Comments Add Comment

मकवानपुरमा पन्छीजन्य पदार्थको ओसारपसार खुल्यो

१ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ७ नागश्वतीको एक कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि स्थानीय प्रशासनले पन्छीजन्य पदार्थको ओसारपसारमा लगाएको रोक शुक्रबारदेखि खुला गरेको छ ।

बर्ड फ्लुको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारदेखि लागू हुने गरी पन्छीजन्य उत्पादन ओसारपसारमा प्रतिबन्ध लगाएको थियो । तर शुक्रबार व्यवसायीसँगको छलफलपछि प्रशासनले शिल गरेको क्षेत्रबाहेक अन्यत्रको पन्छीजन्य उत्पादन बिक्री वितरण खुल्ला गरेको हो ।

प्रशासनले पशु चिकित्सक भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख चेतनारायण खरेलको सिफारिस लिएर मात्र पन्छीजन्य उत्पादन बिक्री गर्न पाइने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले पशु चिकित्सकको सिफारिसमा बिक्री वितरण खुल्ला गरेको बताए ।

मकवानपुरमा ४१ हजार लेयर्स कुखुरा नष्ट गरिने

मकवानपुरको बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा नष्ट गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको उपस्थितिमा बसेको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।

क्षतिपूर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्षतिपूर्तिका लागि मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो प्रतिलेयर्स ९ सय, ब्रोइलर ४ सय, दानाप्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई बुझाउने भएको छ ।

बैठकले बर्डफ्लू संक्रमित पाइएको ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी ४१ हजार ५०० कुखुरा नष्ट गरिनेछ । सिमाक्षेत्र बाहिर रहेका कुखुरा फर्ममा पशु चिकित्सकको टोली परिचालन गरी रोग नियन्त्रणको लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए नष्ट गरिने छ ।

रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि एच नाइन (गम्वारो, रानिखेत) सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको थियो ।

यो पनि पढ्नुहोस मकवानपुरमा बर्डफ्लु भेटिएपछि पर्सामा सतर्कता

संक्रमित क्षेत्रमा रहेका ५० किसानले ७ करोडको लागतमा एक लाख कुखुरा पालन गरेका थिए । बैठकले संक्रमित क्षेत्रलाई रेड एरिया घोषित गरेको छ । बैठकमा पशु सेवा बिभागबाट बरिष्ट पशु चिकित्सक रामकुमार कार्की, डाक्टर बिकेश राउत र प्रबिधिक प्रकाश मगरसहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मीना लामा कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीसहित किसानहरु सहभागी थिए ।

फ्लू संक्रमण देखिएको कुलप्रसाद चौलागाईको फर्मका ६ हजार कुखुरा मरेका थिए । अनपेक्षित रुपमा कुखुरा मरेको किसानको गुनासोपछि गाउँमा पशु चिकित्सकको टोली संक्रमित क्षेत्र पुगेको थियो ।

टोलीले संक्रमित क्षेत्रबाट ५ वटा फर्मबाट १० वटा नमूना संकलन गरेपछि जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । २५ दिनपछि रिपोर्ट आउँदा किसानको खोर रित्तिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment