Comments Add Comment

संविधानका धारा बदल्यौं, अब हामी पनि बदलिने कि ?

हामीकहाँ राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको इतिहास उतिधेरै लामो छैन । तर, गौरवमय छ । २००७ साल वरिपरिबाट सुरु भएको परिर्वतन र रुपान्तरणको बाटो ०७५ सम्म आइपुग्दा धेरै फराकिलो राजमार्गमा आइपुगेको छ ।

हामीकहाँको राजनीतिक आन्दोलनको इतिहास नै लामो नभएपछि नारीमुक्तिको इतिहास लामो हुने कुरै भएन । सामन्तवादले निर्माण गरेका अनेकौं विभेदपूर्ण व्यवस्था र मान्यताहरु मध्येको एक थियो नारीमाथिको उत्पीडन ।

०४६ सालको जनआन्दोलनपछि राजनीतिक पार्टीमा होस् या कुनै संघ संगठनमा, परिवारमा होस् वा कुनै सामाजिक संरचनामा विस्तारै महिलाहरुको सहभागिता सुरु भयो । तर, पर्याप्त भएन । विस्तारै नारीहरु आफ्ना अधिकारको निम्ति संगठित हुदै थिए । जब तत्कालीन नेकपा माओवादीको नेतृत्वमा माओवादी जनयुद्ध सुरु भयो, त्यसपछि नयाँ बहस मात्रै होइन, नयाँ बाटोको प्रारम्भ भयो । बन्दुक बोकेर परेड खेलिरहेका नारीहरुको दृश्य, साना नानीहरुसँगै बन्दुक बोकेर दौडिरहेका दृश्यहरुले सबैको ध्यान तान्यो । यो दृश्य नेपाली नारीमुक्ति आन्दोलनका लागि एउटा ‘टर्निङ्ग पोइन्ट’ जस्तै थियो ।

विनाआग्रह भन्ने हो भने जनयुद्धले राज्यको मूलप्रवाहमा बाहिर रहेका धेरै उपेक्षितहरुमा विद्रोह चेत पैदा मात्रै गरेन, समानताका लागि लड्ने आधारभूमिसमेत तयार पारिदियो । र, ०६२/०६३ को जनआन्दोलनसम्म आइपुग्दा यो आन्दोलन झनै फराकिलो भयो ।

जनयुद्धमा जस्तै जनआन्दोलनमा महिलाहरुको सहभागिता हस्तक्षेपकारी रह्यो । छायादेवी, रामकुमारी झाँक्रीहरु आन्दोलनका ‘आइकन’ भए । अनेकौं विभेदका स्रोत सामन्तवादबाट नेपाली समाजलाई मुक्त गराउनका लागि नारीहरुले गरेको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ ।

कुनै पुरुषले अर्को पुरुषलाई सिध्याउनका निम्ति अथवा रीस पोख्नका निम्ति महिला प्रयोग गर्ने खराब अभ्यास समाजमा छ । यदि यसलाई बेलैमा नरोकिए फेरि पनि नारीहरु प्रयोगको साधन बन्ने खतरा छ

राष्ट्रपति/उपराष्ट्रपतिदेखि स्थानीय तहका प्रमुख/उपप्रमुखसम्म नारीहरुको सहभागितालाई सुनिश्चित गरिएको छ । संविधानको यो बाध्यकारी व्यवस्थाले नारीहरुको उपस्थितिलाई थप बलियो बनाएको छ । कानुनी हिसाबले सामन्तवादले स्थापित गरेका विभेदकारी मान्यताहरुलाई हामीले फालेका छौं । भलै, पूर्ण नहुन सक्छ ।जनआन्दोलनको जगमा बनेको अन्तरिम संविधान र संविधानसभाले निर्माण गरेको संविधानले महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरेको छ । अहिले नेपाल एशियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा परेको छ । हाम्रो मुलुकले लैंगिक समानताका लागि गरेका प्रगतिहरु अन्तराष्ट्रिय मञ्चहरुमा सुनाइरहँदा हामीलाई गौरवबोध हुन्छ ।

अब हामी भन्न सक्छौं, अब कानुनीरुपमै नारीमाथि विभेदको व्यवस्था छैन । रहने छैन । तर, यति हुँदाहुँदै हामीसँग अनेकौं बहस र विषय छन् । त्यतातर्फ अब हामीले बहस गर्न जरुरी छ ।

पुरुषसँग दुश्मन करार होइन, सहयात्रा गरौं

हरेक आन्दोलन र क्रान्तिहरुको उज्यालो र अँध्यारो पाटो हुन्छ । हामीकहाँ भएका अभियान र आन्दोलनमा पनि दुबै पाटा छन् । महिला आन्दोलनमा भएका उपलब्धी त छँदैछन् । तर, पछिल्लो समयमा देखिएका समस्याको पनि बहस हामी नारीहरुले नै गर्नुपर्छ ।

पछिल्लो समयमा हामी केहीमा यस्तो मनोविज्ञानको बिकास भएको छ कि महिलावादी बन्नका लागि पुरुषविरुद्ध उभिनपर्छ । अथवा पुरुषहरुलाई दुश्मन करार गर्नु नै महिलावाद हो भन्ने मनोविज्ञान पनि विकास नभएको होइन । सामाजिक सञ्जाल र समाचारहरुमा देखिन्छ, पुरुषहरुको अन्धाधुन्ध बिरोध गर्नेहरु महिलावादी आन्दोलनको आर्दशका रुपमा प्रचार गरिएका देखिन्छन् ।

पुरुषसँगको सम्बन्धविच्छेद गरेर चर्को कुरा गर्नु महिला आन्दोलन वा महिलामुक्ति होइन भन्ने सामान्य ज्ञानलाई हामी बुझेनौं भने महिला आन्दोलनले बाटो बिराउनेछ । सार्वजनिक स्थानमा बसेर बुङ्गबुङ्ग चुरोट तान्ने, घरमा सानानानीहरुलाई छोडेर डिस्को वा कुनै त्यस्ता रमाइलोमा दौडिनेहरु महिलावादी आन्दोलनको आर्दश होइनन् । हामीले खोजेको परिवर्तन त्यो होइन । यस्ता पात्र र प्रवृत्तिले आन्दोलन मात्रै होइन, नारीहरुको बाटोलाई नै भ्रष्टीकरणतर्फ लैजान्छ । यस्तो विषयलाई उग्र महिलावाद पनि भन्न सकिन्छ । सबै उग्रताहरु सभ्य समाज निर्माणका बाधक हुन् ।

पछिल्लो समयमा महिला हिंसा बिरुद्धका ‘मि टु’ लगायतका केही अभियान चले । तर, ती अभियानमाथि पनि अनेकौं प्रश्नहरु उठे । उठिरहेका छन् । महिलाहरुमाथिको यौनहिंसा बिरुद्ध अभियान त चलाइयो । तर, कतिपयले यसलाई पुरुषबिरुद्ध प्रतिशोध साँध्ने हतियारको रुपमा प्रयोग गरे ।

महिलाहरुले पुरुषबिरुद्ध त प्रतिशोध साँध्ने हतियार त बनाए नै, पुरुषहरुले पनि महिलालाई प्रयोग गरेर पुरुषविरुद्ध प्रतिशोध साँध्ने हतियारसमेत बनाए । जुन हाम्रो आन्दोलनका लागि धेरै खतरनाक विषय हो ।

सामाजिक प्रतिष्ठा भएकाहरुलाई सिध्याउनका लागि महिला प्रयोगसमेत गरिए । एउटा पुरुषको प्रतिशोध अथवा उसको कोहीप्रतिको रीस मेटाउनका निम्ति हामी महिलाहरुले सम्पूर्ण प्रतिष्ठा नै गुमाउन तयार भइरहेका छौं । यसो किन भइरहेको छ ? कुनै पुरुषले अर्को पुरुषलाई सिध्याउनका निम्ति अथवा रीस पोख्नका निम्ति महिला प्रयोग गर्ने खराब अभ्यास समाजमा छ । यदि यसलाई बेलैमा नरोकिए फेरि पनि नारीहरु प्रयोगको साधन बन्ने खतरा छ । यसतर्फ पनि बहस जरुरी छ ।

अब हामी पनि बदलिने कि ?

महिलामाथिको विभेद न कुनै पुरुषका कारण हो, न कुनै नारी नै । यो त मूलतः सामन्तवादले सृजना गरेको समस्या हो । हिजो सामन्तवादले नारीलाई दोस्रो दर्जाका रुपमा राखेका थिए । तर, अब कानुनी हिसाबले त्यो रहेन । निरन्तरको आन्दोलन र विभिन्न बलिदानका कारण संविधानका धाराहरु नारीमैत्री भएको छ । अब योसँगै चुनौती भनेको हामी बदलिने हो ।

समाजको सबैभन्दा तल्लो इकाई परिवार हो । हामी सुन्छौं, परिवारमा नारी भएका बिभिन्न हिंसा र विभेद । कारक को छन् ? अपवादबाहेक नारीमाथि भएका हिंसा र विभेदमा कारक नारी हुन् । परिवारमा आमा-छोरी हुन्छिन् । सासू-बुहारी हुन्छिन् । भाउजू-नन्द हुन्छिन् । जेठानी-देउरानी हुन्छन् । जेठानी दिदी-बुहारी हुन्छिन् । श्रीमती हुन्छिन् । यी नाता सम्बन्धहरु सबै नारीको नै हो । मलाई लाग्छ, यी उल्लेखित नातासम्बन्धमा एकले अर्कालाई सम्मान र माया गर्ने हो भने महिलामाथिको हिंसा आधाभन्दा बढी घट्छ । यसकारण, संविधानका धाराहरु मात्रै बदलिएर हुँदैन, अब हामी आफंै बदलिनुपर्छ ।

परिवारबाहेक सामाजिक संरचनाका अनेक कार्यालय र कार्यकक्षहरु हुन्छन् । ती संरचनाहरुमा पनि नारीले नारीलाई नै कति प्रेम र सम्मान गर्न सकेको छ ? उत्तर नकारात्मक नै छ । त्यहाँ पनि हामी बदलिनुपर्छ ।

अब परिवर्तित सन्दर्भमा कानुनका धाराहरु उत्तिधेरै विभेदकारी छैनन् । अब विभेद वा अरु केही छ त, केवल हाम्रो मानसिकतामा छ । त्यसैले अब मानसिकता परिर्वतनका निम्ति हाम्रो अभियान  जरुरी छ ।

(शिवाकोटी पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment