Comments Add Comment

तिलोत्तमामा मकै पकेट क्षेत्र घोषणा

१४ फागुन, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १२ लाई मकै पकेट क्षेत्र घोषणा गरेको छ ।

नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जग्गामा मकै खेती गर्न सकिने भन्दै नगरपालिकालाई पूर्ण रूपमा मकैमा आन्तनिर्भर बनाउने गरी वडा नम्बर १२ बाट अभियान सुरू गरेको जनाएको छ ।

बुधबार नगरप्रमुख बासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर कार्यक्रमको सुरूवात गरे । घिमिरेले नगरलाई खाद्य र नगदेबालीमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने गरी काम अघि बढाइएको बताए ।

यसअघि नगरपालिकाले वडा नम्बर १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । नगर प्रमुख घिमिरे १२ नम्बर वडामा वर्षायाममा धान काटेपछि दुई सिजनमा मकै लगाउन सकिने बताए ।

सो वडाको कम्तीमा २५ विघामा पकेट क्षेत्रको रुपमा यस पटक मकै लगाइने छ । त्यहाँ लगाइने मकै उन्नत जातको हुने र उक्त मकैको हरेक बोटले दुई वटा घोगा लाग्छ । उक्त मकै ८० देखि ९० दिनमा तयार हुन्छ ।

सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधिहरू हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेसिन) समेत हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले मकैको बिऊमा शतप्रतिशत अनुदान, अन्य उपकरणमा ९० प्रतिशत दिइएको कृषि शाखा प्रमुख जीवन आचार्यले बताए । साथै सोही क्षेत्रमा सिंचाईका लागि दुई वटा बोरिङ पनि जडान गरिने आचार्यले बताए ।

यसअघि तिलोत्तमा नगरपालिकाले गहुँको बिउमा पनि ४० प्रतिशत अनुदान दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment