Comments Add Comment

अवैध प्रतियोगिताले पोखरामा एकपछि अर्को प्याराग्लाइडिङ दुर्घटना

सोलो उडान बन्द गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय

Photo Credit : आइतबार प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका रोमानियाका पर्यटक ।

२१ फागुन, पोखरा । मंगलबार विहानै प्याराग्लाइडिङ दुर्घटना भयो, रसिएन नागरिकको मृत्यु भयो ।

आइतबार र सोमबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको थियो । यो तीन दिनमा तीन दिनमा ४ प्याराग्लाडिङ दुर्घटना भयो । २ जनाको ज्यान गयो, २ घाइते भए ।

सबै दुर्घटनामा दुई समानता छन्, विदेशी नागरिक प्याराग्लाइडर र सोलो उडान ।

किन एकपछि अर्को प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ त ? मौसम खराब थियो ? व्यवसायी वा प्याराग्लाइडरको लापरबाही ? नागरिक उड्डयन प्राविधिकरण बेखबर छ । नेपाल हवाइ खेलकुद संस्था (ना) सँग पनि प्रष्ट जवाफ छैन ।

यसको जवाफ खोज्ने क्रममा एउटा तथ्य भेटियो, पछिल्लो १० दिनमा २१६ विदेशी नागरिकले सोला प्याराग्लाइडिङका लागि उड्डयन प्राधिकरणबाट अनुमति लिएका छन् ।

प्याराग्लाइडिङ कम्पनीको सिफारिसका आधारमा प्राधिकरणले सोलो प्याराग्लाइडिङको अनुमति दिन्छ । पछिल्लो १० दिनमा १२ कम्पनीमार्फत सवा २ सय जनाले अनुमति लिएका हुन् । सबैभन्दा बढी फोन टायर्स प्याराग्लाइडिङ कम्पनीको सिफारिसमा ७८ जना विदेशीले परमिट लिएका छन् भने ब्लु स्काई प्याराग्लाइडिङ कम्प्नीमार्फत ६७ जनाले परमिट लिएका छन् ।

जम्मा १० दिनमा २१६ विदेशी नागरिकको सोला प्याराग्लाइडिङ आफैंमा अनपेक्षित तथ्यांक हो ।

त्यसो भए किन आए त यति धेरै सोलो प्याराग्लाइडर ? यसको जवाफ खोज्दा खुल्यो, अवैध रुपमा भइरहेको ‘ओपन हिमालयन’ प्याराग्लाइडिङ च्याम्पियनसीप ।

स्रोतका अनुसार कम्पनीमार्फत सोलो परमिट लिएर प्याराग्लाइडरले रसियन च्याम्पियनशीप गरिरहेका छन् । एक प्याराग्लाइडर भन्छन्, ‘पोखरामा रसियन च्याम्पियनसीप चलिरहेको छ । त्यसैमा भाग लिनका लागि उनीहरु आएका हुन् ।’

पोखरा हवाई खेलकुद संस्था ‘ना’का अध्यक्ष योगेश भट्टराईको भनाइले पनि यसलाई पुष्टि गर्छ ।‘आधाकारिक होइनन् । साथीभाइ मिलेर च्याम्पियनसीप गरेको बुझिएको छ,’ उनले भने । तर, यसबारे उड्डयन प्राधिकरणलाई जानकारी छैन । जबकी च्याम्पियन गर्न सरकारका सम्बन्धित निकायसँग अनुमति लिनुपर्छ ।

प्याराग्लाइडरले अवैध च्याम्पियनसीप मात्र गरेका छैनन्, नागरिक उड्डयन प्राधिकरणले तोकेको ठाउँभन्दा बाहिर पनि उडान भरिरहेका छन् । सोमबार दुर्घटनामा परेका रसियन प्याराप्लाइडरले पनि मादी क्षेत्रबाट उडान भरेका थिए । जबकि सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट मात्रै उडान भर्ने अनुमति छ ।

सोलो पाइलटलाई विदेशको लाइसेन्सका आधारमा कम्पनीले सिफारिस गरिदिएपछि परमिट दिन्छ । तर, यहाँको भूगोल र हावापानीका बारेमा भने अभ्यास नगरी, नबुझिकन उडान भर्दा दुर्घटना हुने गरेको व्यवसायी बताउँछन् ।

ना का अध्यक्ष भट्टराई भने यसबारे उड्ययन प्राधिकरणले चासो राख्नुपर्ने बताए । यसका लागि जीपीएस ट्रयापिङको व्यवस्था हुनुपर्ने व्यवसायीहरुको माग छ ।

प्राधिकरण अन्योलमा, व्यवसायीको लापरबाही

उड्डयन प्राधिकरणलाई सोमबार अनुमति नभएको क्षेत्रमा उडान भरेको जानकारी नै छैन । न तसोमबार ज्यान जाने विदेशी नागरिकबारे पूर्ण विवरण नै छ ।

‘प्याराग्लाइडिङ कम्पनीको सिफारिसमार्फत परमिट जारी हुन्छ । तर, उनीहरुले कहाँ कसरी उडाउँछन् । केके गरिरहेका छन् भन्ने जानकारी पाउनै गाह्रो छ,’ प्राधिकरण प्रमुख भोलाप्रसाद गुरागाईंले भने, ‘हामीलाई व्यवसायी र प्रहरीले जानकारी दिने हो तर, सोमबारको घटनाको विस्तृत अझै जानकारी छैन ।’

साथै सोलो परमिट लिएर उनीहरुले के गरिरहेका छन् भन्ने जानकारी नभएको गुरागाईंले बताए । प्राधिकरणले कम्पनीको सिफारिसका आधारमा ५ हजार रुपैयाँ शुल्क लिएर सोलो उडानका लागि १५ दिनको परमिट दिने गरेको छ ।

अब सोलो उडान बन्द

लगातार चार सोलो उडान दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरण पोखराले मंगलबारदेखि सोलो उडान बन्द गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘सोलो पाइलटले तोकिएको एयर स्पेस र सर्त बमोजिम उडान नगरेको पाइएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्म सोलो उडान बन्द हुने छन् ।’

थप जनधनको क्षति हुननदिन केही दिनलाई उडान रोकिएको प्राधिकरणका प्रमुख भोला गुरागाइँले जानकारी दिए । सोलो उडान अनुमति लिइसकेका स्वदेशी एवं विदेशी पाइलटलाई पनि मंगलबारबाटै प्याराग्लाइडिङ उडाउन रोक लगाइएको छ । १० दिन यता सोलो परमिट लिएका २ सय १६ जना विदेशीमध्ये अधिकांश परमिट अवधि अझै बाँकी छ । तर, उनीहरुले उड्न भने पाउने छैनन् ।

२२ वर्षदेखि उडान, १५ को मृत्यु

प्याराग्लाइडिङका लागि पोखरेली आकास विश्वकै चर्चित मानिन्छ । करिब २२ वर्ष पहिले परीक्षणपश्चात व्यावसायिक उडान भएको थियो । अनुकुल मौसममा दैनिक करिब ४ सय जनासम्म र वर्षमा २ लाख जनाले अनुमान व्यवसायीहरुको छ ।

यही आकाशमा उड्दाउड्दै १५ जनाले ज्यान गुमाएका छन् तर, आधिकारिक तथ्यांक अनुमति दिने नागरिक उड्डयन प्राधिकरण र प्रहरी दुबैसँग छैन ।

प्याराग्लाइडिङ उडान अवतरण ठाउँको अभाव र सोलो उडानका लागि व्यवसायीले अनुमति दिने भएकाले दुर्घटना हुने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) बताउँछ । सोलो (व्यक्तिगत) उडानका लागि मान्द्रेढुंगा छुट्याइएको छ प्याराग्लाइडरहरुका रोजाइ सराङकोट पर्छ । प्रभावकारी नियम तथा अनुगमन नहुँदा साहसिक खेल जोखिमयुक्त बन्दै गएको सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment