Comments Add Comment

बोर्ड बैठकमा वडा अध्यक्षहरुले पाखुरा सुर्किन थालेपछि…

२३ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको बोर्ड बैठकमा वडा अध्यक्षहरु लछारपछारमै उत्रिएका छन् । आपसी समन्वयमा स्थानीय तह सञ्चालन गर्ने जिम्मेवारी पाएका उनीहरु आपसमै लड्न तम्सिएका हुन् ।

वडाको विकासका लागि नभइ वडामा बढी बजेट पार्नका लागि वडा अध्यक्षहरु आपसमै लड्न तयार देखिएको स्थानीयको भनाइ छ ।

नगरपालिकाले बुधबार बिहान ११ बजे बोर्ड बैठक बोलाएपनि सदस्यहरु २ बजेतिर मात्रै जम्मा भएका थिए । एक घण्टाजछि छलफल भएपछि वडा अध्यक्षहरुबीच चर्काचर्की मात्रै नभएर हात हालाहालकै स्थितिमा पुगेको थियो । तनावपूर्ण अवस्था बनेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली बोर्ड बैठक स्थलमै पुगेको थियो ।

बैठकमा नगरपालिकाको विकास, स्मार्ट सिटी र शहरी विकास परियोजना लगायतका विषयमा छलफल गर्ने कार्यतालिका थियो । तर, नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा नंम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानु र फोरम नेपालको तर्फबाट निर्वाचित वडा नंम्बर ६ का अध्यक्ष सियानन्द चौहान हात हालाहालकै स्थिति सिर्जना भएपछि बैठक स्थगित भएको छ ।

बैठकमा परिस्थिति असामान्य बनेपछि स्थगित गरिएको पोखरीया नगरपालिकाका नगर प्रमुख दीप नारायण रौनियारले जानकारी दिए । तर, उनले बैठकमा चर्काचर्की मात्रै भएको बताए । ‘बैठकमा स्मार्ट सिटीलगायत अन्य विकास निर्माणका विषयमा छलफल भइरहेको थियो । आफ्नो वार्डको बाटो पीच पहिला हुनुपर्छ भनेर उहाँहरुले विवाद गर्नुभयो,’ उनले भने, ‘पछि वडाको मात्रै नभएर समग्र नगरको विकासका लागि छलफल गर्न लागिएको भनेर सम्झायौं ।’

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले सडकको विषयमा वडा अध्यक्षहरुबीच सामान्य विवाद मात्रै भएको बताए । ‘रिङ रोडको कन्सेप्ट बनाएर नगरपलिकामा सडक निर्माण गर्न लागिएको छ, आफ्नो वडामा कम काम हुने भयो भनेर केहि वडा अध्यक्षहरु रिसाउनुभएको हो,’ उनले भने, ‘ स्मार्ट सिटीका लागि शहरी भवन डिभिजन कार्यालयले एक महिनादेखि नै सर्भेको काम गरिरहेको छ । अन्य विकासका मुद्धाहरु पनि बोर्डबाट पारित गर्नुपर्ने थियो । विवादले गर्दा निर्णय हुन सकेन ।’

यसरी भयो तनाव सिर्जना

बैठकस्थलमा विवाद मात्रै नभएर धक्का धुक्की कै अवस्था सिर्जना हुनुको पछाडि विकास नभएर पैसा मुल कारण रहेको स्रोतले जनाएको छ ।

पोखरीया नगरपालिकाले १० वटै वडामा दामासाहीले ८०/८० लाख बजेट विनियोजन गरेको थियो । त्यसबाहेक नगरपालिकामा रिङ रोड बनाउने उद्देश्यले वडा नं ४ मा ६७ लाख, वडा नं ३ मा ३५ लाख गरी केहि वडामा थप बजेट विनियोजन गरिएको थियो ।

बोर्डमा छलफल नै नगरी अन्य वडामा थप बजेट दिएको भन्दै वडा नं ६ का अध्यक्ष सियानन्दले असन्तुष्टि जनाएका थिए । उनले असन्तुष्टी जनाएपछि अरुले प्रतिकार गर्न थालेपछि बैठकको माहोल विगि्रएको बैठकमा सहभागीहरु बताउँछन् ।

बैठकमा उनले नगर स्तरीय योजनाका लागि छुट्याईएको २ करोड ६० लाख बजेटको बारेमा समेत प्रश्न गरेका थिए । ‘वडामा पठाईएको ८० लाख रकम अनिवार्य पक्की नाला र ढलान सडक निर्माणका लागि खर्च गर्नुपर्ने भनिएको छ । अनि नगर स्तरीय कार्यक्रमका लागि छुट्याईएको रकम माटोपुरी ग्रेभल गर्ने कार्यमा खर्च गर्न लागिएको छ किन ?’ उनले प्रश्न गरेका थिए । त्यसको प्रतीकारमा थप बजेट पाएका वडाका अध्यक्षहरु उत्रिएका थिए ।

बजेट समानुपातिक रुपमा वितरण हुनुपर्ने र जनताको आंकाक्षालाई सम्बोधन गर्नुपर्ने भनाई वडाध्यक्षहरुले राखेपछि नगर नेतृत्वमाथि दवाब बढेको थियो ।

स्थानीय असन्तुष्ट

वडा अध्यक्षहरुले बोर्ड बैठकमा गरेको हर्कतलाई भने पोखरीया नगरबासीले रुचाएका छैनन् ।

प्रत्यक्ष बैठक स्थलमा भएको घटनालाई नदेखेपनि विभिन्न स्रोतबाट जानकारी पाएका स्थानीयले वडा अध्यक्षहरुले विकासका लागि नभई पैसाका लागि झगडा गरिरहेको आरोपल गाएका छन् ।

स्थानीय तहको सरकार आएपछि नगरको विकास हुने सोचेपनि उनीहरुको गतिविधिले त्यसमा तुसारापात हुने अवस्था आएको उनीहरुको तर्क छ ।

स्थानीय भगवान प्रसाद कुर्मीले वडा अध्यक्षहरुले आपसी समन्वयमा काम गर्नुपर्नेमा लडाई झगडा गर्नुको पछाडि आर्थिक लालच नै प्रमुख कारण रहेको बताए । ‘वडा अध्यक्षहरुले बोर्ड बैठकमा देखाएको व्यवहार एकदमै राम्रो छैन, आगामी दिनमा यस्तो घटना दोहोरिनु हुँदैन,’ उनले भने, ‘उनीहरुलाई गाउँको विकासका लागि जिताएर पठाएको तर अहिले पैसाका लागि मरिहत्ते गरिरहेका छन् ।’

नेकपाका नगर कमिटी अध्यक्ष कुर्मीले जुन वडामा जति बजेट छुट्याइएपनि नगरकै विकास हुने भएकोले त्यसको अधिकतम सदुपयोग गर्न वडा अध्यक्षहरुलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment