Comments Add Comment

तराईका २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

२१ फागुन, काठमाडौं । तराईमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । ‘हेल्दी नेपाल कम्युनिटी फाउण्डेसन’ले तराईका ९ जिल्लामा गरेको अध्ययनमा करिव २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको हो ।

फाउण्डेसनले सन् २०१६ देखि २०१८ सम्म तराईका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासी जिल्लाका ४५ हजार महिलाको अध्ययन गरेको थियो ।

४५ हजार महिलामध्ये ३४ हजार ९ सय ६० को पाठेघर खस्ने समस्या पहिलो स्टेजमा रहेको पाइएको फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनले ९ वटै जिल्लामा पाठेघर खस्ने समस्या निराकरणका लागि निशुल्क स्वास्थ्य सिविरहरु सञ्चालन गरेर १० हजार ८ सय महिलालाई औषधी र पाठेघर खस्न रोक्ने रिङ पेसरी उपलब्ध गराएको थियो । त्यस्तै ३ सय ६० जनाको पाठेघरको शल्यक्रिया नै गरिएको थियो ।

तराईका पिछडिएका समुदाय, अल्पसंख्यक, सिमान्तकृत, मुस्लिम, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलामा पाठेघर खस्ने समस्या विकराल रहेको पाइएको अध्ययनमा संलग्न फाउण्डेसनकी कार्यक्रम संयोजक डा. सदीक्षा गिरीले बताइन् ।
उनका अनुसार तराईमा ब्याप्त बाल विवाह, जन्मान्तर थोरै राखिनु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीका कारण यो समस्या बढेको हो ।

‘यसभन्दा पनि महत्वपूर्ण कुरा लाजका कारण रोग लुकाएर बसेका महिलाको संख्या ठूलो छ । उनीहरु सामाजिक अपहेलनाका हुने भयले उपचारमा नआउदा समस्या अझ बिकराल र उनीहरुका कथा दर्दानक छन्’ उनले भनिन् ।

सरकारले पाठेघरको निशुल्क जाँच र बेला बेलामा शल्यक्रिया गर्ने कार्यक्रम ल्याउने गरेको भए पनि सीमान्तकृत, पिछडिएका र गरिवीको चपेटामा परेका समुदायसम्म यसको सेवा नपुगेको फाउण्डेसनको भनाइ छ । यो कार्यक्रम सम्पन्न गर्न फाउण्डेसनले ९ जिल्लाका ९ वटा अस्पतालहरुसँग सहकार्य गरेको थियो ।

भारत सरकार, भारतीय राजदूतावासले महिला सशक्तिकरणका लागि तीन बर्षमा तीन चरणमा सम्पन्न गरेको यो परियोजनाको कुल अनुदान रकम ४ करोड ९४ लाख ७० हजार ८ सय ४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment