+
+
Shares

सुनुवाई समितिको बैठक फेरि कोरम नपुगेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १६:०८
Photo Credit : फाइल तस्वीर

१४ फागुन, काठमाडौं । संसदीय सुनुवाई समितिको मंगलबारको बैठक पनि गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । यसअघि, आइतबारको समिति बैठक कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भएको हो ।

१५ सदस्यीय सुनुवाई समितिको मंगलवारको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य रहेका छन् ।

‘ह्वीप’ लगाउँदा पनि कोरमको समस्या

आइतबारको बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर, सांसदहरु सुमन प्याकुरेल र शिवकुमार मण्डल उपस्थित भएनन् ।

मण्डल विराटनगरबाट फर्किदै गरे पनि बैठकमा आइपुगेनन् । प्याकुरेल पनि काठमाडौं बाहिर छन् । संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ पनि अस्वस्थ भएकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?