Comments Add Comment

आहा रारा गोल्डकप : एपीएफसँग आयोजक साहारा पराजित

९ फागुन, पोखरा । पोखरामा बिहीबार सुरु भएको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक साहारा क्लब एपीएफसँग पराजित भएको छ । निर्धारित समयमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट सुटआउटबाट गरिएको थियो ।

टाइब्रेकरमा पनि खेल ४–४ को बराबरमा रोकिएपछि सडनडेथमा पुग्यो । सडन डेथमा सहारा क्लबका अञ्जन देवकोटाले प्रहार गरेको बललाई एपीएफका गोल रक्षक रमन रसाइलीले सजिलै छेकिदिए । उनले बल छेकेसँगै जित एपीएपको पोल्टामा परेको हो ।

खेलको १७ औं मिनेटमा आयोजक टिम सहारा क्लबका विनोद गुरुङले गोल गरे । तर लगत्तै एपीएफका आशिष लामाले १८ औं मिनेटमा गोल फर्काइदिए । पहिलो हाफमा १–१ को बराबरीमा खेलेका दुवै टिमले दास्रो हापमा कुनै पनि गोल गर्न सकेनन् ।

आयोजक र विपक्षी टिम एपीएफ दुवैले आएका सुन्दर अवसरलाई समात्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन सकेन ।

आयोजक सहारा क्लबका प्रशिक्षक प्रल्हाद हिराचनले डिफेन्सको गल्तीले हार्नुपरेको बताए । ‘पहिलेकै गोल रोक्न सकिन्थ्यो तर त्यसमा डिफेन्स चुक्यो,’ उनले भने, ‘टाइब्रेकरमा २ वटा खेलाडीले मिस गर्नाले पनि हामीले हार्नुुपर्‍यो ।’

हिराचनले खेलाडी भने उत्कृष्ट खेल प्रस्तुत गर्दागर्दै पनि हार्नुपरेको बताए । ‘एपीएफलाई हाम्रा खेलाडीले दबाबमा राखेकै हुन् । तर पाएको चान्सलाई पनि सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी रह्यो,’ उनले भने ।

एपीएफका टिम म्यानेजर अमित मल्लले असहज परिस्थितिका बाबजुद पनि जित हासिल गरेका बताए । उनले भने, ‘हाम्रो टिम सुरुदेखि नै दबाबमा रह्यो । जित निकाल्नै गाह्रो थियो ।’ उनले खेलाडीको कमजोर प्रस्तुती हुनुमा लगातारको प्रतियोगिता पनि भएको बताए ।

‘हामी लगातार खेलिरहेका छौं । आहा खेल्न पनि ढिलोमात्रै आइपुग्यौं । खेलाडीले आराम गर्ने मौका पाएका छैनन्,’ उनले भने, ‘त्यसमाथि हाम्रा भरपर्दा खेलाडी कोही अन्डर २० मा छन्, कोही घाइते छन् ।’

एपीएफका बुद्धिमान राई म्यान अफ दी म्याच घोषित भए । शुक्रबार हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब भिड्नेछन् । प्रतियोगिता फागुन १८ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा २ विदेशीसहित १० टीम छन् । विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment