Comments Add Comment

नेपाली थांका, नेपालमै ‘बेवास्ता’

Photo Credit : युनिश गुरुङ/अनलाइनखबर

२ चैत, पोखरा । नेपाली थांका विश्व बजारमा लोकप्रिय छ । नेपाली बजारमा राखिएका थांका चित्रकला नेपालीको भन्दा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दै आएको छ । उनीहरुलाई लाग्छ, थांका तिब्बत हुँदै नेपाल भित्रिएको हो ।

तर, थांकासँग सम्बन्धित चित्रकार भने यो नेपाली मौलिक चित्रकला भएको ठोकुवा गर्छन् । उनीहरु थांका परम्परागत र मौलिक नेपाली कला शैली भएपनि तिब्बतबाट आएको भनेर ‘दुष्प्रचार’ गरिएको गुनासो गर्छन् । भन्छन्, ‘थांका नेपालीबाट भृकुटी तिब्बत जाने बेला उनीसँगै त्यहाँ गएको हो । तर अहिले उतैबाट यो कला आएको भनिँदैछ । यो गलत हो ।’

थांका बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट कला हो । आफ्नै मौलिक परम्परागत थांका कलालाई चिन्न नेपालीले नै चिन्न नसक्नु दुःखद भएको बताउँछन्, ललित कला प्रज्ञा प्रतिष्ठानका परम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङ । ‘नेपालमा अहिले व्यापारिक हिसाबले मात्रै थांकालाई लिइयो । पर्यटकलाई बेच्नमात्रै यो चित्र कोरिन्छ,’ उनी भन्छन्, ‘यसरी पर्यटक नआए भने थांकाको इतिहास सकिने डर भयो ।’

गुरुङ नेपाली चित्रकलाको सुरुआत नै परम्परागत थांका कला शैलीबाट सुरु भएको दाबी गर्छन् । भन्छन्, ‘यो कला त विशुद्ध नेपाली नै हो । पछि तिब्बतबाट थांका नाम पाएर आएको हो ।’ उनी सबै कलाकार आधुनिक कलाको पछि दौडिँदा परम्परागत कला शैली छायामा पर्दै गएको बताउँछन् ।

‘थांकामा शास्त्रीय कलाशैली प्रयोग भएको हुन्छ । हामीले हाम्रो परम्परालाई बिर्सनु पनि हुँदैन,’ गुरुङ भन्छन्, ‘आधुनिक कला र परम्परागत कला शैलीलाई बराबर ट्रयाकमा लैजान सकियो भने राम्रो हुन्छ ।’ उनी दुवै कला शैलीलाई संस्थागत शैलीमै बराबर डोर्‍याउनुपर्छ भन्ने मत राख्छन् ।

वरिष्ठ कार्टुनिस्ट तथा सिर्जनशील कलाकार समूहका संयोजक दुर्गा बराल आधुनिक चित्रकला कै ‘बोलबाल’ भएकाले परम्परागत कला शैलीमा ध्यान दिन नसकिएको स्वीकार्छन् । भन्छन्, ‘चित्रकला सिक्दै गर्दा परम्परागत चित्रकलाको महत्व थाहा पाउन सकिएन । त्यसैले आधुनिकतिर नै अग्रसर हुने अवस्था आयो ।’

कलाकार बराल थांका चित्रकला ध्यानस्थ तरिकाले मात्रै बनाउन सकिने तर्क राख्छन् । ‘शरीरमा सरस्वती चढेपछिमात्रै थांका चित्रकला बनाउन सकिन्छ । यो चित्र ध्यानले कोरिन्छ । ध्यान भंग भयो भने थांका चित्र पूरा हुँदैन,’ बराल सुनाउँछन्, ‘यो एक उच्च पवित्र चित्रकला हो ।’

सुरुआती समयमा नेपालको व्यापारिक सम्बन्ध चीन र भारतसँग जोडिएकाले नेपाली चित्रमा दुवै देशका प्रभाव परेको कलाकार बराल बताउँछन् । भन्छन्, ‘हाम्रो परम्परागत कलाशैलीमा तिब्बती र भारतीय लोक कला दुवै फ्युजन भएर नयाँ कला शैली निस्किएको छ ।’ उनी हाल नेपाली कला क्षेत्रमा पश्चिमेली शैली हाबी भएको दुखेसो पोख्छन् ।

‘जंगबहादुरको पालादेखि पश्चिमा कला नेपालमा भित्रिएको थियो । अहिले यसैको हाबी छ,’ बराल पछिल्लो पुस्ताका कलाकारलाई सम्झाउँछन्, ‘अब हामीले परम्परागत कलाशैलीलाई पनि ध्यान दिनु जरुरी छ । त्यसलाई छाडयौं भने हाम्रो मौलिकता हराउँछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका निवर्तमान प्रमुख रमेश श्रेष्ठ नेपाली बजारमा थांका चित्रकलाको राम्रो बजार भएपनि प्रशिक्षणका कार्यक्रम हुन नसकेको सुनाउँछन् । भन्छन्, ‘परम्परागत चित्रकला प्रशिक्षणका कार्यक्रम भएनन् । यसले आधुनिक कलाले परम्परागत कलाशैलीलाई टाढा पुर्‍यायो ।’

परम्परागत चित्रकलालाई विकास गर्न कलाकार स्वयं एउटै विधामा मात्र लागिरहनुपर्ने आवश्यक नभएको श्रेष्ठको ठम्याइँ छ । उनी भन्छन्, ‘एउटै कलाकार कार्टुन, पानी रङ या आधुनिक कलामै सीमित हुनुपर्छ भन्ने छैन । उनीहरुले परम्परागत चित्रकलालाई पनि सँगसँगै लैजान सक्छन् ।’ उनी नेपाली परम्परागत चित्रकलाले नै नेपाली अनुहार विदेशी भूमिमा चिनाउने तर्क राख्छन् ।

थांका चित्रकला नेपालसहित चीन, जापान, कोरियालगायत देशमा परिचित छ । थांका चित्रकलाका वरिष्ठ कलाकार छेवाङ दोर्जे लामा ‘थांका’ नामले चिनिए पनि ‘थांकु’ भएको बताउँछन् । उनका अनुसार ‘थाङ’को अर्थ सरसामान र ‘कु’को अर्थ भगवानको शरीर भन्ने हुन्छ । उनी थांकालाई नेपालमा ‘पौभा’ नामले पनि चिनिने बताउँछन् । उनी भन्छन्, ‘पौभा नेवारी शब्दमा हो । तिब्बती र नेपाली परम्परागत शैली मिलेर नै पौभा बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment