Comments Add Comment

आर्थिक समृद्धिको अभियानमा पुँजी र प्रविधिको अभाव भयो : उद्योगमन्त्री यादव

२३ फागुन,काठमाडौं । उद्योगमन्त्री मातृकाप्रसाद यादवले आर्थिक समृद्धिको अभियानमा पुँजी र प्रविधिको अभाव भएको बताएका छन ।

‘पुँजी र प्रविधिको प्रयोगविना हामी हाम्रो समृद्धिको उदेश्य प्राप्त गर्न सक्दैनाैं’, शुक्रवार प्रतिनिधि सभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘तर, हामीसँग दुबैको अभाव छ । त्यसकारण यो विधेयक ल्याइएको हो ।’

छलफलका सांसदहरुले नेपालको राष्ट्रिय सुरक्षा, अर्थतन्त्रको सुरक्षा, धर्म संस्कृतिका कुरामा विदेशी लगानी ल्याउँदै गर्दा प्रभाव पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

जवाफमा मन्त्री यादवले नेपालको सुरक्षा गर्नुपर्ने र विदेशी लगानी पनि आवश्यक परेकाले कतिपय अवस्थामा चिन्ता उठ्नु स्वभाविक भएको उल्लेख गर्दै त्यसप्रति सरकार सचेत रहेको बताए ।

कृषि, लघु, घरेलु उद्योगमा विदेशी लगानी खुला गर्ने गरी विधेयक आएको भन्दै सैद्धान्तिक छलफलमा भाग लिने अधिकांस सांसले विरोध गरेका थिए । जवाफमा उनले भने, ‘कृषि, लघु, घरेलु उद्योगमा विदेशी लगानी खुला गर्ने/नर्गर्ने विषय उठेको छ । यो संसदको अधिकार हो । संशोधन गर्न सक्नुहुन्छ । सरकारले ल्यायो । अव संसदबाट पारित भएर गएको कुरा कार्यान्वयन गर्छ ।’

विधेयकमा सत्तारुढ सांसदकै विरोध

सरकारले ल्याएको विधेयकमा सत्तारुढ नेकपाकै सांसदहरुले विरोध गरेका छन ।

उद्योगमन्त्री यादवले पेश गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरुले साना, मझौला तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताए ।

नेकपाका सांसद भिम रावलले विधेयकले मौलिक उत्पादन र सिपलाई सुरक्षित राख्न नसक्ने भन्दै विरोध गरे । ‘हरेक राष्ट्रले आफ्नो मौलिक उत्पादन र सिपलाई सुरक्षित राख्छ’, सांसद रावलले भने, ‘यहाँ त पहिले भएका कुरालाई पनि हटाइयो ।’

विधेयकको दफा ३ को उपदफा २ बमोजिम कुखुरा पालन,कपाल काट्ने,सिलाई, ड्राइभिङमा विदेशी लगानी गर्न नपाइने उल्लेख छ । तर, लागू उद्योग, साना काठ उद्योग, घरेलु उद्योग, कृषिमा फलफुल खेली, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, जस्ता क्षेत्रमा विदेशी लगानी खुला गरिएको छ ।

‘र हाम्रो सुरक्षा मुद्रणको कुरा छ । राष्ट्रिय सुरक्षा सम्बन्धी सेवाहरु छन । यी कुराहरु किँन हटाइयो ?’ सांसद रावलले थपे, ‘तत्कालीन रुपमा नीजिकरण र उदारीकरणको नाममा आएको कुरामा… म हामीले जुन ठाउँमा उभिएको छु । यो पार्टीको तर्फबाट कुरा गर्दा हामीले के भनेका थियौं ? त्यसको स्मरण गर्नु राम्रै हुन्छ भन्ने लाग्छ ।’

नेकपाकै सांसद देव गुरुङले राष्ट्रिय औधोगिक पुँजीलाई केन्द्रविन्दुमा राखेर विधेयक आउन नसकेको बताए । ‘राष्ट्रिय औधोगिक पुँजीलाई केन्द्रविन्दुमा राख्नुपर्छ तर, यो विधेयक त्यो ढङ्गले आएको छैन’, उनले थपे, ‘ एकाधिकार दलाल पुँजीवादको विकासले राष्ट्रको विकास हुन सक्दैन । र सरकारले साना र घरेलु जस्ता नेपालका मौलिक उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।’

नेकपाका सांसद कृष्ण भक्त पोख्रेलले पनि विधेयकले साना तथा मझौला उद्योगमा विदेशी लगानि खुला गरेको भन्दै असन्तुष्टी जनाए । ‘साना तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्नु हुन्न’, उनले भने, ‘कुखुरा पालनलाई मात्रै सेफ गरेर हुन्न ।

भाषिक परामर्श केन्द्र, पशुपालन, मत्स्य पालन जस्ता क्षेत्रमा नेपालीकै मात्र लगानी हुनुपर्छ । नभए हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगहरु धरासायी हुनेछन ।’

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालमा सञ्चालित स्टील लगायतका उद्योगहरु बन्द भएको स्मरण गराउँदै सरकारले त्यसतर्फ ध्यान दिन सक्नुपर्ने बताए ।’अझ मझौलामा पनि विदेशी लगानी खुला गर्यौं भने थप असहजता आउन सक्छ ।’ उनले थपे ।

नेकपाका सांसद सोमप्रसाद पाण्डेले धर्म प्रचारको विषय पनि लगानीका नाममा भित्रन सक्ने भन्दै सरकार राष्ट्रिय सुरक्षामा पति सर्तन रहन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका सांसद दिव्यमणीराज भण्डारीले पनि अन्य सांसदले जस्तै साना उद्योगमा विदेशी लगानीकर्ताहरुलाई खुला गर्नु नहुने बताए ।

नेकपाका सांसद मेटमणि चौधरीले विदेशी लगानीको हकमा नाफाको केही रकम मात्र लैजानसक्ने गरी कडा व्यवस्था गर्नु आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment