Comments Add Comment

बुटवलमा सुरक्षित मातृत्व : सुत्केरी र गर्भवती श्रमिकलाई पौष्टिक आहार

२३ फागुन, बुटवल । स्थानीय तहहरुबीच कसले नौलो र राम्रो कार्यक्रम गरेर लोकप्रिय हुने भन्ने होडबाजी रुपन्देहीमा अलि बढी नै छ । यहाँका बुटवल उपमहानगर तथा तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाबीच नौला र राम्रा कार्यक्रम अघि सार्ने प्रतिस्पर्धा चलेको छ ।

तिलोत्तमा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विद्यार्थीलाई दिवा खाजा, प्रधानाध्यापक करारमा र विद्यालयहरुमा एउटै कलर कोड गरेको छ ।

यस्तै प्लास्टिक निषेध, समुदायको सहभागितामा सरसफाइ कार्यक्रम, गहुँमा अनुदान र मकै पकेट क्षेत्र घोषणा गरेको छ ।

नगरप्रमुखले पाँच वर्षकै तलब सामुदायिक विद्यालयका विपन्न छात्रछात्रालाई छात्रवृत्तिमा खर्च गरिरहेका छन् ।

देवदहले पशुको नश्ल सुधारमा अनुदान र नगरभरिका सरकारी र नीजि विद्यालयमा बौद्ध पाठ्यक्रम बनाएर लागू गरेको छ ।

सैनामैनाले घरबारविहीनलाई घर बनाइदिएर नमूना वस्ती बसाउने घोषणा गरेको छ । बुटवल उपमहानगरले मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सुरक्षित मातृत्व अभियान शुरु गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुटवल-११ बुद्धनगरका श्रमिक महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै शुरु भएको यो कार्यक्रम उपमहानगरभरी नै सञ्चालन हुने छ ।

पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलाहरुलाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान सुरु गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उप-महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ । ‘उप-प्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शीर्षकमा शुरु भएको यो अभियानलाई उपमहानगर मातहतका शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमार्फत १९ वटै वडाहरुमा विस्तार गरिने उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

बिहीबार बुटवल-११, बुद्धनगरमा सुत्केरी भएकी श्रमिक महिला लक्ष्मी कुवँर, मनिषा परियारलाई पौष्टिक आहार तथा क्याल्सियम, आइरनलगायत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गरे ।

त्यसअवसरमा प्रमुख सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउने गरि नगरका सबै स्वास्थ्य केन्द्रहरुमा विशेष निर्देशन गरिएको बताए ।

उपप्रमुख तथा लैंगिक हिंसामुक्त नगर अभियानका संयोजक गुमादेवी आचार्यले कमजोर स्थिति भएकै कारण महिलालाई कसैले होच्याउने वा जोखिमपूर्ण व्यवहार गर्न नपाउने गरि विशेष नियमसमेत बनाउन लागिएको बताइन् ।

खासगरी श्रमिक महिलाहरुलाई आवश्यकता अनुसारको उचित हेरचाह तथा भेदभावरहित व्यवहार र सेवाका लागि अभियान चलाइएको उनको भनाइ छ । यो कार्यक्रमका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्मानजनक मातृत्वका महत्वपूर्ण विषय स्वास्थ्य सेवा प्रदायकको तालिम पाठ्यक्रममा समावेश गर्नेबारेमा समेत अहिले विभिन्न तहमा छलफल चलिरहेको उपप्रमुख आचार्यले बताइन् ।

शुभारम्भकै दिन चार जना सुत्केरी महिला र ४८ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार र औषधि वितरण गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।

नगरमा रहेका नगर स्वास्थ्य केन्द्र तथा अरु स्वास्थ्य संस्थाहरुमा सम्मानजनक प्रसूति सेवा प्रदान गर्नेगरि स्वास्थ्य सेवा प्रदायकलाईर् तालिम र परामर्श दिने अभियानसमेत शुरु गरिएको सिग्देलले बताए ।

यसअघि बुटवलले घरको नक्सा बनाउने नगरवासीलाई सुपथ दरमा नगरपालिकाबाटै आफ्नै इन्जिनियरहरुबाट नक्सा बनाइदिने सुविधा दिन शुरु गरेको थियो ।

यस्तै जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य उपचार गर्ने कार्यक्रम पनि बुटवलले अघि सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment