Comments Add Comment

वीरगञ्जमा आधुनिक प्रणालीबाट घर नम्बरिङ सुरु

१९ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका घरधुरीको ‘मेटि्रक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिएको छ । जसअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नंम्बर १ देखि १६ सम्म नम्बरिङ सम्पन्न भएको छ ।

महानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । १ देखि १६ नम्बर वडामा २५ हजार भन्दा बढी घरधुरीको नम्बरिङ भइसकेको छ । महानगरपालिकाको कार्यालय भवन आदर्शनगर रोडमा ५२१ नम्बर परेको छ ।

महानगरको भवनमा महानगर प्रमुख विजयकुमार सरावगीले ५२१ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरेका छन् । मेयर विजय सरावगीले चुनाव ताका गरेको वाचा पूरा गर्ने क्रममा आधुनिक प्रविधि मार्फत घर नम्बरिङ गरेको बताए ।

‘घर नम्बरिङ वैज्ञानिक सिस्टमबाट भएको छ, कर पनि वडा कार्यालय बाटै तिर्ने व्यवस्था मिलाउँदैछ,’ उनले भने, ‘महानगरपालिकालाई प्रबिधिमैत्री बनाउन अग्रसर भइरहेका छौं ।’

वीरगञ्ज महानगरपालिकाको वडानम्बर १ देखि १६ नम्बर वडाको वडा कार्यालयमा आजै (आइतबार) नम्बर प्लेट टाँसिएको छ । नगरबासीको घरमा विस्तारै नम्बर प्लेट जडान गर्ने जनाइएको छ । इनोभेटिभ सोलुसनले नम्बरिङको जिम्मा लिएको थियो ।

०७६ मंसिरमा सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको भएपनि महानगरपालिकाको दवाव पछि कम्पनीले अहिले नै काम सकाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भूसालले जानकारी दिए । ‘वीरगञ्ज महानगरको १ देखि १६ नम्बर वडामा अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरेका छौं । विस्तारै यसलाई महानगरपालिका भरी नै विस्तार गर्छौ,’ उनले भने, ‘यसले वीरगंजलाई व्यवस्थित गर्नुको साथै कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिन्छ ।’

डिजिटल नम्बरिङ पछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनमा सहज हुनुको साथै पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेछन् ।

वीरगञ्ज महानगरपालिकाका ईन्जिनियर सुनिल कर्णले अब महानगरपालिकाले कुन घरको अवस्था कस्तो छ भन्ने सजिलै थाहा पाउने बताए । ‘महानगरमा बसोबास गर्दै आएका प्रत्येक घरधुरीको सोसियो ईकोनोमिक अवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । कति महिला छन्, कति पुरुष छन्, अपाङ्गता भएका व्यक्तिहरुको कति छन् ? सहजै पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘घर बहालमा छ कि छैन, पसल राखिएको छ कि छैन, कति कर लिने सबै कुरा यसैमा जोड्न सकिन्छ ।’

उनले घर कति स्क्वायर फुटको छ, जग्गा घरको मूल्य कति छ जस्ता घरको सम्पूर्ण विवरण यसैसँग जोड्ने तयारी भइरहेको जानकारी दिए ।

रोडको नामाकरण नहुँदा समस्या

सडकको नामाकरण नहुँदा नम्बरिङमा समस्या भएको महानगरपालिकाले जनाएको छ । नयाँ बनेका सडकहरुको नामाकरण हुन सकेको छैन । सडकको म्यापिङ पछि घरको नम्बरिङ गरिन्छ । तर, अधिकांश वडामा नयाँ बनेका सडकहरुको नामाकरण हुन सकेको छैन । त्यसले गर्दा केही समस्या भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।

वडा कार्यालयहरुले सडकको नामाकरण गरेर नपठाउँदा समस्या भएको महानगरपालिकाको भनाइ छ ।

दस्तुरमा अल्झियो नम्बर प्लेट

२५ हजार भन्दा बढी घरधुरीको नम्बरिङ सम्पन्न भईसकेको भएपनि दस्तुर निर्धारण हुन नसक्दा नम्बर टाँस्ने काम अघि बढ्न सकेको छैन ।

महानगरपालिकाले नम्बर प्लेटका लागि घरधनीसँग ५ सय रुपैयाँ लिने तयारी गरेपनि वडा अध्यक्षहरुले मानेका छैनन् । उनीहरुले नम्बर प्लेट महानगरपालिकाले नै बनाएर दिनुपर्ने अडान राखेका छन् ।

नागरिकले महानगरपालिकालाई चर्को दरमा कर तिरिरहेकोले विभिन्न नाममा रकम अशुल्नु उचित नहुने तर्क उनीहरुको छ । महानगरपालिकाले आधाआधा गर्ने बारे छलफल चलाए पनि टुंगोमा पुग्न सकेको छैन ।

वीरगञ्ज वडा नं ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले नम्बर प्लेट महानगरपालिकाले जनतालाई निशुल्क दिनुपर्ने बताए । ‘स्थानीय तह भएपछि कर पनि बढाएर लिएका छौं, नम्बर प्लेटका लागि पनि पैसा लिने, सरसफाइका लागि पनि पैसा लिने कुरा सुहाउँदैन ।’ उनले भने, ‘हामी जनप्रतिनिधि जनताको सेवाका लागि आएका छौं, सबै कुरामा पैसा मात्रै हेरेर हुन्न, महानगरपालिकाले निःशुल्क दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment