Comments Add Comment

पोखराका प्याराग्लाइडिङ दर्ता गर्न एक हप्ता समय थप

२२ फागुन, पोखरा । पोखरा महानगरपालिकाले विना दर्ता सञ्चालन हुँदै आएका प्याराग्लाइडिङ सेवा प्रादायकलाई दर्ता र नवीकरणका लागि एक हप्ताको समय दिएको छ ।

फागुन २२ गतेभित्र सबै प्याराग्लाइडिङ कम्पनीलाई दर्ता र नवीकरण गर्न समय दिएको महानगरले एक हप्ताको समय थप गरेको हो ।

पोखरा महानगरमा हालसम्म ५६ वटा कम्पनीले प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटामात्रै सक्रिय छन् । महानगरका अनुसार बुधबारसम्म २ वटा कम्पनीलेमात्रै कम्पनी दर्ता गरेका छन् । बाँकी ५४ भने २०७२ सालदेखि नै विना स्वीकृति सञ्चालनमा छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले प्याराग्लाइडिङ सेवा प्रदायकले एकहप्ताको समय मागेकाले समय दिएको बताए । ‘उनीहरुले १ हप्ताभित्र ४ वर्षकै राजश्व तिर्ने र दर्ता, नवीकरण गर्ने सहमति गरेका छन्,’ उनले भने, ‘दिएको समयमा फेरि पनि अटेरी गरे कम्पनी बन्द गरिदिन्छौं ।’

महानगरले प्रति प्याराग्लाइडिङ कम्पनी वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख रुपैयाँ पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले यसअघि पटकपटक व्यवसायीलाई पत्राचार गर्दा पनि उनीहरुले अटेरी गरेको बताएको छ । ‘हामीले वडामार्फत पटकपटक वार्ता पनि गर्‍यौं । पत्राचार पनि गर्‍यौं । तर उहाँहरुले मान्नुभएन,’ पौडेलले भने ।

बुधबारदेखि अनुमति नपाएको प्याराग्लाइडिङ उडान रोक्न महानगरले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश पर्यटन मन्त्रालयमा पत्राचार गरिसकेको थियो । तर, व्यवसायीको आग्रहमा महानगरले अर्को बुधबारसम्मको म्याद थपेको छ । ‘एकहप्तापछि दर्ता र नवीकरणमा नआए ५ वटै नाकामा प्रहरी बसेर उडान रोक्नेछन्,’ राजश्व शाखा प्रमुख रोमनाथ उपाध्यायले भने ।

महानगरका अनुसार कम्पनीहरुले पहिले तत्कालीन गाउँ विकास समितिलाई राजश्व तिरिरहेका थिए । ‘गाविस महानगरमा गाभिएपछि नै उनीहरुले मनोमानी गरेको पाइएको छ,’ उपाध्यायले भने ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ मा झारेका हौं,’ प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले भने ।

पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले मंगलबारदेखि सोलो उडान बन्द गरेको छ । सोलो प्याराग्लाइडरले नियमभन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै प्राधिकरणले उडान बन्द गरेको हो ।

प्राधिकरणले सोलो उडानका बेला दुर्घटना भएको भन्दै फ्रन्टियर्स प्याराग्लाइडिङ र ब्लु स्काई प्याराग्लाइडिङको उडान अनुमतिसमेत रद्द गरिदिएको छ । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment