Comments Add Comment

मधेसमा सिके राउतलाई तनाव, पूर्वराजालाई स्वागत !

काठमाडौंमा भाइरल बनेका राउतको मधेसमा ‘सटर’ बन्द

२९ फागुन, जनकपुरधाम । काठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा उल्टो परिदृश्य देखिएको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् । बरु पूर्वराजा ज्ञानेन्द्रका समर्थकको दौडधूप मधेसमा सुरु भएको छ ।

सिके राउतसँग सरकारले गरेको सम्झौताको पक्ष–विपक्षका समाचार तथा विचारले काठमाडौंमा प्राथमिकता पाइरहेका बेला जनकपुरका स्थानीय पत्रपत्रिकामा सिके राउतको खासै चर्चा छैन । सिके राउतले आत्मसमर्पण गरे भन्नेबाहेक थप विश्लेषण जरुरी नभएको यहाँका पत्रकार बताउँछन् ।

काठमाडौंमा भाइरल, मधेसमा सामसुम

काठमाडौं र अन्यत्रका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच जसरी सिके राउतले फेरि पनि पृथकतावादी अभियान नछाडेको व्यहोरा झल्किने फोटो र भिडियोहरु भाइरल बनिरहेका भए पनि मधेसमा त्यस्ता कुनै गतिविधि नदेखिएको प्रहरीका उच्च अधिकारीको दाबी छ ।

सिके राउतको मूलप्रवाहीकरण कि शक्ति सञ्चयको रणनीति भन्ने बहस काठमाडौंमा चलिरहेका बेला हामी उनको आधार क्षेत्रमा पुग्दा फरक विश्लेषण सुनियो । कम्तिमा पनि अलग मधेसको अभियानबाट राउत बाहिरिएकाले मधेसले राहत महसुस गरेको धेरै बुझाइ पाइयो ।

हिजो चर्का अलगाववादी कुरा गर्दा केही युवाको साथ पाएका सिके राउतलाई अहिले उनकै समर्थकहरुको चित्त बुझाउन सकस हुन थालेको छ ।

तनावमा सिके राउत

काठमाडौंमा सिके राउतसँगको सम्झौतापछि प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । यता मधेसमा चाहिँ सिके राउतको त्यस्तै अवस्था देखिएको छ । अलग मधेसको एजेण्डा छाडेको भनेर जाँदा आफ्ना उग्र समर्थकबाटै आक्रमणमा परिने र ११ बुँदे सम्झौता विपरीत अभिव्यक्ति दिँदा प्रशासनिक कारवाही भोग्नुपर्ने डरका बीचमा सिके राउत तनावमा रहेको विश्लेषण जनकपुरमा गरिँदैछ ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर पृथकतावादी अभियान छाडेका सिके राउतले जनमत संग्रहमा सरकार सहमत भएको प्रचार गरेपछि काठमाडौंको मनोविज्ञान भड्किएको थियो ।

यद्यपि राउतले त्यसबारे अहिलेसम्म औपचारिकरुपमा नबोलेको जनकपुरस्थित उनका सहयोगीहरुले दाबी गरे । सरकारसँगको सहमतिलाई कसरी बाहिर लैजाने भनेर आन्तरिक छलफल भइरहेको उनीहरुको भनाइ छ ।

जनकपुरको बाल्वाटोलस्थित आफ्नै निवासमा बसिरहेका सिके राउत कुनै सार्वजनिक कार्यक्रम वा भेटघाटमा समेत देखिएका छैनन् । अनलाइनखबर टिमले पटक–पटक उनीसँग भेट्न खोज्दा अहिले सम्भव नहुने जवाफ दिइयो । लामो समय परिवारबाट टाढा भएकाले उनी पारिवारिक भेटघाटमा व्यस्त रहेको उनका सहयोगीले बताए ।

सीके राउत समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘हामीले मधेस अलग राष्ट्र भन्ने कुरा छाडेको सत्य हो । मधेसको सन्दर्भमा अब कसरी जाने भन्ने बारेमा राउतजीले योजना बनाउँदै हुनुहुन्छ । विदेशमा पनि उहाँलाई साथ दिने धेरै बिद्धान मित्रहरु रहेकाले उनीहरुको पनि राय सल्लाह लिँदै हुनुहुन्छ । उहाँको फेसबुक र ट्वीटर पनि अहिलेसम्म अन्य साथीले नै अपडेट गरिरहेका छन् ।’

राउत समूहका प्रवक्ता चन्दन सिंहले राज्यसँग जे लिखित सम्झौता भएको छ, त्योबाहेक अन्य कुरा अफवाह मात्रै चलिरहेको प्रतिक्रिया दिए । उनले कार्यकर्ता र समर्थकलाई के भनेर आश्वस्त पार्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै अन्य हल्लाको अर्थ नरहने प्रष्ट पारे ।

प्रदेश सरकारको कडा निगरानी

सीके राउत काठमाडौंबाट आएदेखि जनकपुरबाट बाहिरिएका छैनन् । उनका समर्थकहरुमाथि प्रदेश सरकारले पनि निगरानी गरिरहेको छ ।

सिके राउतलाई संघीय सरकारले हैसियतभन्दा बढी महत्व दिएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री लालबाबुका अनुसार सिके राउतलाई पृथकतावादी धारबाट मूलप्रवाहमा ल्याउने कार्य सही भए पनि उनी प्रधानमन्त्रीकै तहबाट सम्बोधन गरिनुपर्ने जनाधार भएका व्यक्ति होइनन् ।

सिके राउत काठमाडौंबाट जनकपुर आउँदा एयरपोर्टमा देखिएको तामासाबाहेक उनको पक्षबाट अहिलेसम्म कुनै गतिविधि नभएको प्रदेशका आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले अनलाइनखबरलाई बताए ।

यदि संघीय सरकारसँगको सम्झौता विपरीतका गतिविधिहरु एयरपोर्टमा जस्तै फेरि दोहोरिएमा प्रदेश सरकारले नसहने यादवले प्रष्ट पारे ।

सिके राउतका धेरैजसो पुराना फोटो र भिडियोहरु अहिले भाइरल बनेको प्रदेश मन्त्री यादवको बुझाइ छ । जनकपुरको होटल सीताशरणमा अनलाइनखबरसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘काठमाडौं र अन्यत्र सिके राउतले अब मधेसमा के के न गर्न लाग्यो भन्ने आतंक देखिन्छ । तर, यहाँ उनको कुनै गतिविधि छैन । संविधान, कानुन तथा सरकारसँगको सहमति विपरीत कुनै गतिविधि गरेमा हामी छाड्दैनौं ।’

मन्त्री यादवले भने, ‘एयरपोर्टमा अलिअलि तमासा देखाएका हुन्, अब त्यो पनि गर्दैनन् । हामीले उनीहरुका गतिविधिलाई निगरानी गरिरहेका छौं ।’

मधेसको शरदर्द सकियो, सटर बन्द भयो !

किसुन यादव

मधेसमा सिके राउतका बारेमा आम मान्छेको धारणा बुझन् धेरै टाढा जानुपर्दैन । जनकपुरको पिडारी चोक नजिकै माछा बजार छ । स्वादिलो माछाका पारखीहरु जनकपुर पुगेपछि त्यहाँ नपुगी रहन सक्दैनन् । अनलाइनखबरकर्मीलाई स्वादिष्ट माछा खुवाइसकेपछि किसन फिस हाउसका श्री किसुन यादवले सिके राउतबारे मधेसी जनताको मनोविज्ञान हामीलाई सुनाए ।

सिके राउतले सरकारसँग सम्झौता गरेपछि तपाईहरुलाई कस्तो लागेको छ ? हाम्रो प्रश्नमा श्री किसुनले भने, ‘मैले माछा पसल चलाइरहेको छु । तर, यो पसल धेरै चल्ने अवस्था छैन । यदि भोलि मलाई तपाईले दुई/चार सय दिन्छु यो पसल छाड्दे भन्नुभयो भने, म सटर बन्द गर्दिन्छु । सिके राउतवाला फण्डा यही हो ।’

माछा व्यापारी यादवले मछुवाकै भाषामा निश्कर्ष सुनाए, ‘सिके राउतको पसल चलेन, सरकारले भनेपछि सटर बन्द गरिदियो !’

जनकपुरधाममा सर्वसाधारण मात्रै होइन, संघीय समाजवादी फोरमका उपाध्यक्षसमेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत सिके राउतको लफडा सकिएकोमा सहमत छ ।

मुख्यमन्त्री राउतले अनलाइनखबरसँग भने, ‘सिके राउतका कारण कतिपय मान्छेले काठमाडौंबाट सबै मधेसीलाई विखण्डनकारीका रुपमा हेर्थे, कम्तिमा अब त्यो ‘शरदर्द’ समाप्त भएको छ ।’

सिके राउतले भनेजस्तो मधेसमा जनमत संग्रह हुन नसक्ने मुख्यमन्त्रीको विश्लेषण छ । लालबाबु भन्छन्, ‘जहाँसम्म जनमत संंग्रह वा अरु कुरा छ, न त त्यो सम्भव छ, न सिकेको जनमत र संगठन नै छ । उग्र कुरा गरेर आएका व्यक्तिलाई सही धरातलमा उभिन केही समय लाग्छ, त्यति हो ।’

सीके राउतलाई काठमाडौंका मिडिया र सामाजिक सामाजिक सञ्जालले मात्रै ठूलो शक्ति बनाएको उनकै जिल्लाबासी नेकपा प्रदेश २ का इञ्चार्ज तथा प्रदेश २ का विपक्षी दलका नेता सत्यनारायण मण्डलको बुझाइ छ ।

सरकारसँगको ११ बूँदे सहमतिपछि अलिअलि भएका सिकेका समर्थकहरु पनि थान्को लागिसकेको मण्डलले दाबी गरे । जनमतसंग्रहको हल्ला मधेसमा नरहेको उनले बताए । मण्डलले भने, ‘हिजो चर्का कुरा गरेर केही युवालाई पछि लगाएका थिए, अहिले उनीहरुलाई कुरा बुझाउन केही समय लाग्छ ।’

सप्तरी निवासी मण्डलले अनलाइखबरसँग कुरा गर्दै भने, ‘सिके राउतका हिजोका प्रचार सामाग्री उत्खनन् गरेर काठमाडौंमा लौ अब जनमत संग्रहको प्रचार प्रसार नै शुरु भयो जस्तो हल्ला चलाइयो । यस्ता कुरामा काठमाडौंका मान्छेलाई मजा आउँदो हो । तर, अब मधेसमा सिके राउतको कुनै गतिविधि छैन ।’

मधेसका आठै जिल्लामा सामाजिक अभियान चलाइरहेका गैरसरकारी संस्था महासंघका प्रदेश २ अध्यक्ष नागेन्द्रकुमार दुवे सिके राउतसँगको मूल प्रवाहीकरणलाई मधेसीले सहजरुपमा लिएको बताउँछन् ।

महोत्तरी निवासी दुवे भन्छन्, मुख्य कुरा सिकेले अलग बाटो छाडे भन्ने सन्देश मधेसमा प्रवाह भएको छ । जनमत संग्रह भन्ने कुराको कुनै तुक छैन र यस्ता कुरा गरेका पनि छैनन् यतातिर ।’

सिके राउत जनकपुर आउँदा केही उत्ताउला गतिविधि उनका समर्थकले गरेको दुवे बताउँछन् । उनी भन्छन, ‘जतिजना एयरपोर्ट पुगे, उनका होलटाइमर समर्थक त्यतिमात्रै हुन् । चर्का कुरा गर्दा मान्छे जम्मा हुन्थे । तर, मलाई लाग्छ अब उनले अलग पार्टी चलाउन सहज छैन ।’

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत

हवाइमार्ग वा स्थलमार्गबाट जनकपुर प्रवेश गर्नासाथ सिके राउत होइन पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहका बारेमा चाहिँ चर्चा चलिरहेको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएका छन् ।

जनकपुर एयरपोर्टदेखि बसपार्कसम्म आउँदा रिक्सा चालक परमेश्वर साहले ‘राजा आउन लागेको’ र उनले हिन्दू धर्मका कुरा गर्ने सुनेको बताए ।
यो पनि पढ्नुहोस मधेसको मनोविज्ञान : विखण्डनको बिदाइसँगै हिन्दुत्वको स्वागत ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment