Comments Add Comment

छाउपडी प्रथाका विषयमा संसदमा जरुरी महत्वको प्रस्ताव

२२ फागुन, काठमाडौं । छाउपडी प्रथा अन्त्यका लागि बुधबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा सांसद विन्दा पाण्डेले छाउपडी प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण सुत्केरी तथा महिनावारी भएका महिलाहरुले अपमान र अमानवीय व्यवहार सहँदै आउनुपरेको उनले बताइन् ।

बर्षेनी बलात्कार, हिंसाको शिकार हुनुपरेको, फौजदारी कानुन बनेर कार्यान्वयनमा आइसक्दा पनि कुसंस्कारको अन्त्य भएको छैन’, सांसद पाण्डेले भनिन्, ‘उक्त रुढिवादी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भएकाले यो प्रस्ताव ल्याएकी हुँ ।’

मे २८ मा मर्यादित महिनावारी दिवस मनाउने विषयमा पनि सोच्नुपर्ने उनको भनाइ छ ।

सांसद पाण्डेको प्रस्तावमा समर्थन जनाउँदै सांसद रंगमती शाहीले आफू छाउ (छुइ खुला) ८÷१० बर्ष बसेर आएको बताइन् । ‘महिनाको १४ दिन म छुई खुलामा बस्थेँ । सात दिन आफ्नो पालामा बस्थेँ भने, सात दिन मलाई कुर्ने साथीको लागि बस्थेँ’ उनले अगाडि भनिन् ।

छाउगोडमा बस्दा त्यहीँबाट तानेर लगी जबरजस्ती विवाह गर्ने चलन रहेको पनि उनले सुनाइन् । छाउ बार्न खुला ठाउँमा बस्दा हिउँ पर्ने, सर्पले टोक्ने, बाघ भालुले आक्रमण गर्ने डर हुने उल्लेख गर्दै सांसद शाहीले यो कुसंस्कारलाई अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

अर्का समर्थक सांसद नरबहादुर धामीले साविकको महाकाली अञ्चलमा छाउ प्रथा अझै व्यापक रहेको बताए । छाउगोठ भत्काए पनि महिनावारी हुँदा घरकै कुनै छेउ वा छुट्टै घर राख्ने प्रचलन रहेको भन्दै उनले रहेका कानुन नै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सांसद पाण्डेको प्रस्तावमा समर्थन जनाउँदै सांसद लालबहादुर थापाले विज्ञान र प्रविधिको २१ औं शताब्दिमा पनि नेपाली समाजमा यो वा त्यो नाममा महिलाहरु पीडित भइरहेको बताए । अन्धविश्वास र कुप्रथा र कुसंस्कारबाट समाजलाई मुक्त नगरेसम्म स्वस्थ मर्यादित राज्यको कल्पना गर्न नसकिने उनले बताए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रेखा शर्माले सबै खाले विभेदको अन्त्य गर्ने कुरा संविधानमै उल्लेख भए पनि सामाजिक चेतनामा परिवर्तन आउन नसक्दा छाउपडी, बोक्सी जस्था कुप्रथा र अन्धविश्वासमा महिलाहरु पीडित हुनुपरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment