Comments Add Comment

अरु दललाई अन्धकारमा राखेर सीके राउतसँग अपारदर्शी सम्झौता : प्रकाशमान

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको आरोप लगाएका छन् । तर, उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई राउतले स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।

शनिबार काठमाडौं नेशनल स्कुलले आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले प्रमुख राजनीतिक दल र तिनका सांसदहरुलाई थाहै नदिइ सरकारले राउतसँग गुपचुपमा सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए ।

‘दलहरुलाई कुनै जानकारी नै नदिइकन, अन्धकारमा राखेर गुपचुपमा राखेर कार्य अगाडि बढायो सरकारले,’ पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘संसदमा रहेका राष्ट्रिय दलहरुलाई पनि जानकारी दिएर यो काम गरेको भए यसको आउटकम राम्रो हुन्थ्यो ।’

राउतसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा आउनेमा उनले शंका व्यक्त गरे । ‘सरकारले अरु दललाई पनि सहमतिमा लिएर नगरेको हुनाले यो कत्तिको कार्यान्वयन हुन्छ त्यो आउँदा दिनमा थाहा होला,’ उनले भने ।

यद्यपि कांग्रेस नेतृत्वमा जारी भएको संविधानलाई स्वीकार गरेर राउत सहमतिमा आउनु राम्रो भएको उनले बताए । उनले सम्झौतामा प्रयोग भएको भाषा दोहोरो अर्थ लाग्ने खालको भएकाले नेकपाभित्रै विवाद शुरू भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment