Comments Add Comment

प्रेम तामाङ नयाँ शक्ति कि कांग्रेसको सांसद् ?

१४ फागुन, काठमाडौं । प्रदेश सांसद् एवं नयाँ शक्ति पार्टी रसुवाका नेता प्रेम तामाङसहितका सयौं नेता–कार्यकर्ता पार्टी प्रवेश गर्न राजी भएको भन्दै हौसिएको कांग्रेसले १३ फागुनका लागि पार्टी प्रवेश कार्यक्रम तय गर्‍यो ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित प्रभावशाली युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापासमेत हेलिकोप्टर चढेर प्रेम तामाङलाई पार्टी प्रवेश गराउन सोमबार रसुवाको कालिकास्थान पुगे ।

राष्ट्रिय राजनीतिमै पार्टी शिथिल बनिरहेका बेला रसुवामा हुन लागेको पार्टी प्रवेशलाई कांग्रेसले महत्व दिएको थियो । निर्धारित समयमै देउवासहित कांग्रेस नेताहरु रसुवा पुगेका थिए ।

तर, कार्यक्रमका मुख्य आकर्षक प्रदेश ३ का सांसदसमेत रहेका तामाङ नै कार्यक्रममा आएनन् । त्यसपछि कांग्रेस नेताहरु सांस्कृतिक कार्यक्रम हेरेर काठमाडौं फर्किए ।

पार्टी प्रवेशको वचन दिएर पनि तामाङ किन उपस्थित भएनन् भन्नेबारे औपचारिक रुपमा केही खुलेको छैन । तर अहिलेको दल–बदलसम्बन्धी कानुनी व्यवस्थाले तामाङ औपचारिक रुपमा कांग्रेस प्रवेश नगरेको स्रोतले बतायो । ‘दल–बदलसम्बन्धी कानुनी व्यवस्थाका कारण तामाङ औपचारिक रुपमा कांग्रेस प्रवेश नगरे पनि उनले नयाँ शक्तिसँगको सम्बद्धता त्यागिसकेका छन्’ स्रोतले भन्यो ।

के छ कानुनी व्यवस्था ?

कुनै नेता वा सांसदले पार्टी वा संसदीय दल विभाजन गर्दा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेश ३ मा तामाङ नयाँ शक्तिको एक्ला सांसद हुन् । उनी कांग्रेस प्रवेश गर्दा शतप्रतिशत हुने भए पनि त्यसअघि नै नयाँ संसदीय दल गठन गरेको जानकारी सभामुखलाई गराउनुपर्छ । तर, उनले सभामुखलाई त्यसबारे जानकारी दिएका छैनन् ।

तामाङले सभामुखलाई नयाँ संसदीय दल गठन गरेको जानकारी नगराउँदै नयाँ शक्तिले प्रेम तामाङ हाम्रो पार्टी सदस्य होइन भनेर सभामुखलाई पत्र लेखेमा उनको सांसद् पद नै गुम्छ । यही कानुनी प्रक्रिया पूरा नगरेकाले नयाँ शक्तिका प्रेम तामाङ सोमबार कांग्रेस प्रवेश नगरेको स्रोतले बतायो ।

रसुवाको राजनीतिमा प्रभावशाली मानिने तामाङले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तामाङ यस विषयमा बोल्न चाहँदैनन् । अनलाइनखबरले टेलिफोन सम्पर्क गर्दा उनले बोल्न अनिच्छा व्यक्त गर्दै भने– अहिले व्यस्त छु । पछि फोन गर्नू ।’

माओवादी आन्दोलनबाट उदाएका तामाङ ०६४ मा रसुवाबाट सभासद निर्वाचित भएका थिए ।

नयाँ शक्ति पार्टीले देशव्यापी रुपमा हार व्यहोर्दा तामाङले सान्त्वना जित निकालेर इज्जत जोगाइदिएका थिए । तामाङकै प्रभावले रसुवाको केही स्थानीय तहमा समेत नयाँ शक्ति पार्टीले गत स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment