Comments Add Comment

सन्दीप र सीता वर्षकै उत्कृष्ट क्रिकेटर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने वर्षकै उत्कृष्ट पुरुष क्रिकेटर र सीता राना मगर वर्षकै उत्कृष्ट महिला क्रिकेटर बनेका छन् ।

क्रिकेट खेलाडी संघ (सिप्यान) ले दिएको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ र सीताले ६६ हजार रुपैयाँ पुरस्कार पाए ।

अवार्डका लागि सन्दीपले कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे । सीताले कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

नेपाली क्रिकेट चम्काउने सन्दीप

राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुवुदु दासानायकेले एकैछिन परखेर चितवन क्याम्पाचौरबाट राष्ट्रिय टिमसम्मको बाटो देखाएका सन्दीप लामिछाने त्यसपछि पछाडि फर्कनु परेको छैन ।

सन् २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियाविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सन्दीप त्यसपछि टिममा नियमित छन् । एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले नेपाली क्रिकेटलाई नै नयाँ उचाईमा पुर्‍याएका छन् ।

सन्दीपले केही दिनअघि मात्रै यूएईसँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा शानदार प्रदर्शन गरेका थिए । नेपालले १ सय ४५ रनको जित निकाल्दा उनले ४ ओभर बलिङ गर्दै एक मेडनसहित २४ रन खर्चेर ४ विकेट लिएका थिए ।

सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट खेलेका ३२ खेलमा ८४ विकेट लिएका छन् । जसमा वान डेमा ५५ विकेट रहेको छ भने टी–२० मा २९ विकेट रहेको छ ।

सन्दीपले गएको वर्ष पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० लिगहरुमा आफ्नो उपस्थिति फैलाउँदै गए ।

उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० क्रिकेट लिगसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले खेलेका प्रतियोगिताहरुमा पनि उत्कृष्ट खेल देखाइरहेका छन् ।

गएको वर्ष आईपीएल खेलेपछि उनले क्यानडामा भएको ग्लोबल टी–२०, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, युएई टी–१० क्रिकेट लिग, बिस ब्यास लिग र बंगलादेश प्रिमियर लिग खेले । अहिले उनी युएईमा भइरहेको पाकिस्तान सुपर लिगका छन् । पाकिस्तान सुपर लिगपछि सन्दीप पुनः इन्डियन प्रिमियर लिगका लागि भारत जाने छन् ।

मंगलबार अवार्ड वितरण समारोहमा उनी सहभागी भएनन् । उनको अवार्ड नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले ग्रहण गरे ।

सीताको उत्कृष्ट समय

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम लामो समयदेखि खेलविहीन बनिरहेका बेला भर्खरै दुई प्रतियोगितामा भने महत्वपूर्ण उपस्थिति देखाउन सक्यो । त्यसमा उपकप्तान सीता राना मगरको भूमिका महत्वपूर्ण छ ।

अवार्ड लिँदै सीता रानामगर ।

सीताले थाइल्याण्डमा भएको विश्वकपको एसिया छनोटमा उपविजेता बन्दा र त्यसअघि थाइल्याण्डमा नै भएको महिला टी–२० स्म्यासमा अलराउण्ड खेल देखाएर अवार्ड जितेकी हुन् ।

देब्रे हाते मिडियम फास्ट बलर र देब्रे हाते ब्याट्सम्यान सीताले राष्ट्रिय महिला टिमले पाएका हरेक अवसरमा राम्रो गर्दै आइरहेकी छिन् ।

२०१४ को एसियन गेममा भएको महिला क्रिकेट र २०१६ मा भएको महिला टी–२० एसिया कप हुँदै अघि बढेकी सीता पछिल्लो पटक थाइल्याण्डमा नै चम्किएकी हुन् ।

विश्वकपको एसिया छनोटमा खेलेका ६ खेलमा सीताले ८ विकेट लिएकी थिइन् । जसमा उनको इकोनोमी रेट ३.५९ मात्र रहेको थियो । ब्याटिङतर्फ उनले ६३.११ को स्ट्राइक रेटमा ७७ रन बनाएकी थिइन् ।

त्यसअघि महिला टी–२० स्म्यासमा उनले ५ इनिङमा ७८.८५ को स्ट्राइकर रेटमा १ सय ३८ रन बनाएकी थिइन् । बलिङतर्फ उनले ६ इनिङमा ४ विकेट लिएकी थिइन् । जसमा उनको इकोनोमी रेट ३.४४ रहेको थियो ।

अन्य अवार्डमा कसलाई के ?

एनसीसीएस सिप्यान अवार्डमा नेपाली क्रिकेटमा लामो समय बिताएका पूर्व खेलाडी कोमल पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डमार्फत सम्मानित गरियो । उनले ६६ हजार रुपैयाँसहित सम्मान पाएका हुन् ।

अवार्ड लिँदै कोमल पाण्डे ।

राष्ट्रिय टिमका युवा खेलाडी रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जिते । अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछि पारेका उनले ६६ हजार रुपैयाँ पुरस्कार पाए ।

अवार्ड लिँदै रोहितकुमार पौडेल ।

यस्तै मोमेन्ट अफ दि इयरको अवार्ड करण केसीले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाविरुद्ध खेलेको इनिङले जितेको छ । डिभिजन टू को निर्णायक खेलमा एक विकेटले खेल जिताउँदा करणले ३१ बलमा ४२ रन बनाएका थिए ।

अवार्ड लिँदै करण केसी ।

गएको वर्षका उत्कृष्ट विभिन्न १० क्षणहरुमा अनलाइन भोटिङका आधारमा करणको इनिङ उत्कृष्ट ठहरिएको हो । जसवापत उनले ६६ हजार रुपैयाँ पुरस्कार पाए ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment