Comments Add Comment

दुई तिहाइको सरकार कलाकारको व्यंग्यमै तर्सियो : सांसद केसी

८ फागुन, पोखरा । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले दुई तिहाई बहुमतको सरकार एउटा कलाकारको व्यंग्यमै तर्सिएको टिप्पणी गरेका छन् ।

गायक पशुपति शर्माको गीतदेखि डराएर सत्तारुढ नेकपाका कार्यकर्ताले गीत हटाउन दबाब दिएको उनले बताए ।

‘कलाकारले किन त्यसो भन्यो भन्नेबारे सोच्नुको साटो आफूविरुद्ध बोल्नेमाथि सरकारका अनुयायी खनिइरहेकाछन्,’ केसीले भने, ‘दुई तिहाई सरकारका अनुयायीले डर, धम्की र शक्ति प्रहार गर्न लागेका छन् ।’

बुधबार पोखरामा सञ्चारकर्मीसँग बोल्दै कांग्रेस सांसद केसीले सरकारले निरंकुश शासन लाद्न खोजेको आरोप लगाए । उनले राजा र पञ्चायती शासन व्यवस्थामा पनि अहिलेको जस्तो निरंकुश शासन नभएको दाबी गरे । उनले भने, ‘राणा र राजाको शासनमा पनि यस्तो कडा थिएन । जनताले न्यायको आवाज उठाउनै नपाउने अवस्था आयो ।’

‘केपी ठीक छन्, पात्र काँटछाँट गर्नुपर्‍यो’

सांसद केसीले प्रधानमन्त्री केपी ओली ठीक भए पनि अन्य पात्रका कारण उनको छविमा आँच आइरहेको बताए । उनले प्रधानमन्त्री ओली महत्वाकांक्षी भए पनि गलत नियत नभएको दाबी गरे ।

‘केपी ओली आफू खराब हुनुहुन्न तर केही खराबीलाई सहयोग गरिरहनुभएको छ,’ सांसद केसीले भने, ‘धमिलो पानीमा माछा मार्नेहरुले गर्दा उहाँको प्रतिष्ठामा आँच आइरहेको छ ।’

केसीले प्रधानमन्त्रीलाई सरकारका कतिपय पात्र काँटछाँट गर्न पनि सुझाव दिएका छन् । ‘प्रधानमन्त्री ज्यू, एक वर्ष भइसक्यो ।

अब केही पात्रहरुको काँटछाँट गरिबक्स्योस्,’ उनले भने । उनले वाइडबडी काण्डमा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समेत राजिनामा दिएर बाहिरबाटै सरकारलाई सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment