Comments Add Comment

बादल र विष्णुले हात उठाए, पाँच भाइको छुट्टै प्रतिवेदन

१० फागुन, काठमाडौं । संयोजक र वरिष्ठ सदस्यले हात उठाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग भएको छ ।

तर, विवाद समाधान हुनुको साटो फरक प्रतिवेदन नै स्थायी समितिमा जाने भएको छ ।

बिहीबार कार्यदल सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदल भंग गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अल्पमतमा देखिएको थियो । तर, भोलिपल्ट सचिवालयबाट ओलीको त्यही प्रस्ताव पास भएको छ ।

स्रोतका अनुसार शुक्रबारको बैठकमा अध्यक्ष ओलीले कार्यदल भंग गर्ने प्रस्ताव दोहोर्‍याएका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यमार्गी देखिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी कमिटीको निर्णय, कार्यदलको माग लगायतका कारण एक साता म्याद थप गर्नुपर्ने बताए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि म्याद थपको पक्षमा देखिए ।

तर, बैठकमा ओलीको पल्ला त्यसबेला भारी भयो, जब कार्यदलका संयोजक रामबहादुर थापा बादल र वरिष्ठ सदस्य एवं पार्टी महासचिव विष्णु पौडेल बोले । बादलले यो हामीले सक्ने कुरै होइन, लिडरसिपले गर्नुपर्छ भनेका छन् । बादललाई कार्यदलका वरिष्ठ सदस्य पौडेलले पनि धारणालाई समर्थन गरेपछि कार्यदलको म्याद थप्नुपर्छ भन्नेहरुको तर्कले काम गरेन ।

एक नेता भन्छन्, ‘संयोजक र वरिष्ठ सदस्यलाई अगाडि सारेर स्थायी कमिटीको निर्णयलाई असफल बनाउने काम भयो । यसले पार्टीमा अर्को समस्या ल्याउँछ ।’

पाँच भाइको छुट्टै प्रतिवेदन

सचिवालयको निर्णयलाई म्याद थपको पक्षमा रहेका कार्यदल सदस्यहरुले भने दुर्भाग्यपूर्ण भएका छन् ।

विधानअनुसार स्थायी कमिटीले बनाएको कार्यदल सचिवालयले भंग गर्न नसक्ने सदस्य योगेश भट्टराईले बताए । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले भने, ‘सचिवालयले हतारहतार कार्यदल विघटन गर्ने निर्णय गर्नुले कार्यदलप्रति सचिवालयका नेताहरुको नियत र बुझाइ ठीक थिएन भन्ने स्पष्ट हुन्छ ।’

केही नेताको अरुचीका कारण कार्यदलले काम गर्न नसकेको नेता भट्टराईले बताए । स्रोतका अनुसार संयोजक बादल र महासचिव विष्णु पौडेल प्रदेश कमिटीमा हेरफेर गर्न तयार नभएपछि कार्यदलको बैठक नै नबस्ने अवस्था आएको थियो ।

कार्यदल विघटन भएपनि तत्कालीन बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने भएका छन् । स्रोतका अनुसार सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्ट यसमा सहमत भइसकेका छन् भने वर्षमान पुन उपत्यका बाहिर भएका कारण यसबारे छलफल हुन बाँकी छ ।

कार्यदलका एक सदस्य भन्छन्, ‘सांगठनिक एकताको मापदण्ड बनाएर हामी अध्यक्षलाई प्रतिवेदन बुझाउँछौं र यो स्थायी कमिटी सदस्यहरुलाई पनि बोधार्थ दिन्छौं ।’

भट्टराईले पनि आफ्नो धारणाा लिखित रुपमा बुझाउने तयारी रहेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment