Comments Add Comment

नेपाललाई दिने ‘स्काई ट्रक’ किन्न अमेरिकाले गर्‍यो सम्झौता

Photo Credit : विकिपिडिया । एम २८ स्काई ट्रक

१९ फागुन, काठमाडौं । नेपाललाई ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको तीन वर्षपछि अमेरिकी रक्षा मन्त्रालयले दुई विमान खरिद प्रक्रिया सुरु गरेको छ । २०७२ वैशाखको भूकम्पपछि अमेरिकी सेनाले ‘फरेन मिलिट्री एड’ अन्तर्गत नेपाली सेनालाई ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो ।

तर, अहिलेसम्म उपलब्ध गराएको छैन । शुक्रबार मात्र अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक)सँग दुई नयाँ एम २८ स्काइट्रक विमानको लागि खरिद सम्झौता गरेको छ ।

दुई चरणमा गरेर नेपाललाई ४ वटा विमान पठाउने अमेरिकी रक्षा मन्त्रालयको तयारी छ । यो पहिलो चरणको सहायता हो ।

दुई विमानको खरिदका लागि एक करोड ८० लाख डलरको वैदेशिक सैन्य विक्री (एफएमएस) सम्झौता भएको जनाइएको छ ।

सम्झौता अन्तरगत व्यवसायिकरुपमा निर्मित दुई नयाँ एम२८ ब्लक ०५ बिमान कम्पनीले अमेरिकालाई उपलब्ध गराउने छ । बिमानसँगै मर्मत–सम्भार तालिम, प्राविधिक प्रकाशन र जनशक्ति कम्पनीले नेपालमा पठाइनेछ ।

सबैभन्दा ठूलो विमान उत्पादक कम्पनीसँग भएको सम्झौता बमोजिम कम्पनीले २० डिसेम्बरसम्म विमानहरु अमेरिकी रक्षा मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकाल ४ वटा विमान आउने घोषणा भए पनि कहिलेसम्म आइपुग्छ भन्ने बताउन नसकिने बताउँछन् । ‘हाल हामीसँग रहेका ‘स्काई ट्रक’कै क्षमताका विमान आउन लागेका हुन्’, उनले अनलाइनखबरसँग भने ।

के हो स्काई ट्रक ?

यातायात र पैदलबाट समेत कठिन स्थानमा हवाई सेवाको माध्यमबाट अत्यावश्यक वस्तु ढुवानी गर्ने जहाजलाई ‘स्काई ट्रक’ भनिन्छ । यसलाई कार्गो विमान पनि भन्ने गरिन्छ । हाल नेपाली सेनासँग पोल्याण्डमै बनेको एम २८ ‘स्काई ट्रक’ पनि छ ।

यसअघि तीन वटा ‘स्काई ट्रक’ भए पनि अहिले एउटा मात्रै चालू अवस्थामा छ । ती ‘स्काई ट्रक’ले मुस्ताङ, मनाङ, जुम्ला लगायतका हिमाली जिल्लामा विभिन्न सामग्री लिएर उडान गरेका छन् । ढुवानीका अलवा विशिष्ट पाहुना बोक्न पनि यो जहाज प्रयोग हुने गर्छ ।

डबल इञ्जिन भएको यो जहाजको सिट क्षमता १८ जनाको रहेको सैनिक मुख्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment