Comments Add Comment

आगोले जलेको बस्ती पुनःनिर्माण गर्न नगरपालिकाको सहयोग

९ फागुन, गुल्मी । आगोले ध्वस्त गुल्मी मुसिकोट नगरपालिका ४ दजाकोटको अग्नीपीडितलाई राहत प्रदान गरिएको छ ।

आगलागीबाट घर पूर्ण रुपमा क्षति भएका र हाल पुनः निर्माण गरिरहेका ११ परिवारलाई प्रति परिवार १ लाखका दरले राहत दिइएको हो । पीडित परिवारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रकम हस्तान्तरण गरे ।

१८ वैशाख ०७३ मा जंगलको आगो बस्ती पसेपछि गाउँका ५७ घर र झण्डै पाँच दर्जन पशु चौपाय जलेर खरानी भएका थिए । त्यस्तै १७ घरमा आंशिक क्षति पुगेको थियो ।

नगरपालिकाले यसअघि ३० परिवारलाई यस्तो राहत दिइसकेको बताएको छ ।

आगोले जलेको बस्ती पुनः निर्माण भएकोमा मन्त्री विष्टले खुशी व्यक्त गरे । ‘२०७३ सालमा घर र मन दुवै जले,’ मन्त्री विष्टले भने,‘ घर जले पनि मन पलाए, त्यसैले त्यो पीडा तस्विर मात्रै भएको छ ।’ पुनःनिर्माणसंगै दजाकोटलाई होमस्टेका रुपमा विकास गर्न सकिने उनले बताए ।

वडागाउँ अग्निपीडित राहत संकलन तथा वितरण समितिले दजाकोटका घरहरुको पुनर्निमाणका लागि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर काम थालेको थियो । अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखेर काम गरिएको मुसिकोट नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरि छन्तेलले बताए ।

‘क’ श्रेणीमा पर्नेले राहतस्वरुप तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाएको छन्तेलले बताए ।

आगोले ध्वस्त दजाकोटको ९५ प्रतिशत निर्माण भइसकेको छ । बाँकी केही घर निर्माण भएपछि दजाकोटमा अग्नि स्मृति स्मारक निर्माण गरिने मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरि छन्तेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment