Comments Add Comment

पोखरा नगर बसमा अब ‘इ-टिकेटिङ’

२३ फागुन, पोखरा । पोखरा महानगरपालिकाले अब छोटो दूरीका नगर बसमा पनि इ-टिकेटिङ प्रणाली सुरु गर्ने भएको छ । यसबाट बस व्यवसायी र यात्रु दुवैलाई सुविधा हुने महानगरको दाबी छ ।

आउँदो बैशाखबाट महानगर बसका छोटो रुटमा पनि टिकट र कार्ड सुविधासहित ‘पेपरलेस यात्रा’ लागू गर्न लागिएको हो ।

मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले एन क्लाउड नामक संस्थासँग सहकार्य गरी योजना अघि बढाइएको जानकारी दिए । ‘यो सुविधा लागू भएपछि भने यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा दुवैको बचत हुनेछ,’ उनले भने, ‘यसमा यात्रु ठगिने सम्भावना पनि न्यून हुन्छ ।’

एन क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले पहिलो चरणमा महानगर बसमा इटिकेटिङ लागू गर्ने र त्यसपछि टयाक्सी र अन्य सार्वजनिक बसमा विस्तार गर्ने जानकारी दिए ।

इटिकेटिङ सुविधामा बसको सहचालकलाई एउटा उपकरण दिइएको हुन्छ । त्यही डिभाइसको सहयोगमा यात्रुले भनेको ठाउँको टिकट पाउँछन् । ‘उनीहरुले पहिले निश्चित ठाउँमा रकम जम्मा गरेको हुन्छन्, त्यसका आधारमा कार्ड पाउँछन्,’ श्रेष्ठले भने, ‘यात्रुले सजिलोका लागि कार्ड नम्बर डाइल गरे पनि हुन्छ ।’

उनले सुरुमै सबैसँग कार्ड असम्भव हुने हुँदा इटिकेटिङ नै भरपर्दो हुने बताए । उनले साझा र विभो बसका लागि कार्ड बाँड्न सुरु भइसकेको जानकारी दिए । स्वकिय सचिव तिमिल्सिनाले कार्ड प्रयोग गर्न कुनै एक बैंकसँग सहकार्य गर्ने र महानगरले निश्चित म्यादसहितको कार्ड जारी गर्ने जानकारी दिए ।

‘टिकट काटेर चढे पनि हुन्छ । तर त्यो भन्दा सजिलो उपाय बैंकको एटिएम कार्डजस्तो कार्ड वितरण गर्छौं,’ स्वकीय सचिव तिमल्सिनाले भने, ‘पछि महानगरले त्यही कार्डलाई स्मार्ट कार्डमा परिणत गर्ने योजना पनि भइरहेको छ ।’

पोखरा बस व्यवसायी समितिका महासचिव अमृत शर्माले ‘पेपरलेस यात्रा’ लागू भए व्यवसायीलाई पनि फाइदा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment