Comments Add Comment

१६५ वटा कानून संशोधन गर्ने २ विधेयक राष्ट्रियसभाबाट पारित

१५ फागुन, काठमाडौं । संविधान अनुकुल नरहेका १६५ वटा कानून संशोधन गर्न तयार गरिएका छुट्टाछुट्टै दुईवटा विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

बुधबार बसेको बैठकले ५६ वटा ऐन संशोधन गर्ने ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र १०९ वटा ऐन संशोधन गर्ने ‘संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ बहुमतले पारित गरेको हो ।

संविधान अनुकुल नरहेका कानूनलाई संविधान बमोजिम परिमार्जन गर्न तयार दुबै विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो ।

बुधबार राष्ट्रियसभामा छलफलमा भाग लिँदै नेपाली कांग्रेसका संसद राधेश्याम अधिकारीले धेरै कानून एकैपटक संशोधन गर्ने गरी विधेयक ल्याउँदा प्रयाप्त छलफल गर्न नसकिएको बताएका थिए ।

जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधान बमोजिम परिमार्जन गर्नका लागि एकैपटक धेरै कानून संशोधन गर्नका लागि विधेयक ल्याउनुपरेको स्वीकारे । विधेयकमा भएका त्रुटि पुनः सच्याउन सकिने र त्यसका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।

यसअघि, कानून मन्त्रालयले विद्यमान ३३९ वटा कानूनमध्ये १७४ वटा कानून संशोधन गर्नुपर्ने निर्क्याेल गरेको थियो । ती संविधान अनुकुल नभएका कानूनहरु आगामी फागुन २१ भित्र संशोधन गरिसक्नुपर्ने प्रावधान छ ।

गतवर्ष फागुन २१ गते संसदको वर्षे अधिवेशन सुरु भएको थियो । संसद अधिवेशन सुरु भएको एक वर्षभित्र परिमार्जन नभए संविधानसँग बाझिएका कानूनहरु स्वतः निश्क्रिय हुने संवैधानिक ब्यवस्था छ ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment