Comments Add Comment

बास्नादार विदेशी होइन, स्वदेशी चामलको भात खानुपर्छ : प्रधानमन्त्री

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने बानीको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीमा उनले भने ‘बास्नादार र विदेशबाट आयातगरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपालीको खाने बानी परिवर्तन हुँदै गएको भन्दै त्यसै अनुसार खेती प्रणालीमा पनि सुधार गर्नुपर्ने बताए । ‘पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यसकारण अहिलेको भन्दाचार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने ।

उनले दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । ‘हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ’ उनले भने ।

परम्परागत खेती प्रणाली सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाललाई ठोस र प्रभावकारी काम गर्न निर्देशनसमेत दिए । मन्त्रालयको तर्फबाट ‘वर्तमान अवस्था र भावी सोच’ बिषयक प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले मन्त्री खनाललाई ठोस र प्रभावकारी योजना बनाएर काम गर्न निर्देशन दिएका हुन् ।

कृषि आधुनिकीकरण कार्यक्रमहरु सञ्चालन गर्ने भनेर प्रस्तुतिमा उल्लेख भए पनि कहाँ–कहाँ सञ्चालन गर्ने र कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषय उल्लेख नभएको भन्दै फेरि अर्को प्रस्तुतिमा सबै विषयहरु समेट्न प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको नाममा भने प्रधानमन्त्री ओलीले आपत्ति जनाए । कुनै पनि योजना वा कार्यक्रमका अगाडि प्रधानमन्त्री नराख्न ओलीले सुझाव दिए । कर्मचारीले मन्त्रीलाई खुसी पार्न कार्यक्रमका अगाडि यस्तो लेख्ने गरेको भन्दै सबै कार्यक्रममा प्रधानमन्त्री राख्न नहुने बताए ।

‘नामको अगाडि त्यो खै के मन्त्री भन्ने चाहिँ किन जोड्नुपरेको, सिधै कृषि आधुनिकीकरण कार्यक्रममात्रै राखे हुँदैन’ अलि आक्रोशित मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारीले मन्त्रीलाई खुसी बनाउन अगाडि मन्त्री जोडिदिन्छन्, अनि के मन्त्रालय अनुसारको नाम राख्ने ?’

उदपुरको वेलकामा सुपरजोन बनाइने

कार्यक्रममा मन्त्री खनालले उदयपुरको वेलका नगरपालिकामा कृषि सुपरजोन बनाउन प्रस्तावसमेत गरेका छन् । मन्त्रीको प्रस्ताव साथै वेलका नगरपालिकाका तर्फबाट भिडियोसहितको प्रस्तुति हेरे पछि प्रधानमन्त्री ओलीले त्यस क्षेत्रमा कृषि सुपरजोन बनाउन उत्तम हुने बताए ।

‘यतिधेरै जमिन रहेछ, फेरि कोशीको छेउमा तरकारी धेरै फल्छ मलाई थाहा छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस ठाउँमा जोन बनाउनु उपयुक्त हुन्छ तर कुनै एक प्रकारको मात्रै खेती गर्नुपर्छ ।’

एकै ठाउँ तरकारी, फलफुल वा खाद्यान्नको जोन भने बनाउन नहुने उनले बताए । प्रदेश एकको उदयपुरमा तरकारी जोन बनाउने र अन्य प्रदेशहरुमा पनि यस्तै किसिमका अन्यवालीहरुको जोन बनाउन मन्त्री खनाललाई सुझाव दिए ।

उनले उत्पादित तरकारीहरु खेर फाल्ने गरिएको विषयमा पनि आपत्ति जनाए । केही समय अघि सडकमै गोलभेडा फालिएको र बारीमै काउली जोतिएको भन्दै त्यसलाई अचार बनाएर बेचेको भए राम्रो मूल्य आउने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मूल्य नपाएको भन्दै सडकमै टमाटर फालियो त्यसलाई अचार बनाएर बेचेको भए ५० रुपैयाँको ४ सयमा बिक्ने थियो, काउलीलाई पनि जोताउनु सट्टा सुकाएर अचार बनाएर बेच्न सकिने थियो नि ।’ प्रधानमन्त्री ओलीले उत्पादित वस्तुको उपयोगमा समेत ध्यान दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment