Comments Add Comment

पाथिभराका पुरोहित भन्छन्– हेलिकोप्टरमै मन्त्रीज्यूलाई दूध चिया खुवाएँ

‘बाहिर निस्कन सक्नुभएन, हेलिकोप्टरभित्रै १५ मिनेट बस्नुभयो’

१५ फागुन, ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शन गर्न आइपुगेका मन्त्री रविन्द्र अधिकारी र उनको टीमका सदस्यहरुले हेलिकोप्टरभित्रै १५ मिनेटजति बसेर दूध चिया पिएको मन्दिरका पुजारी डिल्लीरमण आचार्यले अनलाइनखबरलाई बताएका छन् ।

बाहिर हावा चलिरहेको, हिउँ परिरहेको र सास फेर्न गाह्रो भएकाले पूजा सक्नेवित्तिकै मन्त्रीको टोली दौडँदै आएर हेलिकोप्टरमा चढेको तर, खराब मौसमका कारण तल्कालै हेलिकोप्टर उड्न नसकेको पुजारी आचार्य बताउँछन् ।

मन्त्रीको हेलिकोप्टरमा बसेका बेला आफूले दूध चिया ल्याएर हेलिकोप्टरभित्रै दिएको पुजारीको भनाइ छ ।

पाथीभराका पुजारी डिल्लीरमण आचार्यको भनाइ उनकै शब्दमा–

मन्त्रीज्यूहरुले लगभग १५ मीनेटजति पूजा गर्नुभयो । त्यसपछाडि हेलिकोप्टरमै गएर बस्नुभयो । हावा चलिराखेको थियो । अलिअलि हिउँ पनि खसिराखेको थियो । यसले गर्दा बाहिर बस्न गाह्रो भएकाले उहाँहरु हेलिकोप्टरमै बस्नुभयो । हामी पनि हेलिकोप्टरको छेउमा साइड लागेर त्यहीँ उभियौं । हावा चलिरहेको थियो ।

हावा चलिराखेको छ, एकछिन हेलिकोप्टर उड्दैन, त्यसैले चिया खान जाऔं भन्यौं । तर, हामी उत्रेर चिया खाने ठाउँमा जानै सक्दैनौं, हामीलाई गाह्रो छ, बरु चिया यतै ल्याउँ न भन्नेखालको कुरा भयो । त्यसपछि हेलिकोप्टरमै मैले नै सबैजनालाई चिया दिएको हुँ । दूध चिया मजाले बनाएर दिएको हुँ ।

युवराज दाहाल सर यहाँ पाथिभरामा आएर मसँग धेरै बस्नुभएको हो । मन्त्रीज्यूले पनि पहिले यहाँ आएर चिया पिउनुभएको हो । अनि लु गुरुको हातको चिया पिउने भयौं भनेर खुशी हुनुभो ।

चिया पिएर एकछिन पछाडि हामीले लोकेसन हेर्‍यौं । लोकेसन हेर्दा फेदी भन्दा उता कुहिरो छैन भनेपछि तपाईहरु उता साइड लागिदिनु भनेर हेलिकोप्टर स्टार्ट गर्नुभयो । अनि हामीले विदा गर्‍यौं । तर, विदा त सदाका लागि गर्नुपरेछ । कस्तो दुःदख भयो ।

मन्त्रीज्यूसँग हाम्रो त्यस्तो धेरै केही कुराकानी भएन । केही पनि कुरै भएन । किनभने हिउँ परिराखेको छ, हावा चलिराखेको छ, सास फेर्न गाह्रो छ । अनि मन्दिरबाट को छिटो पर पुग्ने भन्दै मन्दिरदेखि यता हाम्रो क्वार्टरतिर आयौं । एकछिन हाम्रो किचनतिर बस्नुहुन्छ होला भनेको, उहाँहरु सिधै हेलीकोप्टरतिर लाग्नुभयो । उहाँहरु चिया खाउञ्जेल हेलिकोप्टरमा त्यस्तै १५/२० मिनेटजति बस्नुभयो होला ।

मौसम खराब थियो । तर, सिम्रिकको हेलिकोप्टरले आज धरान, भेडेटारबाट तीन/चार फ्लाइट गर्‍यो । भोलिलाई पनि ६/७ वटा छ भन्दैछ । मन्त्रीज्यूहरु आउनुभन्दा अगाडि पनि सिम्रिकको हेलिकोप्टर आयो । विहानैदेखि मौसम खुल्ने र बिग्रने गरिरहेको थियो ।

युवारज सर त पाथिभराको यो बाटो धेरैचोटि हिँड्नुभएको मान्छे हो । यो रुटबाट यसरी जाँदाखेरि सुकेटार पुगिन्छ, सुकेटार पुगेपछि ताप्लेजुङ निस्कन्छ भन्ने कुरा त पाइलटलाई भन्दा उहाँलाई अनुभव थियो । हामीले दिएको लोकेसन उहाँले ठीक छ भन्नुभयो ।

उहाँहरु उडिसकेपछि कुहिरो भएका कारण हेलिकोप्टर अलिकति उचाइबाटै जानुपर्ने भयो । त्यो हिउँ र हावाले बटारेर हेलिकोप्टरलाई एकैचोटि यहाँ वर ल्याइदियो जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment