Comments Add Comment

टी-२० महिला विश्वकप : नेपालको लक्ष्य छनोट, अन्य देशका कप्तान के भन्छन् ?

६ फागुन, काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगिता आजबाट थाइल्यान्डमा सुरु भएको छ ।

प्रतियोगितामा पहिलो दिन तीन खेल हुँदा नेपालको खेल भने दोस्रो दिन अर्थात मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला क्रिकेट टिम उच्च मनोबलको साथमा थाइल्यान्ड प्रस्थान गरेको टिम हो । यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै २०२० को टी-२० विश्वकपको ढोका खुल्ला राख्ने लक्ष्यमा छ ।

थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने छनोट प्रतियोगिता नेपालको लागि निकै महत्वपूर्ण छ । नेपालको मुख्य प्रतिद्वन्द्वी टिमको रुपमा आयोजक थाल्यान्डलाई लिइएको छ । थाल्यान्ड निकै बलियो टिम हो । यद्यपी नेपालकी कप्तान रुविना क्षेत्रीले थाइल्यान्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने बताएकी छिन् ।

कप्तान रुविना भन्छिन्, ‘यसअघिका प्रतियोगिताले हामीलाई मजबुत बनाएको छ । अभ्यास खेल तथा मोटिभेसन क्लासले हाम्रो आत्मबल बढाएको छ । हामी हाम्रो क्षमताअनुसार राम्रो क्रिकेट खेल्दै यो प्रतियोगिता जित्न चाहन्छौं ।’

त्यसो त नेपाल यो प्रतियोगिता जित्न सक्ने टिम हो तर नेपालको अगाडि मुख्य तगारो थाइल्यान्ड नै हो । किनभने यसअघिका खेलले पनि प्रत्यक्षरुपमा प्रभाव पार्छ । करिब एक महिनाअघि मात्रै थाइल्यान्डमै सम्पन्न ‘थाइल्यान्ड महिला टी-ट्वान्टी स्माश क्रिकेट प्रतियोगिता’ लाई हेर्न सक्छौं ।

नेपाल यो प्रतियोगिताको फाइनलमा थाइल्यान्डसँग नराम्ररी पराजित भएको थियो । त्यसो त, थाइल्यान्ड भन्ने वितिकै नेपाली खेलाडी नर्भस हुने गरेका छन् । यो कुरा मुख्य प्रशिक्षक विनोद दासले पनि स्वीकारिसकेका छन् । त्यसकारण यो प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रहला ?

यता, थाइल्यान्डकी कप्तान सोर्नरिन तिपोच उपाधि जित्ने कुरामा दुई मत नभएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो तयारी एकदमै राम्रो छ । हाम्रा सबै खेलाडीमा आत्मविश्वास छ कि हामी जित्दै, छनोट हुन्छौं ।’

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएई रहेका छन् । त्यसो त, हङकङ र यूएईले पनि लक्ष्य ग्लोबल छनोटमा पुग्ने बनाएको छ ।

हङकङकी कप्तान मेरिको हिल आफ्नो टिमलाई एक महिनाअघि थाइल्यान्डमै भएको ‘थाइल्यान्ड महिला टी-ट्वान्टी स्माश क्रिकेट प्रतियोगिता’ ले सहयोग पुगेको र राम्रो प्रदर्शन गर्ने बताइन् ।

यता, यूएईकी कप्तान हुमाइरा तास्निम भन्छिन्, ‘हामी निकै उत्साहित छौ । हाम्रो राम्रो खेल्नेछौं । हाम्रो लागि छनोट हुने सम्भावना निकै छ ।’

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग भोलि -मंगलबार) ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । नेपाल आफ्नो पहिलो खेलमा नै जित हात पार्दै खुशद सुरुवात गर्ने लक्ष्यमा छ ।

त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

नेपाली टिम

रुविना क्षेत्री (कप्तान), उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुवँर, अप्सरी बेगम, ममता कुमारी चौधरी र विन्दु रावल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment