Comments Add Comment

सात महिनामा ५ खर्ब १५ अर्ब रेमिट्यान्स

१ चैत, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ७ महिनामा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ७ महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स १६.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । साउनदेखि फागुन मशान्तसम्मको अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई ५८६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

उता अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनदेखि फागुनसम्मको अवधिमा ३९.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment