Comments Add Comment

आणविक भट्टीमा विदेशी लगानी ल्याउन खोजिएको भन्दै विरोध

२२ फागुन, काठमाडौं । सत्तारुढ नेकपाकै सांसदहरुले निजी क्षेत्रबाट समेत नेपालमा आणविक भट्टी खोल्न सक्ने गरी सरकारले ल्याएको विधेयकको विरोध गरेका छन् ।

बुधबार संसदमा पेश भएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको प्रारम्भिक छलफलमा नेकपाका प्रमुख सचेतक देव गुरुङले निजी क्षेत्रबाट र विदेशी लगानीमा आणविक भट्टीमा भित्र्याउने विषयले मुलुकको राष्ट्रियता संकटमा पर्न सक्ने बताए ।

‘निजी क्षेत्रमा आणविक भट्टीहरु खोल्ने प्रक्रियाले मुलुकको अस्मिता, राष्ट्रिय स्वाधीनता गम्भिर संकटमा पर्नेछ’ उनले भने । तर, युरेनियम उत्खननलगायतका विषयमा अनुसन्धानका लागि भने नेपाल सरकारको नेतृत्वमा सीमित गरेर जान सकिने उनको भनाइ थियो ।

नेकपाका सांसद खगराज अधिकारीले पारमाणविक भट्टीहरु सञ्चालन गर्न निजी क्षेत्रलाई दिने या विदेशी लगानी गर्न दिन सक्ने अवस्थामा नेपाल पुगिनसकेको बताए ।

‘पारमाणविक भट्टीहरु सञ्चालन गर्न निजी क्षेत्रलाई दिने या विदेशी लगानी गर्ने कुरामा हामी यति छिटो त्यो तयारीमा हामी पुगेका छैनौं’, उनले भने, ‘विदेशी लगानी यस क्षेत्रमा आउन दिन र निजी क्षेत्रलाई अनुमति दिन सकिँदैन ।’

नेकपाका सांसद भीम रावलले आणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति दिने र सरकारले गर्न नपाउने भन्ने विषय पनि रहेको भन्दै आपत्ति जनाए । ‘निजी क्षेत्रलाई दिने र सरकारले गर्न नपाउने भन्ने विषय पनि त्यहाँ रहेछ । यो कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले ब्यापक छलफल गरेर आउनुपर्नेमा त्यसो नगरी विधेयक आएको उल्लेख गरे । ‘गलत ठाउँमा यसको प्रयोग हुन सक्छ । एटम बम बनाउने जस्त गलत तत्व आतंकवादीको हातमा गयो भने के हुन्छ ? धेरै कुराहरु सोच्नुपर्ने हुन्छ’, उनले अगाडि भने, ‘ब्यापक छलफल गरेर आउनुपर्ने त्यो पनि भएन ।’

नेकपाका सांसद सोमप्रसाद पाण्डेले पनि निजी क्षेत्र र विदेशी लगानी पारमाणविक भट्टीमा हुनै नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment