+
+
Shares

करिअर बनाउँदा बनाउँदै इथियोपियामा अस्ताइन् एकता

विकास मरहट्टा विकास मरहट्टा
२०७५ फागुन २७ गते १७:५८

२७ फागुन, गोरखा । २८ बसन्त मात्र पार गरेकी एकता अधिकारीको अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट बन्ने सपना थियो । तर उनको यो सपना अब कहिल्यै पूरा हुने छैन । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा परेकी उनले सदाका लागि धरती छोडिसकेकी छन् ।

पुर्ख्यौली घर गोरखाको मिरकोट भए पनि एकताको बाल्यकाल काठमाडौमै बित्यो । यद्यपि बाल्यकालको केही समय उनी गोरखाको सेन्ट मेरिज स्कुलमामा पढेकी थिइन् । उनले एसएलसी भने काठमाडौंको निलगिरी स्कुलबाट पास गरेकी हुन् । परिवारको तीन छोरीमध्ये उनी कान्छी थिइन् ।

एकताका दुई दिदीहरु विवाहपछि अमेरिकामा सेटल भएका छन् । उनका एक मात्र भाइ आमा–बुवासँग काठमाडौको पनस्थलीमा बस्छन् । नेपालमा आइएस्सी सकेकी अधिकारीले वेलायत पुगेर आफ्नो अध्ययनलाई निरन्तरता दिएकी थिइन् ।

करिव आठ बर्षको वेलायत बसाइमा उनले एमएस्सी पास गरिन् । २०७२ सालको भूकम्पपश्चात उनी नेपाल आएर विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा लजिस्टिक अफिसरको रुपमा काम गर्न थालिन् ।

‘भूकम्पपछि नेपालमै बसेर काम गर्दै थिइन्,’ उनका काका ध्रुव अधिकारीले भने, ‘इथियोपियामा पोस्टिङ भएर गएको करिव आठ महिना जतिमात्र भएको थियो, यस्तो घटना हुन्छ भनेर कहिलै कल्पनासमेत गरेका थिएनौं ।’

असल बानी व्यवहार मात्र होइन उनी पढ्नमा पनि निकै टाठी रहेको परिवारजन बताउँछन् । सपना पूरा गर्न करिअर बनाउदै गरेकी अधिकारीको निधनले अहिले सबैलाई स्तब्ध बनाएको छ । हाल अमेरिकामा रहेका उनका बुवाआमा नेपाल आउने तयारीमा छन् । छोरीज्वाईंलाई भेट्न उनीहरु केही दिनअघि अमेरिका गएका थिए ।

‘आज आउने भन्नुभएको थियो तर धेरै तनावमा हुनुभएकोले प्लेनको यात्रा गर्न नसक्ने भएर भोलि बेलुका त्यहाँबाट हिँड्ने भन्नुभएको छ,’ एकताका काका ध्रुवले भने । अधिकारीका परिवार करिव ३० बर्षअघि नै मिरकोटबाट गोरखा नगरपालिकाको छेपेटारमा बसाइ सरेको थियो । तर हाल प्राय उनीहरु अहिले काठमाडौमा बस्ने गर्छन् ।

इथियोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमानमा गोरखाकी अधिकारी सहित १ सय ५७ जनाको ज्यान गएको थियो ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?