
२८ फागुन, घोराही । दाङको सदरमुकाम घोराही बजारमा ठेलालाई निषेध गरिएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।
घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न रोक लगाएको हो ।
ठेला व्यवसाय सञ्चालनका लागि घोराहीको ट्राफिक चोक, बालमन्दिर र पुरानो बसपार्कस्थित सभागृह निर्माणस्थल बाहिर ठाउँ तोकिएको छ ।
घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ । कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने छ ।
घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमिति संयोजक शक्तिराम डाँगीले अब ठेला गुडाउँदै बजार-बजार हिँड्न नपाइने र कसैले अटेर गरेमा कार्यविधिमा भएको व्यवस्थाअनुसार कारबाही हुने बताए । यो नियमबाट बजार पनि व्यवस्थित हुने र ठेला व्यवसायी पनि सुरक्षित हुने उनको भनाइ छ ।
नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनको काम थालेको छ ।
उपसमितिले सोमबार घोराही बजारका ठेला व्यवसायीहरुलाई भेला गराई व्यवसाय सञ्चालन गर्न निश्चित ठाउँहरु तोकिएको विषयमा जानकारी गराएको छ ।
कार्यक्रममा ठेला व्यवसायी समितिका अध्यक्ष अजित मन्सुरीले स्थानीय सरकारको नियमलाई आफूहरुले पालना गरी बजार व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया 4