Comments Add Comment

पर्वतको बिहादीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

१२ फागुन, कुश्मा । पर्वतको बिहादी गाउँपालिका–४ लुरिङ डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले बिहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

परीक्षण उडानपछि विपिन परीयारले लुरिङ र देउराली डाँडा प्याराग्लाइडिङ उडानका लागि तथा रानीपानीमा रहेको इमीचौर अवतरणका लागि उत्तम स्थान रहेको बताए । ‘परीक्षण उडान सफल भएको छ, यसले बिहादी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास बढेको छ,’ उनले भने ।

प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment