Comments Add Comment

हिसिलाले किनिदिएको दौरा सुरुवालमा बाबुरामको मुस्कान !

दौरा–सुरुवाल : देश अनुसारको भेष !

१० फागुन, काठमाडौं । ६५ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक दौरा सुरुवाल र ढाका टोपी लगाए । ‘देश अनुसारको भेष’ भन्दै सामाजिक सञ्जालमा हालेका तस्वीरमा उनी निकै खुलेका देखिए ।

सामान्यतया नेताको पोशाकको मिडियामा त्यति चर्चा हुँदैन, जस्तो कुनै हिरो–हिरोइनको हुन्छ । तर, डा. भट्टराईको यो पोशाकले भने निकै चर्चा पाइरहेको छ, किनकी, विगतमा उनको स्कुलिङ ‘दौरा सुरुवाल विरोधि’ थियो । उनको पूर्व पार्टी माओवादीले दौरा सुरुवाललाई सामन्तवादको बिम्बका रुपमा हेर्ने गर्थ्यो ।

अर्थमन्त्री र प्रधानमन्त्री बन्दा पनि डा. भट्टराईले यो पोशाक लगाएनन् । सट–पाइन्ट र कोटमा भादगाउँले टोपी लगाएर चलाए । ०६८ सालमा उनको नेतृत्वको सरकारले नै दौरा सुरुवाल र गुन्यूचोली समयसापेक्ष नभएको भन्दै राष्ट्रिय पोशाकबाट हटाएको थियो । नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाकको उक्त मान्यता सरकारले दिएको थियो ।

डा. भट्टराई यतिबेला दलबलसहित मध्यपहाडी लोकमार्ग अन्तर्गतका क्षेत्रहरुको भ्रमणमा छन् । पत्नी हिसिला र पार्टीका करिब दुई दर्जन व्यक्तिहरुसहित भ्रमणमा निस्किनुपूर्व नै कर्णाली प्रदेशमा जाँदा उनले दौरा सुरुवाल लगाउने योजना बनेको थियो ।

हिसिला भन्छिन्, ‘मैले र पार्टीका साथीहरुले उहाँलाई दौरा सुरुवाल, टोपी लगाउन सल्लाह दिएका हौं ।’

यो पनि पढ्नुहोस् : बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !

प्रधानमन्त्री बन्दा पनि नलगाएको दौरा–सुरुवाल अहिले लगाउन सल्लाह किन दिनुभयो त ? भन्ने प्रश्नमा उनको स्पष्टीकरण छ, ‘उहाँ मन्त्री, प्रधानमन्त्री बन्दा नयाँ संविधान आएको थिएन । देशको जातीय–सांस्कृतिक विविधतालाई अन्तरिम संविधानमा सम्वोधन हुन सकेको थिएन । अपूरो नै सही, अहिले गणतान्त्रिक र संघीयतामा आधारित संविधान छ । यो संविधानले देशलाई ७ प्रदेशमा छुट्याएको छ । त्यसमध्ये प्रदेश ६ र ७ मा खस–आर्यको बाहुल्य देखिन्छ । कर्णाली प्रदेशको यही पहिचानलाई सम्मान गर्नका लागि उहाँले दौरा सुरुवाल लगाउनु भएको हो ।’

श्रीमानका लागि हिसिला आफैंले असनमा गएर रेडिमेड दौरा–सुरुवाल किनेकी थिइन् । २ हजार रुपैयाँमा नीलो दौरा सुरुवाल र टोपी किनेको उनले बताइन् । डा. भट्टराईले लगाएको कोट भने पुरानै हो ।

तस्वीरमा भट्टराईले दौरा सुरुवालमा स्पोर्टस्  जुत्ता लगाएको देखिन्छ । पोशाक अनुसार जुत्ता नमिलेको भनेर कतिपयले कमेन्ट पनि गरेका छन् । हिसिला भन्छिन्, ‘स्पोर्टस्  जुत्ता लगाउनु बाध्यता हो । हाम्रो यात्रामा बाटोको कठिनाई, कतै हिलो त कतै हिउँमा हिँड्नुपर्ने भएकाले छालाको जुत्ता लगाउन सम्भव थिएन ।’

डा. भट्टराईले लगाएको स्पोर्टस् जुत्ता ‘नेपाल मेड’ भएको हिसिलाले जानकारी दिइन् ।

कर्णाली भ्रमणमा हिसिलाले भने अनौपचारिक पोशाक नै लगाएकी छन् । आफूलाई गुन्यूचोलो–साडी लगाउन आपत्ति नभए पनि उपलब्ध नभएकाले नलगाएको उनको भनाइ छ ।

‘मैलेचाहिँ किन साडीचोलो नलगाएको भनेर धेरैले प्रश्न गर्नुभएको छ । कतिले गाली पनि गर्नुभएको छ । तर, साडी–चोलो लगाउन मलाई आपत्ति हुँदै होइन । बेलाबखत लगाएकी पनि छु । सायद अछाममा लगाउँछु होला । त्यहाँ साथीभाइले मलाई साडीचोलो किनेर लगाइदिने कुरा गर्नुभएको छ ।’ उनले भनिन् ।

‘तर, मेरो भन्दा पनि पूर्वप्रधानमन्त्री भएका कारणले उहाँको पोशाकमा हामीले बढी ध्यान दिएका हौं,’ हिसिलाले थपिन् ।

डा. भट्टराईले दौरा सुरुवाललाई ‘देश अनुसारको भेष’ भनेर लेखेका छन् ।

सामाजिक सञ्जालको प्रतिक्रिया

विगतदेखि नै नेपालमा दौरा–सुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने जनमत बलियो छ । यस्तो भावना बेलाबखत सामाजिक सञ्जालमा उर्लिने गर्छ । धेरैले दौरा–सुरुवाललाई राष्ट्रियताको बिम्बका रुपमा हेर्छन् ।

डा. भट्टराईले दौरा सुरुवाल लगाएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैथरी प्रतिक्रिया आएका छन् । कतिले उनको ‘पुरानो सोच बदलिएको’ भन्दै स्वागत गरेका छन् त कतिले यसलाई ‘अर्को स्टन्ट गर्न खोजेको’ भन्दै आलोचना समेत गरेका छन् ।

गणेश बोगटीले लेखेका छन्, ‘आज दौरा सुरुवाल लगाएर कहाँ हुन्छ डा. सा’ब । तपाईंहरुकै कारण नेपाली धर्म, संस्कृति, परम्परा, पोशाक, सामाजिक सद्भाव र राष्ट्रिय एकतामाथि अकल्पनीय प्रहार भएको ताजै छ ।’

कृष्णप्रसाद पाण्डेले लेखेका छन्, ‘गोठ भुले र वनमा बाटो बिराएको राँगो बाटो बुझेर आफ्नै गोठमा आयो । राम्रो भो । अब बाटो नबिराउनु, शुभकामना छ ।’

नारायण पोखरेल लेख्छन्, ‘जुनबेला आफू प्रधानमन्त्री हुनुहुन्थ्यो र आफ्नो मौलिकता देश–विदेशमा देखाउनुपथ्र्यो, त्यो समयमा अलि बढी नै नाटक मञ्चन र घमण्ड गर्नुभो । अहिले अनावश्यक चर्चा कमाउन दौरा सुरुवाल लगाएको समाचार बनाउँदै हुनुहुन्छ । कत्ति पनि सुहाएन ।’

खगेन्द्र संग्रौलाको प्रश्न : पोशाकको गलफत्ती किन ?

विश्लेषक खगेन्द्र संग्रौला भने बाबुरामको पोशाक प्रसंगलाई चर्चायोग्य नै मान्दैनन् । पोशाकले राष्ट्रियता बोक्दैन भन्ने मान्यता राख्ने उनी डा. भट्टराईले दौरा सुरुवाल लगाउनु महत्वको कुरा नभएको बताउँछन् ।

‘यो कुनै समाचार बनाइरहनुपर्ने विषय होजस्तो मलाई लाग्दैन,’ संग्रौलाले अनलाइनखबरसँग भने, ‘कुनै पनि लुगा जिउ ढाक्नलाई लगाइन्छ, घामपानीबाट बच्न लगाइन्छ । दौरा सुरुवाल पनि जिउ ढाक्ने एउटा लुगा हो । उहाँलाई मन लाग्यो, लगाउनुभयो । यसमा केको गलफत्ती ?’

संग्रौलाले अगाडि थपे, ‘कसैले दौरा सुरुवाल लाओस, कसैले लुंगी लाओस, कसैले लगौंटी लाओस, नांगै चाहिँ नहिँडोस् । दौरा सुरुवाल लगाएर वा नलगाएर कुनै नेता गतिलो वा अगतिलो हुने होइन । नेता गतिलो हुने विचारले हो ।’

तर, तपाईं त विगतमा दौरा सुरुवालको आलोचक हुनुहुन्थ्यो नि ? भन्ने प्रश्नमा संग्रौलाको जवाफ छ, ‘विल्कुल होइन । दौरा–सुरुवाललाई राष्ट्रियताकै बिम्ब बनाउनुहुँदैन भन्ने मात्रै मेरो कुरा हो । नेपालमा विभिन्न जातजातिका आ–आफ्ना पोशाक छन् । सबै राष्ट्रिय पोशाक हुन् । सबैको उत्तिकै महत्व छ ।’

तर, नेपालका मन्त्री–प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा, विदेशी उच्च ओहदाका व्यक्तित्वहरुसित भेट्दा वा देशभित्रै महत्वपूर्ण कार्यक्रममा उपस्थिति भएका बेला औपचाारिक पोशाक आवश्यक हुन्छ । यसमा एकरुपता कायम गर्न पनि राष्ट्रिय पोशाकका रुपमा दौरा–सुरुवाललाई पुनर्स्थापित गर्नुपर्ने जनमत निकै ठूलो छ ।

यसबारेमा संग्रौला भन्छन्, ‘मेरो विचारमा विदेश भ्रमणमा जाँदा चाहिँ दौरा सुरुवाल लगाउँदा राम्रै हुन्छ । देशभित्र चाहिँ आवश्यक छैन ।’

संग्रौलाले दौरा सुरुवालबारे एउटा किस्सा पनि सुनाए ।

‘०४९ सालको संसदमा जनमोर्चाका ९ जना सांसद थिए । तीमध्ये एक थिए, बर्मन बुढा । उनी सधंै कछाड लगाएर संसदमा जान्थे । एकपटक बंगलादेश भ्रमणमा जाने टोलीमा उनको नाम परेछ । तर, भ्रमणमा जानका लागि सर्त थियो, दौरा–सुरुवाल लगाउनुपर्ने । त्यसपछि बुढाले भनेछन्, ‘बंगलादेश जानकै लागि म दौरा सुरुवाल लगाउँदिनँ । आजसम्म नलगाएको लुगा विदेश जानकै लागि किन लगाउने ? यस्तो अडान लिएपछि अन्ततः उनी अनौपचारिक पोशाकमै गए ।’

संग्रौला फेरि भट्टराईको प्रसंगमा फर्के ।

आफूले पढेको एउटा ट्विट उल्लेख गर्दै उनले भने, ‘एकजनाले ट्विटरमा लेख्नुभएको थियो, बाबुरामको अतीतप्रतिको पश्चाताप हेर्दै गर्दा कुनै दिन उनले लगौंटी लगाएर सत्यनारायणको पूजा गर्न बेर छैन । मेरो पनि मत ठ्याक्कै यही हो । बाबुरामले गरिखाउन्, मेरो शुभकामना छ ।’

त्यसपछि संग्रौलालाई सोधियो, ‘तपाईंले चाहिँ अहिलेसम्म दौरा सुरुवाल लगाउनुभएको छ कि छैन ?’

यो प्रश्नमा भने उनी हौसिए । ‘हो, यो प्रश्नचाहिँ काइदा लाग्यो’ भन्दै उनले सुनाए–

‘म बाल्यकालमा सधैं दौरा सुरुवाल नै लगाउँथेँ । त्यतिबेला गाउँमा सर्ट, कमिजहरु आएकै थिएनन् । गाउँको दुख भनेकै नून, तेल मसला र कपडा हो नि । हामीले दशैंमा मात्रै नयाँ कपडा लगाउन पाउँथ्यौं । त्यो पनि त्यही दौरा सुरुवाल । दशैंमा किनेको दौरा सुरुवाल दशतिर टालेर बर्षभरि लगाइन्थ्यो ।

ठूलो भएपछि चाहिँ मैले दौरा सुरुवाल लगाइनँ । आफ्नै बिहेमा पनि लगाइनँ । अहिले पनि लगाउँदिनँ । मलाई दौरा सुरुवाल भन्दा सर्ट पाइन्ट नै सजिलो लाग्छ । आफूलाई जे सहज लाग्छ, त्यही लाउने त हो ।’

गणतन्त्रपछि पोशाकमा स्वच्छन्दता

राजा महेन्द्रले राष्ट्रिय पोशाकका रुपमा स्थापित गरेको दौरा–सुरुवाललाई ०४६ सालपछिका नेताहरु (मधेसीलाई छाडेर) ले पनि सहजरुपमा स्वीकारेका थिए । संसदमा सबैजसो सांसदहरु दौरा सुरुवालमा ठाँटिएर आउँथे । ०६२÷६३ को आन्दोलनबाट राजतन्त्र उन्मूलन भएपछि भने दौरा सुरुवाल कोपभाजनमा पर्‍यो । त्यसपछि त पोशाकमा ‘स्वच्छन्दता’ नै छ ।

मधेसी मुलका नेताहरुलाई दौरा–सुरुवाललाई ‘खस आर्यको’ भन्दै अस्वीकार गरेका छन् भने माओवादीले पनि यसलाई सामन्तवादी पोशाक भन्दै नकार्दै आएको छ । फलस्वरुप अहिले देशमा पोशाकको खासै मापदण्ड बस्न सकेको छैन । प्रधानमन्त्री–मन्त्रीहरुकै लागि पनि न कुनै निर्धारित पोशाक छ, न त सांसदहरुलाई नै । नयाँ संविधानले राष्ट्रिय पोशाकका विषयमा केही बोलेको छैन ।

प्रधानमन्त्री केपी ओलीले तत्कालीन एमालेको संसदीय दलको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा सांसदहरुलाई भनेका थिए, ‘पुरुषहरु दौरा सुरुवाल, कोट, टोपीमा आउनुस् । महिलाहरु सकभर साडीचोलोमा आउनुस् ।’

तर, उनको सो निर्देशनले खासै काम गरेको देखिएन । पार्टी एकतापछि त यो विषय नै चर्चामै छैन् ।

अहिले प्रदेश संसदमा पनि सांसदहरुले आफूखुशी पोशाक लगाउँदै आएका छन् । मधेसी दलको नेतृत्व रहेको प्रदेश २ मा भने दौरा–सुरुवाललाई अघोषित प्रतिवन्ध गरिएको विषयले ठूलै रुप लिएको थियो । मर्यादापालकहरुलाई समेत दौरा सुरुवाल निषेध गर्न खोजिएपछि अन्य दलले विरोध गरेका थिए । त्यसपछि मर्यादापालकका लागि छुट्टै पोशाक तोकिएको छ । अन्य प्रदेशमा भने मर्यादापालकले दौरा सुरुवाल नै लगाउँछन् । कांग्रेस र एमालेले भने अघोषितरुपमा यसलाई राष्ट्रिय पोशाककै रुपमा स्वीकारेका छन् ।

गत श्रावणमा गृह मन्त्रालयले दौरा सुरुवाल–साडीचोलोलाई औपचारिक पोशाकका रुपमा घोषणा गरेको थियो ।

‘नेपाली पोशाक भन्नाले नेपाली नागरिकले लगाउँदै आइरहेको महिलाको निमित्त जुनसुकै शैलीको चोलो–साडी र जुत्तासहितको पोशाक र पुरुषको निम्ति सेतो रंगको लबेदा सुरुवाल, ग्रे कालो कोट, भादगाउँले टोपी र छालाको जुत्ता सम्झिनुपर्नेछ,’ मन्त्रालयले श्रावण ३१ गते जारी गरेको विज्ञप्तिमा भनेको छ । यसैका आधारमा गत भदौ १९ गते राष्ट्रपति कार्यालयले राष्ट्रपति भवन शितल निवासमा प्रदान गरिने विभुषण समारोहमा सहभागी सबैलाई दौरा सुरुवाल र साडीचोलोमा उपस्थित हुन परिपत्र गरेको थियो ।

माओवादी र दौरा सुरुवाल

प्रचण्डभन्दा अगाडिसम्म हरेक प्रधानमन्त्रीले यसलाई औपचारिक पोशाकका रुपमा स्वीकारेका थिए । तर, प्रचण्डले क्रमभंग गरिदिए ।

तत्कालीन माओवादी अध्यक्ष र हालका नेकपा अध्यक्ष प्रचण्डले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन् । पहिलोपटक प्रधानमन्त्री बन्दा सपथग्रहणमा उनले सुट, टाई र कालो भादगाउँले टोपी लगाएका थिए । अहिले पनि उनी औपचारिक कार्यक्रमहरुमा यही पोशाक लगाउँछन् । यद्यपि, सोही क्याबिनेटमा सञ्चारमन्त्री रहेका माओवादी नेता राम कार्कीले भने दौरा सुरुवालमा सपथ खाएका थिए । टोपबहादुर रायमाझी पनि दौरा सुरुवाल लगाउने माओवादीमा पर्छन् ।

माओवादीबाट उपराष्ट्रपति बनेका नन्दकिशोर पुनले पनि दौरा सुरुवालमा सपथ खाए । त्यसयता हरेक औपचारिक कार्यक्रममा यही पोशाकमा देखिने गरेका छन् । यसअघिका उपराष्ट्रपति परमानन्द झाले धोती–कुर्तामा सपथ खाँदा निकै विवाद भएको थियो । अदालतको आदेशपछि उनले दौरा सुरुवालमा पुनः सपथ खाए र त्यसपछि औपचारिक कार्यक्रमहरुमा पनि दौरा सुरुवाल नै लगाए ।

तत्कालीन माओवादी नेता कृष्णबहादुर महराले सभामुखमा निर्वाचित भएयता दौरा सुरुवाल लगाउन थालेका छन् । उनले मन्त्री हुँदा भने लगाउँदैन थिए ।

पूर्वमाओवादी उपाध्यक्ष, हालका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीले बेलाबखत दौरा सुरुवाल लगाएका छन् । अहिलेको मन्त्रीमण्डलमा रहेका पूर्वमाओवादी मन्त्रीहरुले दौरा–सुरुवाल लगाउँदैनन् भने पूर्वएमाले मन्त्रीहरुले लगाउँछन् । दुई पार्टी एक भइसके पनि पोशाकको विषयमा विरोधाभास छ । पार्टीले यसमा कुनै साझा नीति बनाएको छैन ।

युवाहरुमा बढ्दो मोह

सरकारले राष्ट्रिय पोशाकबाट हटाए पनि पछिल्लो समय युवा पुस्तामा दौरा सुरुवालको बढ्दो मोह देखिएको छ । वैवाहिक समारोह र अन्य औपचारिक समारोहमा धेरै युवाहरु दौरा सुरुवाल र कालोटोपीमा ठाँटिन थालेका छन् । माओवादी र मधेसी नेताहरुले दौरा सुरुवालप्रति घृणा फैलाउन खोज्दा त्यसको उल्टो प्रतिक्रिया जन्मेको देखिन्छ ।

‘राजनीतिक पार्टी र नेताहरु राष्ट्रियताबाट विमुख बन्दै गइरहेका बेला त्यसको प्रतिक्रियास्वरुप जनताले राष्ट्रियताको प्रवद्र्धन गरिरहेका छन्,’ एक समाजशास्त्री भन्छन्, ‘यही भावनाले पनि दौरा सुरुवालको लोकप्रियता बढेको हो । साथै यो पोशाकले मानिसको व्यक्तित्व पनि बढाउँछ ।’

वास्तवमा भन्ने हो भने दौरा सुरुवाल नेपालमा खस आर्यले मात्रै लगाउँदैनन् । न त यो सामन्ती पोशाक नै हो । राई लिम्बुदेखि नेवारसम्मले विभिन्न चाडपर्वमा दौरा सुरुवाल लगाउने गरेको पाइन्छ ।

संस्कृतिविद सत्यमोहन जोशीकै उदाहरण लिउँ । नेवार समुदायका उनी सँधै दौरा सुरुवालमै देखिन्छन् । नेकपाका मधेसी नेता लालबाबु यादव दौरा सुरुवाल लगाउनमा गर्व गर्छन् । विदेश जाने अधिकांश नेपालीले आफ्नो साथमा एक थान दौरा सुरुवाल बोकेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment