Comments Add Comment

असिनापानीले म्याग्दीमा तरकारी बाली नष्ट

Photo Credit : प्रतीकात्मक तस्वीर

१७ फागुन, म्याग्दी। बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ ।

राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।

असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । कार्कीको मात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पुर्याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गरसमेत झारेको छ ।

आगलागीबाट चौध बाख्रा मरे

यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिए ।

हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो हावाहुरीले नजिकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो । अगलागीमा परेर चार बाख्रा, दुई बोका र आठ पाठापाठी जलेर मरेको पीडित परिवारले जनाएको छ । आगलागीबाट करीब रु ४० हजार बराबरको काठसहित २० हजार बढी खर्चिएर बनाइएको खोर पूर्ण रुपमा जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment