Comments Add Comment

सिके राउतको शान्तिपूर्ण अवतरणमा पहिलो कडी थिए जयकान्त

२४ फागुन, काठमाडौं । सिके राउत लामै समय जेल बस्ने खतरा देखेपछि उनका दाजु डा.जयकान्त राउत करिब तीन महिनाअघि सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेको सम्पर्कमा पुगे ।

सरकारले विभिन्न असन्तुष्ट र सशस्त्र समूहसँग वार्ता गर्न बनाएको पाण्डे नेतृत्वको वार्ता टोलीसँग उनले औपचारिक छलफल भने गरेनन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ बैज्ञानिक समेत रहेका जयकान्तले आफ्नो भाइलाई पृथकतावादी अभियानबाट फिर्ता ल्याउन पहल गर्ने सन्देश पाण्डे मार्फत नेकपा नेतृत्व र सरकारसमक्ष पठाए ।

वास्तवमा सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउने पहिलो कडी उनकै दाजु जयकान्त थिए ।

नेकपा केन्द्रीय सदस्य तथा सांसदसमेत रहेका वार्ता टोली संयोजक पाण्डेले जयकान्तको सन्देश माथि प्रवाह गरेपछि नेकपा महासचिव बिष्णु पौडेल सक्रिय भए ।

यसबीचमा सिके राउतका दाजु जयकान्तसँग प्रधानमन्त्री केपी ओलीले बालुवाटारमै पनि वार्ता गरे । पृथकतावादी माग त्यागेमा शान्तिपूर्ण राजनीतिमा स्पेस दिने ओलीले जयकान्तलाई बताए ।

दाजुमार्फत शुरु भएको वार्तामा राउतका प्रवक्ता चन्दन सिंहलाई पछि संलग्न गराइयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल लगायत विभिन्न व्यक्ति र ‘फ्याक्टर’हरु वार्तामा संलग्न बने ।

दाजु जयकान्तले जेलमै पुगेर सिके राउतलाई सरकारको सन्देश सुनाए ।

यो पनि पढ्नुस्–सिके राउतको दाबी : मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत !

त्यसपछि सिके राउत समूहका बन्दीहरु रिहाई र मुद्दा फिर्ता लगायत कानुनी एवं प्रशासनिक सरोकार सम्बोधन गर्न गृहसचिव प्रेमकुमार राई बढी ‘इंगेज’ भएको स्रोतले जनायो । साथै अन्य सरोकारवालाहरु मन्त्रालयका सचिव र उच्च प्रशासकहरुलाई पनि यो प्रक्रियामा संलग्न गराइयो ।

शुक्रबार सिके राउतको मूलधारमा अवतरणपछि सभागृहको कुनामा भेटिएका नास्टका च्याउ विज्ञानसम्बन्धी बरिष्ठ वैज्ञानिक जयकान्तले देशमा रक्तपात हुन नदिन र बाहृय हस्तक्षेप रोक्न आफूले वार्ताको शुरुआती पहल गरेको स्वीकारे ।

सबैभन्दा पहिले आफूले सोमप्रसाद पाण्डेलाई भेटेर भाइको सन्देश सुनाएको र त्यसपछि प्रधानमन्त्रीसहित नेकपा र सरकारका उच्च अधिकारीसँग भेटेको उनले अनलाइनखबरलाई बताए ।

राउतले अनलाइनखबरसँग भने, ‘भाइ जेलमा परेपछि धेरैखाले तत्व सल्बलाए । रक्तपात गर्ने र देशलाई अप्ठेरो पार्नेखालका खतरा देखिए । ढिलो गर्दा जे पनि हुने भएकाले मैले सबैभन्दा पहिले सोम पाण्डेसँग भेटेर कुरा राखेँ । भाइलाई पनि सरकारको सन्देश पठाउँदै गरेँ । प्रधानमन्त्रीज्यूसँग भेटेपछि सबै कुरा मिल्यो ।’
जयकान्तले खुशी हुँदै भने, ‘देशको यति ठूलो काम गर्न पाएकोमा मलाई गौरव भइरहेको छ ।’

विभिन्न चरण र विभिन्न व्यक्तिहरु सामेल भएर सिके राउतसँग सहमति भए पनि प्रधानमन्त्री ओलीको अग्रसरताकै कारण पृथकतावादी राजनीतिको शान्तिपूर्ण अवतरण सम्भव भएको नेता सोमप्रसाद पाण्डेले अनलाइनबरलाई बताए ।

पाण्डेले सबैभन्दा शुरुमा सिके राउतका दाजु जयकान्त आफूसँग वार्ताको प्रस्ताव लिएर आएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment