Comments Add Comment

पुल चर्किएपछि खोलामा ह्युमपाइप राखेर खुलाइयो जाम

२७ फागुन, पोखरा । पोखरा प्रवेशद्वार विजयपुर खोला पुल ठाउँठाउँमा चर्किएर रोकिएका गाडी सोमबार साँझदेखि सञ्चालनमा आएका छन् । रोकिएका गाडीलाई खोलामा ह्युमपाइप राखेर डाइभर्सन गरी गाडी सञ्चालनमा ल्याइएको हो ।

पुल ७ ठाउँमा चर्किएको र भाँच्चिने सम्भावना भएपछि सडक डिभिजन कार्यालय पोखराले १० टनभन्दा माथिको गाडी आवतजावतमा एक हप्ताअघि रोक लगाएको थियो ।

विभागले धेरै भारबाहन क्षमता भएका गाडीलाई रोक लगाएपछि सयौं गाडीको लाइन लागेको थियो । पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको लाइफलाइन नै धरापमा परेपछि आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र गण्डकी प्रदेश विकास समितिका अध्यक्ष दीपक कोइरालालगायतले पुलको निरीक्षण गरी तत्काल पुल मर्मत गर्न निर्देशन दिएका थिए ।

२०६४ सालदेखि निर्माण सम्पन्न भई सञ्चालनमा आएको पुल ११ वर्षमै जीर्ण भएपछि सरोकारवाला निकायले ठेकदार कम्पनीमाथि प्रश्न उठाएका छन् । आइतबार बसेको प्रदेश सभाका अधिकांश सांसदले पनि पुलबारे आवाज उठाएका थिए ।

बैठकमा दीपक कोइरालाले कमसल सामग्री प्रयोग भएको भए उत्पादकलाई समेत कारबाही गर्न माग गरेका छन् । ‘पुल ११ वर्षका लागि मात्रै बनेको होइन । कमसल सामान प्रयोग गरेको भए ठेकदार कम्पनी र त्यसलाई स्वीकृत गर्ने अधिकारीलाई बोलाएर जवाफ माग्नुपर्छ’ उनले भने ।

स्टिल ब्रिज प्रविधिमा बनाइएको उक्त पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको पुलमा गोल्छा अर्गनाइजेसनको हुलास इन्जिनियरिङले पुल फिटिङ गरेको थियो ।

पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँचिने खतरा छ । ७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । ‘पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा रहेको भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुनर्निर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।’

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोशिस गरिरहेका छौं ।’

पुलको पुनर्निर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार पुल महाशाखाका प्रमुख दीपककुमार भट्टराई, सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य र पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डलको टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन एक महिना लाग्ने सडक डिभिजन कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment