुर्लभ होइन । यसअघि यस्ता थुप्रै खबर बाहिर आएको छ, श्रीमानले आफ्नै श्रीमतीलाई बलात्कार गरेको  ।

जस्तो कि, गएको साउनमा झापामा यस्तै भयो । बिर्तामोड नगरपालिका बस्ने २२ बषिर्य महिलाले आफ्नो श्रीमान विरुद्ध बलात्कारको उजुरी दिइन् । उनको उजुरी अनुसार ‘श्रीमान्ले आफ्नो इच्छा विपरित यौन सम्पर्क राख्ने गरेका थिए । श्रीमान् १०-१२ दिन हराउने र घर फर्केपछि सम्पर्क राखेर र्फकने गरेका थिए ।’ उजुरीपछि उनका श्रीमानलाई पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरेको थियो ।

यसैगरी हालै मात्र भक्तपुरको घटना सार्वजनिक भएको थियो । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ बोडो गाँकु बस्ने ४१ बषिर्य महिलाले आफ्नै श्रीमान विरुद्ध उजुरी गरिन्, बलात्कार गरेको आरोपमा । श्रीमानले जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले उजुरी दिएकी थिइन् । प्रहरीले ति श्रीमानलाई पनि  पक्राउ गरेको खबर छ ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एक ३३ बषिर्य महिलाले आफ्नो इच्छा विपरित श्रीमानले जबरजस्ती गरेको भन्दै उजुरी दिइन् । उनीहरुको २०६१ सालमा विवाह भएको थियो । यी दम्पतीबाट ६ र १३ बर्षका दुई छोरा समेत जन्मिएका छन् ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका एक २० बषिर्य पुरुषमाथि पनि यस्तै आरोप लाग्यो । उनले श्रीमतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गर्‍यो ।

यौन सम्बन्धः दाम्पत्य सुखको कडी

उल्लेखित घटनाहरुले देखाउँछ, कति श्रीमानले आफ्नै श्रीमतीलाई बलात्कार गरिरहेका छन् । वा कति श्रीमती आफ्नै श्रीमानबाट यौन उत्पीडन झेलिरहेका छन् ।

अक्सर विवाह गरेपछि दम्पतीबीच यौन सम्बन्ध हुन्छ । विवाह पछि श्रीमान र श्रीमतीबीच शारीरिक सम्पर्क हुनुलाई बैधानिक मानिन्छ । प्राकृतिक मानिन्छ । स्वभाविक मानिन्छ ।

त्यती मात्र होइन, दम्पतीबीच यौन सम्बन्ध हुनु एक अपरिहार्य र अनिवार्य क्रिया पनि हो । विवाहपछि दम्पतीलाई यौन सम्बन्ध राख्न कुनै छेकबार हुन्न । किनभने यस किसिमको शारीरिक क्रियाले उनीहरुको दाम्पत्यलाई थप परिपक्क बनाउँदै अगाडि बढाउँछ भन्ने आम मान्यता छ ।

विवाह गरेपछि दम्पतीले सन्तानको रहर गर्छन् । आफ्नै कोखका छोराछोरी जन्माउने र हुर्काउने अभिलाषा राख्छन् । यी स्वभाविक चाहाना हुन् । वंश निरन्तरता वा सन्तान खेलाउने रहरले पनि दम्पतीबीच शारीरिक सम्पर्क हुन्छ ।

यद्यपी शारीरिक सम्पर्क राख्नुको अर्थ सन्तान उत्पादन मात्र होइन । यो एक जैविक आवश्यक्ता हो । एक पुरुष र महिलाबीच शारीरिक सम्बन्ध राख्ने जुन इच्छा प्रकट हुन्छ, त्यो प्राकृतिक आवश्यक्ताभित्र पर्छ ।

अझ के भनिन्छ भने, श्रीमान र श्रीमतीबीच हुने शारीरिक सम्बन्धले उनीहरुलाई थप निकटमा ल्याउँछ । आपसी प्रेम बढ्छ । वैमनश्यता, निरासा, तुष, शंका जस्ता विकार हट्छ । यही विकार हटेपछि श्रीमान र श्रीमतीबीच सौहार्द्धपूर्ण सम्बन्ध स्थापित हुन्छ ।

यौन मनोविदहरु भन्ने गर्छन्, ‘दाम्पत्य सुखको लागि श्रीमान र श्रीमतीले नियमित यौन सम्बन्ध राख्नु आवश्यक छ । यसले उनीहरुको सम्बन्ध थप बलियो र रसिलो बनाइदिन्छ ।’ यौन सम्बन्धपछि दम्पतीबीचका थुप्रै भ्रम र आशंकाहरु मेटिन्छन् । उनीहरु भावनात्मक रुपमै एकाकार हुन्छन् । यसले दाम्पत्य-सुख प्राप्त हुन्छ, देह सुख मात्र होइन । यौन सम्बन्धको बेला श्राव हुने एक किसिमको हर्मोनले उनीहरुमा प्रेम-भाव पैदा गर्ने बताइन्छ ।

अर्कोतिर सक्रिय र नियमित यौन सम्बन्धले दम्पतीको स्वास्थ्यमा समेत फाइदा गर्ने विभिन्न अध्ययनले देखाएको छ । यौन सम्बन्धको बेला दुबै श्रीमान्-श्रीमतीको रक्तसंचार राम्ररी सुचारु हुन्छ । अध्ययनले भन्छ, सक्रिय र नियमित यौन सम्बन्धले दम्पतीलाई मुटु रोगको जोखिमबाट धेरै हदसम्म बचाउँछ ।

त्यसैले दम्पतीबीच यौन सम्बन्ध स्थापित हुनु स्वभाविक, प्राकृतिक र अनिवार्य क्रिया हो । त्यसो भए के श्रीमानले श्रीमतीलाई बलात्कार गर्छ ?

बलात्कारी श्रीमान ?

दाम्पत्य सुखको कडी हो, यौन सम्बन्ध । हामी भन्छौं, ‘श्रीमान र श्रीमतीबीच नियमित एवं सक्रिया यौन सम्बन्ध हुनुपर्छ ।’ त्यसो भए बलात्कारको कुरा कसरी आउँछ ?

यौन सम्बन्धमा बलात्कार त्यहीबेला हुन्छ, जब आफ्नो यौन प्यास मेट्न जबरजस्ती गरिन्छ । विवाह गर्नु भनेको आफ्नो यौन प्यास मेटाउने वैधानिकता पुरा गर्नु मात्र होइन । कुनैपनि कुरा जब एकोहोरो, अभद्र र अनियमित हुन्छ, त्यो पाच्य हुँदैन ।

कुनै श्रीमानले आफ्नो इच्छा अनुसार श्रीमातीलाई यौन भोक मेटाउने माध्याम ठान्छ भने, त्यो समस्यामा हो । किनभने श्रीमती त्यस्तो बस्तु वा चिज होइन, जो श्रीमानको इच्छा परिपूर्तिका लागि सधै तयार होस् ।

यसको अर्थ दम्पतीबीच पनि यौन सम्बन्ध स्थापित हुनका लागि दुबैको सहमति र इच्छा आवश्यक हुन्छ । कसैको असहमतिमा गरिने यौन बर्बरता हो ।

महिलाको यौन इच्छा

हामीकहाँ न यौनको विषयामा दम्पतीबीच नै खुलेर चर्चा हुन्छ, न एकअर्काको इच्छा बुझ्ने प्रयास नै ।

यस्तो अवस्थामा जहिले पनि महिलाहरु पीडित हुने गरेका छन् । महिलाहरु आफ्नो यौन इच्छा व्यक्त गर्न सक्दैनन् । पुरुषले भने, जतिबेला इच्छा लाग्छ आफ्नो काम फत्ते गर्न खोज्छ । पुरुषमा यौन इच्छा जागेपछि महिलाले वेपर्वाह तयार हुनुपर्छ भन्ने मानसिकताले नै वैवाहिक बलात्कारको घटनालाई बढाउँदैछ ।

महिला वा श्रीमतीमा पनि यौन इच्छा हुन्छ । तर, पुरुषको तुलनामा महिला संयमित हुन्छन् । उनीहरुले आफ्नो इच्छा सजिलै प्रकट गर्दैनन् । यदि कुनै महिलाले आफ्नो यौन इच्छा व्यक्त गर्छन् भने पनि हामी उनलाई राम्रो नजरले हेर्दैनौं । त्यही कारण उनीहरुले आफ्नो यौन आवेगलाई दबाउनुपर्ने बाध्यता हुन्छ ।

तर, पुरुष भने जतिबेला आफुलाई इच्छा लाग्छ, त्यही बेला भोग गर्न तत्पर हुन्छ । यसका लागि श्रीमती पनि तयार हुनुपर्छ । श्रीमानले आफुलाई इच्छा लाग्नसाथ यौन भोक मेट्ने प्रयास गर्छन्, जबकी श्रीमती त्यसका लागि तयार नभएको हुनसक्छ । किनभने यौन भनेको शारीरिक क्रिया मात्र होइन, यो मानसिक वा भावनात्मक क्रिया पनि हो । यसका लागि शरीर मात्र तयार गरेर हुँदैन, मानसिकतालाई पनि तयार राख्नुपर्छ ।

जब श्रीमती तयार भएकै हुँदैनन्, तब पुरुष उनीमाथि जाइलाग्छन् । जबरजस्ती भोग गर्छन् । आफु तृप्त भइसकेपछि उठ्छन् । के यसबेलासम्म श्रीमती पनि तृप्त भइन् ? सन्तुष्ट भइन् ? यसबारे भने पुरुषले कहिल्यै प्रश्न गर्दैनन् । प्रश्न गर्न आवश्यक पनि ठान्दैनन् ।

यस किसिमको यौन व्यवहारले नै दम्पतीबीच असन्तुष्टि बढ्दै जान्छ । कुष्ठा बढ्दै जान्छ ।

माथि उल्लेखित एक घटनामा के देखिएको छ भने, श्रीमान् १०-१२ दिनसम्म घर नआउने । जुन दिन घर र्फकन्छ, त्यसबेला श्रीमतीले यौनका लागि तयार हुनुपर्ने । आफ्नी श्रीमतीलाई यौन-दासी जस्तै बनाएपछि समस्या हुने नै भयो । आखिर महिलाले आफुलाई कहिलेसम्म बाँधेर राख्न सक्छ  ? कहिलेसम्म थिचेर राख्न सक्छ ?

 यौनमा समान सहभागिता

यौन सुख तबमात्र प्राप्त हुन्छ, जब दुबैको त्यसमा समान सहभागिता हुन्छ । अर्थात श्रीमान र श्रीमती दुबैको उत्तिकै सक्रिय सहभागिताबाट मात्र उनीहरुले यौन सुख प्राप्त गर्ने हो ।

यौन सम्बन्धअघि दम्पती मानसिक रुपमा तयार हुनुपर्छ । त्यसपछि उनीहरुले एकअर्कामा यौन उत्तेजना बढाउनुपर्छ । यसलाई पाकक्रिडा वा फोरप्ले भन्ने गरिन्छ । अर्थात यौन सम्बन्धअघि पार्टनरलाई यौनमा उकास्न गरिने यावत् क्रिया यसमा पर्छ । हाम्रा पूर्खाहरुले नै पाकक्रिडाको विकास गरेर त्यसको विधीबारे पनि व्यवस्थित ढंगले चर्चा गरिसकेका छन् ।

पाकक्रिडाले दम्पतीलाई यौनमा चरम सुख दिलाउँछ । अर्थात यो एक त्यस्तो माध्याम हो, जसले दम्पतीलाई यौन-उत्कर्षमा पुर्‍याउँछ ।

यौन सक्रिय हुनुपर्छ र यसका लागि विभिन्न आसनहरु छन् । ति आसनहरुले उनीहरुलाई नयाँपनको अनुभूति दिलाउँछ । यौनमा भिन्न आनन्द प्राप्त गर्न सक्छन् ।

यसरी पुरुष र महिला दुबैको इच्छा अनुसार समान सहभागिता र सक्रियतामा गरिने यौन सम्बन्ध नै स्वस्थ्य हुन्छ । यस किसिमको यौन सम्बन्धले दम्पतीलाई यौन सुख प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment