+
+

भारतीय समूहको प्रवेशपछि सौर्य एयरलाइन्सले थाल्यो उडान

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते १७:१८

२४ फागुन, काठमाडौं । भारतीय समूहले किनेपछि सौर्य एयरलाइन्सले पुनः उडान थालेको छ । शुक्रबार कम्पनीले भैरहवाबाट उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्कबापतको ५० लाख रुपैयाँ बक्यौता बुझाए पनि कम्पनी नियमित सेवामा फर्किएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

४ करोडभन्दा बढी बक्यौता रहँदा विमानस्थलले गत मंसिर ११ गतेदेखि सौर्यको उडान रोकेको थियो । कम्पनीले चैतको पहिलो साता ५० लाख र अरु दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको छ ।

भारतीय कम्पनी कुबेर समूहले केही नेपाली साझेदारसँग मिलेर सौर्य एयरलाइन्स किनेको हो ।

भारतीय कम्पनीले सौर्य किन्न ६३ करोड भन्दा बढी खर्चेको छ । सो समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरिद गरेको जनाइएको छ ।
यसअघि सौय एयरलाइन्स बेच्ने सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण भएको थिएन ।

दिनमा ७ वटा उडान भर्न अनुमति पाएको कम्पनीसौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिएको बताए ।

चार वर्ष अघि स्थापना भएको सौर्य एयरलाइन्समा सुरुबाटै व्यवस्थापकीय समस्या थियो । सौर्यसँग जेट इन्जिनयुक्त जहाज छन् । जसले आन्तरिक हवाई सेवा दिने अनुमति पाएको छ ।

सौर्यसँग बम्बार्डियर सिआरजे-२०० जहाज सञ्चालन योग्य अवस्थामा छ । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ ।

आर्थिक संकटमा फँसेपछि कम्पनी समस्यामा पर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?